बैनी, हामीले अर्जुन खालिङलाई भुलेका छैनौं !
- खुक्सङ खम्बु राई
विषय प्रवेश :
अर्जुन खालिङको अकल्पनीय मृत्युपछि किरात राई लेखक सङ्घको अध्यक्षको भार मलाई आइलाग्यो । यतिबेला सिङ्गो लेखक सङ्घ ‘साकेला साहित्य महोत्सव’को तयारीमा जुटिरहेको छ । महोत्सवलाई कसरी उपलब्धीमूलक र उद्देश्यमूलक बनाउने ? अध्यक्षको हैसियतले मेरो नि ध्यान त्यतै केन्दित छ ।
गत डिसेम्बर ६ तारिखका दिन तारा नुमिहाङ बैनीको म्यासेज आयो । ‘दाजु सेवा ! आरामै हुनुहोला, मंसिर २९ गते आउन लाग्यो । अर्जुन खालिङको बारेमा केही प्रोग्राम गर्ने कि ?’ बैनीको म्यासेजले झसङ्ग भएँ । किरालेसङ्घको कार्यक्रमले व्यस्त भएको बहाना बनाएर पन्छिनँ खोजें । बैनीले अझ थपिन्, ‘मरेर गएपछि त सबै सकिँदो रहेछ/सबैले भुल्दै गइँदो रहेछ है दाजु ?’ के लेख्ने ? के प्रतिउत्तर दिने ? नाजवाफ भएँ । बैनीको शान्त प्रश्नले मेरो मनमा तरङ्ग ल्याइदियो । त्यसयता बैनीलाई जवाफ दिन सकेको छैन ।
प्रश्न, प्रतिप्रश्न र जिम्मेवारीबोधले चुपचाप–चुपचाप छु । हिजो अर्जुन खालिङ किरात राई लेखक सङ्घको होनाहार अध्यक्ष थिए । आफ्नो अध्यक्ष दिवंगत भएको यत्तिका वर्ष बितिसक्दा पनि किरालेसङ्घले कुनै कार्यक्रम किन गर्न सकेन ? सबैभन्दा बढी मलाई यो प्रश्नले हिर्कायो ? वर्तमान अध्यक्षको नाताले कार्यक्रम गर्ने सबैभन्दा बढी जिम्मेवारी मेरो हुन आउँथ्यो/आउँछ । तर म आफैँ पो गैह्रजिम्मेवार भएँ कि ? तारा बैनीले भनेझैं भुल्दै पो गयौं कि ? ढिलासुस्ती र कमीकमजोरीहरू अवश्य भएकै छन्, तर बैनी, हामीले अर्जुन खालिङलाई भुलेका छैनौं ।
अर्जुन खालिङको सपनालाई साकार पार्न भविष्यमा अझ हामी डट्नेछौं । यसै लेखमार्फत् म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । आफ्ना दिवंगत अध्यक्षको नाममा यसपटक कुनै कार्यक्रम गर्न नसके पनि उहाँको साहित्य र कलाको थोरै चर्चा गर्दै सम्झन चाहन्छु । दिवंगत मृतात्माको चीरशान्तीको कामना गर्दछु ।
साहित्यको चर्चा
अर्जुन खालिङको साहित्य सृजनाको कुरा गर्नुबित्तिकै सबैभन्दा बढी मलाई हिट गरेको उनको एउटा गीतको सम्झना भइहाल्छ । जुन गीत वरिष्ठ गायक तथा सङ्गीतकार जितेन राईको संगीत र तारा नुमिहाङको स्वरमा रेकर्ड गरिएको छ । उनको सृजनामध्ये सबै भन्दा बढी मलाई छोएको सृजना हो यो ।
कला, शिल्प, विम्व र विचार हरकोणबाट यो गीत उत्कृष्ट लाग्छ ।
अर्जुन खालिङ लेख्छन् :–
फेंगा बुन्छु, खाडी बुन्छु, कुरा बुन्दिनँ
आगो बन्छु, पानी बन्छु, छुरा बन्दिनँ ।
राई जातिको विशेषतः महिलालाई बुझ्न यी दुई लाइन गीत काफी छ । किरातीनी महिलाको इतिहास, संस्कार, संस्कृति र स्वभावलाई सरल ढङ्गले सर्लक्कै खालिङले यस गीतमा बेजोड ढङ्गले उनेका छन् । खालिङले लेखेझैं राईनी महिलाहरू हिजो इतिहासदेखि नै खाडी बुन्छन् । फेंगा बुन्छन् । आफ्नै सुतिथाती गर्दै जिउँछन् । तर जालझेल गर्ने, कुरा बुन्ने, अरुलाई लडाउने पटक्कै गर्दैनन् । अथवा कुरा बुन्ने काम किराती महिलाको स्वभाव र संस्कार हैन । बरु अनावश्यक कुरा बुन्ने, षड्यन्त्र गर्नेविरुद्ध आगो बन्न तयार हुन्छन् । सह–अस्तित्वमा मिलेर बस्न पानी बन्न तयार हुन्छन् । तर मुखमा रामराम बगलीमा छुरा कहिल्यै बोक्दैनन् । राईनी महिलाहरूको स्वभाव र संस्कारको साङ्गोपाङ्गो चित्र यो गीतले चित्रण गरेको छ । म को हुँ ? मेरो इतिहास, संस्कार, संस्कृति र स्वभाव कति उन्नत र सभ्य छ ? आफूलाई चिन्न र आफ्नो असल संस्कारप्रति गर्व गर्न यो गीतले प्रेरित गर्छ । राई जातिको यथार्थ केलाउँदै स्वाभिमान उठाउने काम गर्छ । आफूलाई नचिन्ने, आफ्नो असल पक्षप्रति गर्व गर्न नसक्नेले के गर्न सकिन्छ र ?
किराती राई जातिको प्राज्ञिक सत्ता निर्माण गर्न यस्ता खाले शक्तिशाली सृजनाको महत्वपूर्ण योगदान रहन्छ । अर्जुन खालिङ साहित्यको माध्यमबाट राई जातिको प्राज्ञिक सत्ता निर्माण गर्न चाहान्थे । चिण्डो चिन्तनमार्फत् विचारको केन्द्र निर्माण गर्न चाहान्थे । खालिङका सूर्य डढीरहेछ निरन्तर र गोयाङको सुगन्ध नामक दुई कविताकृति प्रकाशित छ भने दर्जन बढी रेकर्डेड गीत छन् ।
कलाको कुरा
वर्तमान नेपाली कला जगत हिमालको, पहाडको, खोलानालाको, हिन्दुहरूको देवीदेउताको चित्र पोत्नमैं रमाइरहेको बेला अर्जुन खालिङले सुङ्गुरको चित्र पोत्न शुरु गरे । कलामा चिण्डो ठडाए । घ्याम्पो बनाए । तीनचुल्हा गाडे । परम्परागत शैलीमा चलिरहेको नेपाली कला क्षत्रमा अर्जुन खालिङले किराती कला प्रवेश गराए ।
अर्जुन खालिङको कलामा खोटाङको चुइचुम्माली चाम्लिङ राई धजुरा र बिनायो भिरेर ढोल बजाइरहेको भेटिन्छ भने ढोलको आवाज सुनेर भोजपुरको बान्तावा राईनी शीरमा खुर्पे जून बोकेर ट्याम्के डाँडामा साकेला नाँचिरहेको देखिन्छ । यता सोलुखुम्बुको कुलुङ राई विजुवा मुन्दुम फलाकिरहेको सुनिन्छ भने उता ओखलढुंगाको बिमारी बाहिङ राई सञ्चो भएर तङ्ग्रिएको देखिन्छ । अर्जुन खालिङ राई जातिको कलालाई विश्वव्यापीकरण गर्न चाहान्थे । राई जातिको कलालाई दर्शनमा बाँध्न चाहान्थे । तर दुःखको कुरा उनी आफैँ अल्पायुमै बिते ।
अन्तमा
अर्जुन खालिङ डान्स गर्न माहिर थिए । तर उनलाई साकेला नाँच्न आउँदैन थियो । साकेला शिली सिकेर टुँडिखेल हल्लाउन मन छ भन्थे । तर साकेला शिली नसिकी/ननाँची अस्ताए । साकेला आउँछ, जान्छ । तर अर्जुन खालिङ अब कहिल्यै आउने छैनन् । ‘सोल्टिनी बिनाको साकेला, लास्टै खल्लो यो बेला…तारा बैनीकै स्वरमा अर्जुन खालिङको यो गीत गतसाल रेकर्ड भएको छ । उनकै गीत सापट लिएर बिदा हुन्छु । ‘खालिङ बिनाको साकेला, लास्टै खल्लो यो बेला ।’