अर्कैकी बेहुलीलाई… [शनिबारीय कोशेली]

अर्कैकी बेहुलीलाई…

के तिमी घोराही छाडेर जाँदा
आफ्ना निर्दोष सुस्केराहरु
अनि लजालु सुसेलीहरु
यो पौषको कुहिरोभित्र
नितान्त समेटेर हिँडेकी थियौ?

म केवल ओझेलिँदैछु
पुराना सम्झनाहरु अनि
चुरोटका ठुटाहरु
म सल्काउँदैछु, सल्किँदैछु
म निभाउँदैछु, निभ्दैछु
र, यतैकतै तिमीलाई भुलेर
अनि फेरि विगतका काँटी बालेर
म धुँवा उडाउँदैछु–
बासि; हिजो अस्तिका

म फगत हराउँदैछु
यहाँको हावाभरी
यो चिसो एसट्रेको वरिपरी
म तिम्रै न्याना श्वासहरुको
सितल निरस उछ्छ्वास पाउँदैछु–
चोटका; केही सास्तिका

के तिमी मलाई बिर्सेर जाँदा
मिर्मिरे अघिका आकाशहरु
गोधुँली पछिका बतासहरु
यो निःसन्देह धुईरोभित्र
आँसुसँगै ओगटेर पिएकी थियौ?

मेरो बेरङ्गी प्रितको सितभित्र
विरक्तिले कति चुहेकी थियौ?
मेरा मैला धुँवाका तुवाँलाभित्र
विरहले कति जिएकी थियौ?

–अमीर मगर

प्रतिक्रिया