‘कुर्सी’का लागि सडकमा कमरेडहरुको ‘पलेटी’

काठमाडौं । एकतापछि ‘हामी कहाँनेर छौं’ भनेर खासै भेउ नपाएका खासगरी नेकपाका दुई शीर्षस्थ नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल शुक्रबार ‘हामी यहाँ छौं’ भन्दै माइतीघर नजिकैको सडकमा ‘पलेटी’ कसेर बसे । तर, उनीहरुको त्यो ‘पलेटी’सँग जनताको ‘दुःखमनाउ’ छ । कारण यो हो कि– ‘दाहाल–नेपालको त्यो पलेटीले जनतालाई प्रत्यक्ष लाभ दिँदैन र उनीहरु पनि आफ्नै लागि मात्रै सबै गर्न तयार हुँदारहेछन् ।’ दुई नेताहरुको त्यो ‘पलेटी’ले प्रष्टै रुपमा यो बताउँछ कि, ‘सबैले चिताएरै गर्ने भनेको आफ्नै लागि मात्र हो’ ।

उनीहरुले त्यसरी पुषमासको चिसो सडकमा ‘पलेटी’ कस्नुको अन्य धेरै कारण नहुँदा हुन् । हुँदो हो त केबल एकसरो ‘कुर्सीमोह’ । यो अर्थमा कि, दाहाल–नेपालको त्यो ‘पलेटी’ले जनतासँग खास रुपमा सरोकार र सम्बन्ध त्यतिबेला राख्थ्यो, जतिबेला निर्मला मारियो अनि सम्झना हत्याइयो । तर, अफसोच त्यतिबेला उनीहरु सडकमा बस्दै बसेनन् । किन बसेनन् ? उनीहरु नै जानुन् ।

महामारी बेलाको चरम आर्थिक अनियमितता, पश्चिममा भएको निर्मम सामूहिक हत्या, देशमा मौलाएको नीतिगत भ्रष्टाचार अनि यी यावत् विषय र मुद्दाविरुद्ध दाहाल–नेपालले सडकमा ‘पलेटी’ कस्न आँट गरेको भए त्यो ‘पलेटी’को महत्व कति हुन्थ्यो ? आज जनता कल्पना मात्रै गर्न सक्छन् । तर, जतिबेला आफूहरुलाई मूलधारको राजनीतिबाट किनारा लगाउने हुति अर्को समूहसँग पलायो, ठीक त्यही बेला मात्रै उनीहरुले सडकमा पलेटी कस्न आँट गरे । के यसरी हेर्दा यसलाई ‘कुर्सीमोह’को रुपमा चित्रण गर्न गल्ती होर ?

त्यसो त यो सबै हविगत क–कसको कारण आइलाग्यो ? यो पनि मननीय कुरा पक्कै हो । केही दिनअगाडि नपाली कांग्रेसका युवा नेता गगन थापाले भन्दै थिए, ‘आजको यो अवस्था केपी ओलीको कारणले मात्रै आएको होइन, दाहाल– नेपालजस्ता हुतिहारा नेताले आफ्नो नेता छान्न नसक्दा पनि आएको हो ।’ गगनले भनेजस्तै के दाहाल–नेपालजस्ता शीर्षस्थ नेताहरु आफ्नै कारणले सडकसम्म पुगेका होइनन् र ?

यति कुरा, अब नेपाली जनता धेरै बुझ्नै भइसके । उनीहरु पनि केही बुझ्ने र गर्ने क्षमता राख्छन् । त्यसैले अब नौटङ्की चल्नेवाला छैन । नौटङ्की नै गर्ने भए अब ‘आवर् गभमेन्ट्’ नाम दिएर एक युट्यूब च्यानल खडा गरियोस् । अनि देखाइयोस् जे देखाउन मन छ । तब जनताले त्यसलाई उसैगरी बुझ्नेछन् । उनीहरु सोच्नेछन् कि, ‘यो त वास्तविक होइन, सबै नाटक हुन् ।’

प्रतिक्रिया