गणतन्त्रमा सरकारविरुद्ध जनताले असन्तुष्टि पोख्नै नपाउने हो ? [सम्पादकीय]

  • केशब सापकोटा

हिजो मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाए । पछिल्लो समय मुलुकमा वर्तमान शासन व्यवस्थाप्रति प्रश्न चिन्ह उठाउँदै राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै चर्किँदै गएको आन्दोलनको सन्दर्भमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले सडकमा उठेका आन्दोलनप्रति कठोर हुन आग्रह गरे ।

३ घन्टासम्म प्रधानमन्त्रीसँग बालुवाटारमा बसेका संसदमा प्रतिनिधित्व गर्ने सबैजसो दलहरुले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रविरुद्ध उठेका आवाजहरु दबाउन नैतिक समर्थन जनाए । तर, संघीयता कार्यान्वयनको तेस्रो वर्ष मात्र लाग्दै गर्दा एकाएक जनता किन पुरानै राज्य व्यवस्था चाहियो भन्दै सडकमा उर्लिए ? भन्ने प्रश्न चाहिँ कसैले न त प्रधानमन्त्रीलाई सोध्ने दुस्साहस गरे नत जनता सडकमा किन उत्रिइरहेछन् मनन् गरे । उल्टै स्वतःस्फूर्त सडकमा उत्रिएका नागरिकको आवाज दबाउनु पर्छ भन्दै प्रधानमन्त्री ओलीको तानाशाही शासन व्यवस्थाप्रति नै नतमस्तक भएर फर्किए । यो भन्दा तानाशाही प्रवृत्ति के होला ?

होला, वर्तमान शासन व्यवस्था विश्वकै उत्कृष्ट होला । संविधान, ऐन, कानून संसारकै नमूनै होला । तर, त्यसो भन्दैमा जनताले सरकारविरुद्ध असन्तुष्टि पोख्नै नपाउने हो र ? जनताको वाक स्वतन्त्रता अनुसार कुनै लाठी मुङ्ग्री नउठाइकन, रेलिङ्ग नभाँचीकन शान्तिपूर्ण रुपमा राज्यलाई ‘तिमी भ्रष्टाचार नगर, भ्रष्टाचारीको संरक्षण नगर, त्यस्तो हो भने त पहिलेकै व्यवस्था ठीक थियो’ भन्न नपाउने ?

जनताको मुख्य अपेक्षा भनेको सुशासन हो । रामराज्य हो । खै यहाँ सुशासन ? खै रामराज्य ? तन्त्रात्मक व्यवस्थामा जनताको वाक स्वतन्त्रता हुन्छ । सर्वसाधारण जनताले तर्कसंगत तरिकाले सरकारप्रति आफ्नो असन्तुष्टि राख्दा मन्त्रिमण्डल र प्रधानमन्त्रीका सल्लाहकारले तितो शब्दावली प्रयोग गरेर नागरिकलाई तुरन्तै प्रतिक्रिया दिनुपर्ने कारण के ? सरकारले राम्रो गरेन भन्दै सरकारका कामप्रति जनताले असन्तुष्टि पोखिरहँदा मन्त्री र तिनका सल्लाहकारहरुले जनताप्रति दुर्वाच्य किन बोल्नु पर्यो ? जनता जनार्दनलाई कठोर शब्द वाण प्रहार गर्नुको सट्टा राज्य व्यवस्थामा भएका कमीकमजोरी केलाएर सुधार्नतिर उनीहरु किन लाग्दैनन् ?

प्रधानमन्त्रीले सडकमा उठेका आवाजलाई देशद्रोहीको रुपमा हेर्नुहुन्न । प्रधानमन्त्री भनेका जनताका अभिभावक हुन् । अहिले जनताले सरकारबाट अभिभावक खोजेका छन् । मुलुकको संरक्षकत्व खोजेका छन् । घरको अभिभावक रक्षक हैन, भक्षक हुन्छन् भने त्यत्तिबेला बालबालिकाहरुले आफ्नो अभिभावकत्व खोज्दैनन् ? अहिले सडकमा जनताले ‘गणतन्त्र’ भन्दा हिजोको ‘राजतन्त्र’ नै ठीक भन्नुको मतलब पनि यहि हो । जनता वर्तमान राज्य व्यवस्थाप्रति ‘नोष्टाल्जिक’ भएका छन्, उनीहरु सही अभिभावक खोजिरहेका छन् ।

जनताभित्र चुलिँदै गएको असन्तुष्टि सम्बोधन गर्नुस् प्रधानमन्त्री ज्यू, तपाईंका पक्षमा जनता आफैँ आउँछन्, आफैँ तपाईंको प्रशंसा मात्र हैन पूजा नै गरी देवत्वकरण गर्छन् ।

जनताले गणतन्त्रभन्दा राजतन्त्र नै ठीक भनिरहँदा सरकारले वर्तमान शासन व्यवस्था यसकारण पुरानो व्यवस्था भन्दा ठीक हो भनेर काम गरेर देखाउन सक्नुपर्दथ्यो । तर, यहाँ त काम भन्दा गफ बढी गर्ने प्रथा हावी भइरहेको छ । प्रधानमन्त्री आफैँ कामभन्दा गफमा बढ्ता समय बिताउँदै हुनुहुन्छ । जसले गर्दापनि नागरिकमा अहिलेको शासन व्यवस्थाप्रति असन्तुष्टि बढेको हो । यसलाई चाँडै सम्बोधन नगरे मुलुक पुरानै व्यवस्थामा नजाला भन्न सकिन्न । यसलाई थप बलियो बनाउँदैछ, जनस्तरबाट उठेको सडक सङ्घर्षले । अब जबर्जस्त सुधार्ने होइन, शासन व्यवस्था हेरेर जनता आफैँ सुध्रिउन् । त्यसको मतलब किम जोनजस्तो भने होइन ।

प्रधानमन्त्रीले हरेक भाषणमा दोहोर्याउने शब्द हो ‘म भ्रष्टाचारीको नामै सुन्न चाहन्न, मुखै हेर्दिनँ, भ्रष्टाचारमा शून्य शहनशीलता अपनाउँछु’ तर, व्यवहारमा त ठीक उल्टो भइरहेको छ । प्रधानमन्त्रीका नाकैमुनि दिनदहाडै भ्रष्टाचार भइरहँदा उहाँले किन भ्रष्टाचारी चिन्न सक्नुहुन्न ? जनताले सडकमा सोधेको प्रश्न हो ।

आज कोरोना संक्रमणले जनता थलिइरहेको बेला सरकारलाई भ्रष्टाचार गर्न दसैं आएको छ । रोग र शोकमा देश डुबेको बेला सरकारकै निकाय भ्रष्टाचारीको संरक्षणमा छ । राष्ट्रियता, सामाजिक, आर्थिक क्षेत्र धराशायी हुँदा सरकारको ध्यान त्यतातर्फ जान सकेको छैन । जनताले सडकमा शालिनपूर्वक खबरदारी गर्दा राज्य उसलाई प्रतिगामी, देशद्रोही देख्छभने त्योभन्दा ठूलो तानाशाही व्यवस्था केही हुँदैन ।

प्रधानमन्त्री ज्यू, जनताले ५ वर्षका लागि तपाईंलाई सत्ता सुम्पिएकै हुन् । तीन वर्ष त सुतेरै बिताउनु भयो, देश र जनताका लागि केही गर्छु, जनतालाई सुशासनको प्रत्याभूत गराउँछु, गफ हैन काम गर्छु भन्ने छ भने अझैपनि केही बिग्रेको छैन । दुई वर्षमा तपाईंले धेरै गर्न सक्नुहुन्छ । मात्र इमान्दारीता, नैतिकता देखाउनु चाहिँ पर्यो । डाडु पन्यूँ तपाईंकै हातमा छ, आगे कसरी चलाउने तपाईंकै इच्छा !

प्रतिक्रिया