‘बरु रोडमै प्राण त्याग्छौँ, तर पैसा नलिइ घर फर्कँदैनौँ’

  • सृष्टि नेपाल (द्वारिका)

काठमाडौं । सर्लाही, सिसौटियाका ४५ वर्षीय रामबाबु मण्डल जम्मा दुई पटक आए काठमाडौं । घुम्न होइन, परिश्रमको मोल लिन । खेतीमै निर्भर छन् परिवार । उखु किनेका मिलले पैसा नदिँदा छोराछोरी पढाउने खर्च समेत छैन, त्यसकारण उनी दोस्रो पटक धाएका हुन् काठमाडौं । ६ वटी छोरी छन् । उनीहरुको लालनपालन गर्न समेत धौधौ भएको छ रामबाबुलाई ।

२० वर्षदेखि उखु खेती गर्दै आएका उनले वर्षेनी धनकौल र अन्नपूर्ण मिललाई उखु बुझाउँछन् तर हातमा पैसा पर्दैन । ऋण लिएर खेती लगाउँछन्, मिलका मालिकहरु भने दिन्छ, दिन्छु भनेर झुलाउँछन् मात्रै ।

‘६ सन्तानलाई पढाउनुपर्छ । बिवाह गर्ने उमेर भइसक्यो । मिलले पैसा दिँदैन, सरकारले पनि सुन्दैन हामी किसानको समस्या । म सरकारलाई यही भन्न चाहन्छु– हाम्रो पैसा दिलाइदिनुस्, नत्र यहीँ प्राण त्याग गर्छौँ’, उनी बताउँछन् ।

माइतीघर मण्डलामा भेटिएका अर्का ७० वर्षीय गगनदेव रायको पनि उस्तै समस्या छ । उनी पनि दोस्रो पटक माइतीघर आएका हुन्, सरकारबाट माग सम्बोधन हुने आशामा । नातिनातिना र ४ छोरीहरु छन् । पैसा नलिइ नजाने अडान कसेका उनी मिलले समयमै पैसा नदिँदा ऋणमा डुबेको बताउँछन् ।

‘जबसम्म माग पुरा हुँदैन तबसम्म भोकै, प्यासै यही सडकमा बस्छौँ । यहीँ प्राण त्या गर्छौँ तर पैसा नलिइ घर जाँदैनौ । बहिरो सरकारले अब सुन्नैपर्छ’, उनको भनाइ छ । सर्लाही रामनगरका गगनले उखुखेती गर्न थालेको ५–६ वर्ष भयो । कहिले सिडियो भेटे त कहिले अनशनमा सहभागी भए तर सुनुवाइ केही भएन । त्यसैले पुनः आन्दोलनमा उत्रिए ।

यस्तै पीडामा छन् अर्का उखु किसान ६० वर्षीय रामेश्वर प्रसाद यादव । उनले दुई विघामा उखु खेती लगाउँदै आएका छन् । एक कठ्ठाकाे १० हजारका हिसाबले लगानी लाग्ने उनको भनाइ छ । उखु मिलले समयमै पैसा दिएमा उखु खेतीमा राम्रो आम्दानी हुने उनी बताउँछन् । तर वर्षौँ बितिसक्दा पनि पैसा नपाउँदा रामेश्वर पनि ऋणैमा डुबेका छन् ।

उनले उखु खेती गर्न थालेको २० वर्ष भयो, पुर्ख्याैली पेसा नै यही भएका कारण उनको आय-आर्जनको मुख्य स्रोत नै उखु बनेको छ । उनका ६ छोरी र एक छोरा छन् । ४ छोरीको बिवाह भइसकेको छ भने ४ जना अध्ययनरत् छन् ।

‘पाँच हजार ऋण लिएर काठमाडौं आएको छु । परिवारले पैसा लिएर आऊ भनेर आन्दोलनमा पठाएको हो’, उनी भन्छन्–‘पैसा नलिइ कुन मुखले घर फर्कनु ? पैसा दिएन भने यहीँ आन्दोलनमा गर्छु, मर्छु ।’

सर्लाहीका किसान राम विश्वास मण्डलका छाेरा सुनिल मण्डल पनि आन्दोलनमा समर्थन जनाउन आइपुगेका छन् । पाेहाेर साल बुवाले सहभागीता जनाएका थिए । यस वर्ष बुवा बाहिर गएकाे र उनी स्वयम् काठमाडाैंमै रहिरहेका कारण माइतीघरमा एक्येबद्धता जनाउन उनी आइपुगेका हुन्  । मिलले पैसा नदिँदा पढ्न समस्या भएकाे उनकाे गुनासाे छ ।

‘गाउँमा कक्षा १२ काे अध्ययन सकाएर काठमाडाैं पढ्न आएकाे तर पैसा नहुँदा भर्ना हुन पाएकाे छैन । मुख्य नगदेबाली भनेकै उखु हाे । बाबाले उखु खेतीकाे पैसा उठाउन नसक्दा हाेस्टेलकाे शुल्क तिर्ने समेत पैसा छैन । के पैसा नतिरे हामीलाई हाेस्टेलले राख्छ ? कलेजले पढाउँछ ?’, उनी प्रश्न गर्छन् ।

२१ वर्षीय सुनिलकाे परिवारमा आमा, हजुरआमा, बुवा र भाइबहिनी छन् । सबै अध्ययनरत छन् । सरकारले कृषिमा राजनीति गरेका कारण समस्या खेप्नुपरेकाे उनकाे गुनासाे छ । उनी भन्छन्- ‘तराईबासीकाे आम्दानीकाे स्राेत नै कृषि हाे । अब यसमा पनि आशा मर्याे । सरकार कृषिमा अर्बाै लगानी गरेकाे कुरा सुनाउँछ तर हामीले केही पाएका छैनाैँ ।’

सुनिल, रामबाबु, गगनदेवका जस्तै यस्तै पीडा बाेकेका करिब ५०/६० जना किसान र उनीहरूका सन्तान तथा समर्थकहरू आज माइतीघरमा आन्दोलित बनेका छन् । सरकारले बक्यौता भुक्तानीमा गाम्भीर्यता नदेखाएपछि हिजाे काठमाडाैं आइपुगेका उखु किसानहरू आज आन्दाेलनमा उत्रिएका हुन् ।

गत वर्षको माघमा पनि किसानहरूले काठमाडौं आएर माइतीघरमा प्रदर्शन गरेका थिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने सहमति गरेपछि उनीहरू आ–आफ्नो घर फर्किएका थिए । सहमति भएको एक वर्ष पुगिसक्दा पनि सरकारले माग सम्बोधन नगरेपछि उनीहरूले छठसम्मको अन्तिम समय दिएका थिए । तोकिएको पछिल्लो मितिसम्म पनि सहमति कार्यान्वयन नभएपछि उनीहरू पुनः आन्दोलनमा जुटेका हुन्।

आन्दोलित किसानहरूले ‘सानो छ खेत सानो छ बारी सानै छ जहान, सोनो छ देश, ठूलो छ सरकार अटेन किसान’, ‘किसान मार्न पाइँदैन’, ‘उखुबाट चिनी बन्छ गुलियो, माफियाको गुलियोमा सरकार भुलियो’, ‘सरकार ! किसानलाई बाँच्न देऊ’, लगायतका नारा लेखेका पम्पलेट बाेकेका थिए ।

शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले नसुने जे पनि हुन सक्ने किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए । उनले भने, ‘जबसम्म किसानले पैसा पाउँदैनन्, हामी फर्कँदैनौँ । काठमाडौंमै आन्दोलन जारी राख्छाैँ ।’

संरक्षक मिश्रका अनुसार समग्रमा किसानहरूले ९० कराेड बक्याैता पाउन बाँकी छ । सर्लाहीका किसानहरूकाे मात्रै ३६ कराेड बक्याैता लिन बाँकी रहेकाे छ । अघिल्लाे सालमा भएकाे आन्दोलनपछि किसानले आंशिक मात्रै बक्याैता पाएकाे उनले बताए । ‘देशभर ८४ हजार उखु किसान छन् । सर्लाहीमा मात्रै २५ हजार किसानले उखु खेती गर्दै आएका छन् । २५ हजार मध्ये १२ हजार कृषक पूर्ण रूपमा प्रभावित तथा पीडित रहेकाे पाइएकाे छ,’ संरक्षक मिश्रले भने ।

सरकारले किसानकाे हातमा पैसा नथमाएसम्म दिनहुँ ११ देखि ४ बजेसम्म आन्दोलन जारी राख्ने उनले जानकारी दिए । ‘समयमै माग पुरा नभए आन्दोलनले जस्तो पनि रुप लिन सक्छ । किसान साथीहरुसँग लगातार छलफल गर्नेछौँ । कसरी सरकार सुन्छ, कसरी सरकारले पैसा दिन्छ त्यही बाटो अपनाएर पैसा लिन्छौँ । तर पैसा नलिइ जाँदैनौँ’, उनले भने ।

अहिले ५०/६० जना किसान तथा किसानका छाेराछाेरीहरू आन्दोलनमा सहभागी भएकाे र अन्य किसानहरू आउने क्रम जारी रहेकाे उनले जानकारी दिए । दुई तिहाइको दम्भ देखाउने सरकारले किसानकाे माग पुरा गर्न नसकेकाे उनकाे आराेप छ । ‘गएको माघमा पनि आयौँ । सरकारले त्यतिबेला उद्योगीको जायजेथा असुलेर भनेपनि किसानलाई बक्यौता दिलाउँछौँ भन्यो । तर झुटो सावित भयाे’, मिश्र भन्छन्- ‘किसानका मुद्दा उठाएर बनेकाे कम्युनिष्ट सरकारले त्यही किसानकै पीडा नसुन्नु कतिकाे जायछ छ ? अब हामी कहाँ जाने, संघीय सरकार भन्दा ठुलो सरकार कहाँ छ ?’

सरकारले चाहेमा सक्ने भएतापनि नसुनेकाे उनकाे गुनासाे छ । ‘सरकारले चाहेमा उखु किसानकाे माग सम्बाेधन गर्न सक्छ तर गर्न चाहेकै छैन । प्रधानमन्त्री राहत कोषमा भएका पैसा किसानलाई दिएर उद्योगीसँग ब्याजसहित लिनुभए हुन्छ नि ! सरकारले सहमती गर्दा जति नै लाेभलाग्दा कुरा गरेपनि कार्यान्वयन शून्य छ’, उनी बताउँछन् ।

प्रतिक्रिया