‘व्यक्तिहत्या’ कस्तो क्रान्ति हो ? (सम्पादकीय)

काठमाडौं । ‘व्यक्तिहत्या’लाई क्रान्तिको अर्थका रुपमा अर्थ्याउने नेपाली राजनीतिक चेत/विचारधारा नयाँ भने पक्कै होइन । यो तात्पर्यतालाई थप पुष्टि गर्छ, विसं ०२७/२८ सालतिर झापाका केही वामपन्थी उग्रवादीहरूले देखाएको ‘व्यक्तिहत्या’को शृङ्खलाले । भनिन्छ, उनीहरुले भारतको नश्लवादी आन्दोलनको नक्कल गरेर नेपालमा पनि ‘व्यक्तिहत्या’को राजनीति शुरु गरेका थिए । पूर्व कोशी प्रान्तीय कमिटीसँग सम्बद्ध झापा जिल्ला कमिटीले विद्रोह गरी सशस्त्र संघर्ष गर्ने निर्णय गरेपश्चात् त्यसले नेपालको कम्युनिष्ट आन्दोलनमा गम्भीर हलचल ल्याएको यथार्थहरु आज पनि जगजाहेर नै छन् । त्यसपछि पनि नेपाली राजनीतिको विभिन्न कालखण्डमा धेरै यस्ता घटनाहरु भएका घटे, जसले ‘व्यक्तिहत्या’लाई प्रशय दिए ।

विसं ०५२ सालयता भएको माओवादी सशस्त्र विद्रोहको क्रममा भएका हत्या र आतङ्कको स्मरण अझै नेपाली जनतासँग ताजै छ । उही तौरबाट भर्खरै मात्रै एक शिक्षकको हत्या गरियो । मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नं. १ मा अवस्थित एक आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या उही प्रकृतिबाट हुनुले नेपाली राजनीतिक दलको सिद्धान्त र विचारधारालाई उदाङ्गो अवश्य बनाएको छ ।

हालसालैको उक्त घटना प्रतिबन्धित नेकपाले घटाएको हो भनेर पुष्टि पनि भइसकेको अवस्था छ । घटनापछि पार्टीका एक नेताले विभिन्न सञ्चारमाध्यममा भनेका छन्, ‘त्यो कारबाही हाम्रो केन्द्रीय नीतिअनुसारकै थियो ।’

तर, अचम्म त यहाँनेर लाग्छ– किसान, मजदूर, महिला, दलित, उत्पीडित अनि जनताका कुरा सुन्नुपर्ने जिकिर गर्दै आएका विप्लवले व्यक्तिको हत्या गरेर कस्तो खालको क्रान्ति गर्न लागेका हुन् ? अहिले आम-मानसपटलमा अनुत्तरित यही प्रश्न यत्रतत्र घुमिरहेका छन् । आमूल परिवर्तनका हिमायती भनेर दावी गर्दैगर्दा आफूमा आउनुपर्ने चेत देखिनु अवश्य पर्छ । एक शिक्षकमाथिको निशाना कदापि आमूल परिवर्तनको संवाहक बन्न सक्दैन । यो त बुझ्नैपर्ने कुरा हो ।

त्यसो त यो पनि बुझ्नु जरुरी छ, हिजो माओवादीहरूले पनि क्रान्तिको नाममा उही प्रकृतिका घटनाहरु घटाए । शिक्षक मारे, व्यापारीको ज्यान लिए, विभिन्न व्यक्तिहरुलाई अलपत्र पारे । त्यसपछि व्यवस्था फेरिनुलाई एक कोणबाट सकारात्मक रुपमा लिइएपनि आफ्नो अवस्थासँग जनता कहीँकतै खुशी छैनन् ।

अतः अब विप्लवले पनि आक्रामक र हिंसात्मक बनेर होइन, विगतको समीक्षा गरेर ‘व्यक्तिहत्या’को राजनीतिलाई त्यागेर सकारात्मक धारको राजनीतिक बाटो अख्तियार गर्न आवश्यक छ । यति कुरा, ‘व्यक्तिहत्या’कुनै क्रान्ति होइन । यसले समाजलाई थप हिंसात्मक मात्रै बनाउँछ ।

प्रतिक्रिया