बराह बचतले १५ प्रतिशत लाभांश बाँड्ने

धरान । ‘हामी सबैको बराह आर्थिक उन्नतीको सहारा’ भन्ने मूल नाराका साथ सञ्चालनमा आएको बराह बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सो अबसरमा वराह बचत तथा ऋण सहकारी संस्थाले साढे ९ करोड बराबरको शेयर पूँजी पुर्याउन सफल भएको जानकारी दिइयो । संस्थाको आइतबार एघारौं वार्षिक साधारणसभाको क्रममा ९ करोड ३९ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर पूँजी पुर्याइएको जनाइएको छ ।

११ वर्ष अघि ३२ जना शेयर सदस्यबाट सुरु भएको संस्थामा हाल ४ हजार ७ सय ५५ जना सेयर सदस्य पुगेको वराह बचतका अध्यक्ष मानबहादुर दियालीले बताए । ‘३२ जनाबाट सुरु भएको बराहमा हाल ४ हजार ७ सय ५५ जना सेयर सदस्य हुुनुहुन्छ, ११ वर्षको यो दौरानमा संस्था प्रति यहाँहरुले देखाउनु भएको विस्वास र भरोसा प्रति कृतज्ञ छौं ।’ दियालीले भने ।

संस्थाले ८३ करोड १७ लाख २ हजार २ सय ६७ रुपैयाँको निक्षेप सङ्कलन गर्न सफल भएको छ भने आर्थिक वर्ष २०७६/०७७ मा २ करोड ४८ लाख ७९ हजार ५ सय २ रुपैयाँ खुद मुनाफा गरेको छ । संस्थाले गत आर्थिक वर्षको कारोबार भएका हिसाबले १५ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरिएको अध्यक्ष दियालीले सेयर सदस्यहरुलाई जानकारी दिए ।

साधारण सभामा वराह प्रोत्साहन पुरस्कार वराहमा कार्यरत पाँच जनालाई पुरस्कृत गरिएको छ । त्यस्तै सक्रिय फिल्ड कर्मचारी १३ जनालाई र उत्कृष्ठ फिल्ड कर्मचारी ३ जनालाई पुरस्कृत गरिएको छ ।

उनीहरूलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, जिल्ला सहकारी संङ्घ सुनसरीका बरिष्ठ उपाध्यक्ष नरेशकुमार इङ्वारम र धरान नगर सहकारी समन्वय समितिका संयोजक मिसन लामालगायतले पुरस्कार वितरण गरेका थिए ।

संस्थाले आफ्नै जग्गा खरिद एवम् भवन निर्माण गरी आफ्नै भवनबाट वित्तीय कारोबार सञ्चालन गर्न प्रचलित सहकारी ऐन नियम बमोजिम प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । सहकारी ऐन २०७४, नियमावली २०७५, सङ्घ, प्रदेश, स्थानीय तहका ऐन नियम कानुन अनुरूप संस्थाको विनियम, नियमावलीहरुलाई संशोधन गरी लागू गरिने जनाएको छ ।

प्रतिक्रिया