‘पैसा नभएपछि हामी पनि किसान नै बन्नुपर्छ !’

काठमाडौं । ‘…ऋण लिएर काठमाडौं पढ्न आएको हो । उखुको पैसा आउला अनि तिरौंला भन्दाभन्दै ३ वर्ष बितिसक्यो, उखुको पैसा आउँदैन । यता साहुले कराएको कराएकै छ । ब्याज बढेर तिर्न नसकिने भइसक्यो ।’ यो बोली हो, गोडैता नगरपालिका १० सर्लाहीका कृष्टल चौधरीको हो । सोमबार ११ बजेतिर माइतीघर पुग्दा यस्तै सुनाउँदै थिए कृष्टलले । २१ वर्षका उनी अहिले काठमाडौंस्थित नेपाल मेघा कलेजमा पढ्दैछन् । एसएलसीपछि विज्ञान विषय लिएर पढ्ने ठूलो धोको लिएर संघीय राजधानीसम्म आइपुगेका कृष्टल अहिले उखुको पैसा नआउँदा समस्यामा छन् ।

भौतिक विज्ञानबाट ११/१२ लगातार कटाउन सक्षम रहेका कृष्टललाई अहिले पैसाकै कारण आफ्नो ‘इडुकेसनल करिअर’ बिग्रन लागेको चिन्ता छ । ‘पैसा छैन । कलेजले त समयमै पैसा मागिहाल्छ, दिनैपर्यो । तर, आफ्नो आम्दानीको स्रोत भनेको उखु नै हो । यहीँबाट नै पैसा नआएपछि त समस्यै समस्या भएको छ । ११/१२ पढेको पैसा नै तिर्न बाँकी छ । अब ब्याचलर कसरी पढ्नु, पैसा छैन । आफ्नो इडुकेसनल करिअर नै बिग्रन्छजस्तो छ । उखुको अहिले पनि आउलाजस्तो छैन’, कृष्टल चिन्तामिश्रित यथार्थ बताउँछन् ।

भौतिक विज्ञानमा अब्बल कृष्टललाई आर्थिक संकटले खेदेको छ । कारण, उनै उखुको पैसा नआउनु हो । उनले थप भनेका छन्, ‘पैसाले भए त धेरै पढ्ने सोच हो । केही गर्ने मन हो । तर, के गर्नु र खोइ ? पहिलेको ऋणले नै समस्यामा पारिरहेको छ । पैसा नभएपछि त आफू पनि किसानै बन्नुपर्छ ।’

कृष्टललाई सरकारसँग दुखमनाउ छ । सरकारले आफूहरुको समस्या नबुझेको सत्यसँग कृष्टललाई चित्तदुखाइ छ । चिनी मिल धनीहरुले गरेको अटेरपनसँग कृष्टल आक्रोशित छन् । कुनै पक्षले आफ्नो समस्याको समाधान गर्न नखोजेको कटु सत्यसँग कृष्टल रुष्ट छन् । उनी भन्छन्, ‘सबैको समस्या उस्तै हो । आफैँले गरेको परिश्रमको मूल्य पाउन पनि कति गाह्रो ? यो कस्तो सरकार, जसले हामीजस्तोको पीडा बुझ्दैन ? अरुको कारणले आफूमाथि आएको यो समस्याले साँच्चे नै नमिठो हुँदोरहेछ ।’

कृष्टलको चिन्ता यतिमा मात्रै सीमित छैन । उनलाई साहुले आफ्नो उखु उमार्ने जग्गा नै हडपिदेला भन्ने भय पनि छ । आसपासमा त्यो प्रकृतिका घटनाहरु घट्ने गरेको बताउँदै कृष्टलले भनेका छन्, ‘पैसा लिएको यतिका वर्ष भइसकेको छ । साहुले जग्गा नै हडपिदेला भन्ने चिन्ता पनि छ । त्यसरी साहुले जग्गा नै हडप्यो भने त फेरि कहाँ उखु उत्पादन गर्ने ? समस्या धेरैतिर छ हजुर’, कृष्टल सुनाउँछन् ।

मिलधनीहरुले आफ्नो उखुको ३/ ४ लाखसम्म पैसा दिन बाँकी भएको बताएका कृष्टलले साथमा अलिकति पनि पैसा नहुँदाको पीडालाई ब्याख्या गर्न नसकिने बताउँछन् । उनले सुनाए, ‘साथमा अलिकति पनि पैसा छैन । आउन बाँकी त छ नि, नदिएपछि के नै गर्नु सकिँदोरहेछ र ? त्यति पैसाले भए त कति के गरिन्थ्यो भन्ने हुन्छ । तर, साथमा अलिकति पनि नहुँदा समस्यामा परेको आफैँलाई मात्रै थाहा छ ।’

अनि यसपालि पनि तपाईँहरुले पैसा पाउनुभएन भने के गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा कृष्टल आक्रोशित मुद्रामा प्रस्तुत हुन्छनु, ‘जहिलेसम्म हामीले पैसा पाउँदैनौं, हामी यसरी प्रदर्शन गरिरहन्छौँ । यसपालि त पैसा नलिइ फर्किन्नौँ । बरु सडकमा प्राण त्याग्छौँ, यतिकै फर्किन्नौँ ।’

गत वर्ष सरकारले आफ्नो रोहबरमा उखु किसान र मिल धनीबीच गरेको पाँच बुँदे सम्झौता चाँडोभन्दा चाँडो कार्यान्वयन हुनुपर्ने माग राखेका कृष्टलले अन्नपूर्ण मिलले आफ्नो उखुको पैसा पचाउला भनेर चिन्ता लागेको बताउँछन् ।

आर्थिक समस्या नभएको भए राम्रो शिक्षा हासिल गर्न सकिने बताएका कृष्टलले अन्त्यमा भनेका छन्, ‘पैसा पक्कै आउँछ होला, त्यसपछि त पढ्ने हो । शिक्षाविना त केही पनि नहुने रहेछ यो शहरमा ।’

प्रतिक्रिया