जुत्ताहरु ! (कविता)

जुत्ताहरू !
एकजोर जुत्ताले मान्छेलाई
जन्मदेखी जिन्दगीसम्म बोकेर लैजान्छन्
र जिन्दगी देखि चिहानसम्म बोकेर लैजान्छन्
यो सबैको बीचमा
उसलाई कतिपटक ठेस लाग्यो
जुत्ताहरुलाई थाहा छ
उ कतिपटक लड्यो
जुत्ताहरुलाई थाहा छ
कैयौंपटक मान्छेको पैताला घोच्न आएका
तिखा काँडाहरुको अघि जुत्ताहरुले आफ्नो
छाती थापिदिएका छन्
कैयौंपटक खुट्टामा दलिन आएका
फोहोरहरुको अघि जुत्ताहरुले आफ्नो
अनुहार राखिदिएका छन् !
जुत्ताहरु प्रेमका प्रतीक हुन्छन
एकपटक उनिहरुको जोडि
छुटाएर लगाई हेर्नुहोस त
एकअर्काबिना
कति कुरुप देखिन्छन् उनिहरु
जुत्ताहरुजस्तै मित्र मानिस बन्न सकेन
जो हरेक सफरमा साथ भैरहे
जो एक्लैले कुनै मन्जिल प्राप्तीको अभिलाषा राखेनन् !
जुत्ताहरुले छोरालाई स्कुल बोकेर जान्छन्रलिएर फर्किन्छन्
जुत्ताहरुले बुवालाई अफिस बोकेर जान्छन्रलिएर फर्किन्छन्
यो संसारका अधिकांश मान्छेलाई
जुत्ताहरुले बोकेर हिँड्छन्
आफुले बोकेर हिँडेका मान्छेहरुलाई लिएर फर्कन नसके
जुत्ताहरु आफूपनि फर्कदैनन्
जुत्ताहरु जवाफदेही हुन्छन् !
जुत्ताहरु हिमाल हिँडेका छन
जुत्ताहरु पहाड हिँडेका छन
जुत्ताहरु तराई हिँडेका छन
जुत्ताहरु देश बिदेश हिँडेका छन
जुत्ताहरु चन्द्रमा देखि मंगल ग्रह सम्म हिँडेका छन !
तर जुत्ताहरु कहिल्यै घमण्ड गर्दैनन
सदा जमिनमै रहन्छन
कुनै जुत्ताले कहिल्यै शिरको आशा गरेनन्
बरु आफ्नो शिरमा पैताला बोकेर
जुत्ताहरु हाँसीहाँसी बाँचीरहे
झुत्रो नहुन्जेल सम्म
थोत्रो नहुन्जेलसम्म
सिलाएर लगाउन मिलुन्जेल सम्म
फोहोर कुल्चदा देखि फोहोर बन्दासम्म
जुत्ताहरु आफ्नो इमानमा रहन्छन्
जुत्ताहरुलाई आफ्नो धरातल थाहा छ !
अराजकतामा जुत्ताहरु
मान्छेको गालाहुँदो पनि पुग्छन
अनि तुरुन्तै तल झर्छन
र पैतालामुनी बस्छन
यसरी पैतालामुनिबाटै कयौंपटक
जुत्ताहरु टाउकोमाथीका मान्छेलाई
नैतिकता पढाउँछन् !
अनि त्यसपछी जुत्ताहरु
गएर एउटा पसलमा बसिदिन्छन्
र किन्नेहरुको हिड्ने पैताला बनिदिन्छन्
त्यसै समय-तिनै जुत्ताहरु
बेच्नेहरुको घरमा चुलो बनिदिन्छन्
मलाई जुत्ताहरु कुनै पोख्त कविको
अप्रकाशित कविता जस्तै लाग्छन् !

प्रतिक्रिया