‘अहिले मौलिक गीत गाउन आफैँले सिर्जना गर्नुपर्छ’ (भिडियोसहित)
काठमाडौं । लोकप्रिय एवम् वरिष्ठ गायिका शर्मिला गुरुङ २ दशक भन्दा लामो समयदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा नै व्यस्त छन् । लोक संगीतको बजारमा उनलाई नचिन्ने दर्शक सायदै कमै होलान । निरन्तर रुपमा यो लामो समयदेखि गीतसंगीतमा जमेकी उनलाई लकडाउनको समयमा पनि व्यस्तताले छोडेन ।
उनीसँग गीतसंगीतमा प्रवेश गरेका सयौं कलाकारहरु त पलायन भैसकेका छन् । तर, उनी भने अहिलेका कतिपय गायिकाहरुलाई समेत चुनौत दिँदै अगाडि बढिरहेकी छन् । गीत संगीतमा नै जीवन समर्पित गर्छु भन्न लागेकी उनी स्लो प्याटर्नका गीतहरुमा जमेकी गायिकाको रुपमा पनि परिचित छन् ।
हरेक मान्छेको आ–आफ्नै किसिमको संघर्ष रहेको हुन्छ । त्यस्तै उनको पनि आफ्नो किसिमको संघर्ष रहेको छ । हुन त कुनै पनि क्षेत्रमा पाइल चाल्दै गर्दा अप्ठ्यारो र गाह्रो–साह्रो पर्नु त स्वभाविक नै हो । तर, शर्मिलाले भने सांगीतिक क्षेत्रमा लाग्दा सुरुवातीका दिनहरुमा पनि त्यति धेरै संघर्ष गर्न नपरेको बताउँछिन् । हुन त आफूमा ट्यालेन्ट, खुबी र कला–गला हुने हो भने त्यति गाह्रो नपर्ला तर यि सबै हुदा हुँदै पनि कहिलेकाहीँ प्लेटफर्म नपाउँदा पछाडि परेका पनि हुन्छन् ।
लोक गीतसंगीतमा आउँदै गर्दा हरेक कलाकारहरु दोहोरी साँझमा आवद्ध भएका हुन्छन् । जसलाई सिकाईको ठाउँ पनि भनिन्छ । शर्मिलाले पनि सुरुवाती दिनहरुमा दोहोरी साँझमा नै काम गरेर आएकी हुन् । त्यहाँबाट आउने केही रकमले गर्दा काठमाडौंको बसाईमा त्यति बाधा नपरेको पनि उनी सुनाउँछिन् ।
शर्मिला गायिका मात्र नभई कुशल सर्जक पनि हुन । उनले बेला बखतमा गीतहरु सिर्जना गर्ने पनि गरिरहेकी हुन्छिन् । उनले लकडाउनको समयमा ‘रानी फूल बसायो’ बोलको गीत सिर्जना गरेकी थिइन् । उनी मौलिकतालाई पछ्याउँदै यो लामो समयसम्म अगाडि बढिरहेकी गायिका हुन् ।
पछिल्लो समय मौलिक गीतहरु हराएका हुन् कि भन्ने प्रश्नमा उनले मौलिकता हराएको भन्दा पनि मौलिकताका गीतहरु बनाउन नसकेको कारण यस्ता गीतहरु हराएका हुन् कि भन्ने लागेको बताउँछिन् । उनी भन्छिन्–‘अहिले मौलिक गीतहरु त्यति पाइँदैनन्, त्यसैले पनि मौलिक गीत गाउन म आफैँले सिर्जना गर्नुपर्ने हुन्छ ।’ मौलिक गीत सिर्जना गर्नको लागि खुवी हुनुपर्दछ । मौलिक गीतको सिर्जना गर्न मनैदेखि आउनुपर्छ । अहिले पनि मौलिक गीत सिर्जना गर्ने स्रष्टाहरु सीमित मात्रामा भएको कारण त्यस्ता गीतहरु हराएको उनको बुझाइ छ ।
गीतहरु सिर्जना गर्दैगर्दा त्यो गीतले मौलिकता÷इतिहास रच्न सक्छ भन्ने सोचेर बनाउनुपर्ने हुन्छ । पछिल्लो समय एउटा गीत बनाउन १२÷१५ लाख खर्च गर्ने गरिन्छ । जब गीतको मेरुदण्ड भनेको शब्द र संगीत हो । त्यो नै राम्रो नभए जतिसुकै खर्च गरेता पनि त्यसबाट बेनिफिट नहुने उनको बुझाइ छ ।
शर्मिला राज्यले लोकदोहोरीसँग देखाएको उदासीनतासँग चिन्ता छन् । स्रष्टालाई राज्यले नहेरेपनि लोकदोहोरीसँग जोडिएको ‘मौलिकता’लाई भने राज्यले हेर्नैपर्ने उनको तर्क छ । ‘राज्यस्तरबाट लोकदोहोरीलाई ढिला चाँडो सम्मान गरियोस्’, स्रष्टाचालाई नहेरे पनि लोकदोहोरीको महिमासँग जोडिएका मौलिक चिजहरुको जगेर्ना राज्यले जसरी पनि गर्नुपर्छ ।’
सांगीतिक जीवनको यो लामो यात्रामा उनले ३५ सयको हाराहारीमा गीत गाइसकेकी छन् । केही गीतहरु सिर्जना पनि गरिसकेकी छन् । उनका –‘राम्दि पुल, हैन अरुको, रानीफूल बसायो, बल्लै भो भेट, फर्क मुग्लानी’लगायतका थुप्रै गीतहरु अहिले पनि त्यतिकै मात्रामा लोकप्रिय छन् ।