नेताको कुस्ती , नागरिकलाई सास्ती

  • सृष्टि नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा पुस १४ गते नेकपाका नेपाल–दाहाल समूहले बृहत् प्रदर्शन गर्यो, आज (शुक्रबार) जस्तै । दिनैभरी ट्राफिक जाम । ओली र नेपाल–दाहालको पक्ष र विपक्षमा बहस चलिरहँदा ‘जनसास्ती’ बारे भने कसैले पनि बोल्न आवश्यक ठानेनन् । ।

त्यही साँझ करिब ८ बजेतिर एक साथीले तीन लाइनको स्टाटस राखिन्– ‘आज पहिलो पटक महसुस गरियो, आन्दोलनले सर्वसाधारणलाई दिने सास्ती ।’ सायद नेताका कारण उनले सास्ती खेप्नु परेको यो पहिलो पटक थियो ।

उनी त्यसदिन परीक्षाका लागि हिँडेकी रहिछन् । भएछ के भने उनी चढेको गाडीले ‘बाटो बन्द भयो’ भन्दै बिच बाटोमै झारिदिएछ । समयमै कलेज नपुगिने डरले उनको होसै हरायो रे !

‘टुटलले गर्दा मात्रै समयमै कलेज पुग्न सम्भव भयो । तर उफ, जाम । धन्न छ मेरो देशका मान्छेहरुको तमासा । आधी बाटो हिँडेपछि आधी घन्टा ढिलो पुगियो, दुःखी हुँदै’, उनले फेसबुकमा लेखेकी छिन्, ‘यो पारा देख्दा पहिलोपटक महषुस भयो– बरु उहिल्यै बुद्धि पुर्याएर विदेशतिर गएको भए हुने रहेछ । जिन्दगीको अविष्मरणीय दिन !’

सायद उनको जस्तै आजको दिन पनि धेरैका लागि अविष्मरणीय बन्यो होला । कोही परीक्षामा ढिलो पुगे होलान् । कति कर्मचारीले समयमै कार्यालय नपुग्दा हाकिमको गाली खाए होलान् । कति सवारी चालकले गन्तव्यमा नागरिक पुर्याउन नपाउँदा नोक्सान व्यहोरे होलान् । कति विद्यार्थीलाई कलेजबाट हिँडेरै घर पुग्नुपर्ने स्थिति सिर्जना भयो होला ।

किनकी आज पनि नेकपाको उस्तै बृहत् प्रदर्शन थियो । ट्राफिक प्रहरीले रत्नपार्क–सिंहदरबार खण्ड र पद्माेदय मोड-भृकुटीमण्डप सडकखण्डमा सवारी साधन जान दिएकाे थिएन । विहान ९ नबज्दै देखि रत्नपार्कतिर जाने गाडीलाई अरु आएकोतिरै फर्काएको थियो । जुलुसका कारण यातायात प्रभावित भयो । मुख्य सडकबाट सवारी साधन डाइभर्ट गर्दा वैकल्पिक सडकहरुमा समेत चाप बढ्यो अनि जाम पनि ।

आजको दिन यी सबै समस्या सत्तारुढ नेकपाले नै सिर्जना गरेको हो । जसले नागरिकको हकहितका लागि आफ्नो लडाईँ जारी राखिएको दाबी गरिरहेको छ, उसैले बुझेको देखिएन नागरिकको सास्ती र समस्या ।

वास्तवमा उनीहरुको लडाईँ नागरिकका लागि होइन, कुर्सीका लागि हो भन्ने आज पनि प्रमाणित भयाे । कुर्सी नपाउँदाकाे पीडा देशैभरका कार्यकर्ता जम्मा पारेर राजधानी लगायत देशैभरका सडकमा छताछुल्ल पारेका छन् । सडकमा भोकभोकै आफ्नो श्रमको मूल्य दिलाइदिन किसानले माग गरिरहँदा उनीहरुको आवाजमा बोल्न आवश्यक नठान्ने राजनीतिक दलहरु आज जनताको हितका लागि भन्दै जनतालाई नै सास्ती दिएर एक–अर्कामाथि आक्षेप लगाउँदै बसेका छन् । जनतालाई हतियार बनाएर जुहारी खेलिरहेका छन्, व्यंग्य गरिरहेका छन् ।

नागरिकको दैनिक क्रियाकलाप प्रभावित नहुनेगरी प्रदर्शन गरेका हुन्थे भने उनीहरुले उठाएका आवाज नागरिकका पक्षमा नै छन् भनेर भन्न सकिन्थ्यो हाेला । तर आफ्नो शक्ति कहाँ-कति छ भनेर देखाउने, नागरिकका दैनिक क्रियाकलाप प्रभावित हुनेगरी कार्यकर्ताका हुल जम्मा गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्डको बेवास्ता गरेर कोरोना संक्रमण फैलाउन दर्बिलाे भूमिका खेल्ने, अनि प्रदर्शन चाहीँ नागरिकका लागि रे !

हुन त नेता चुन्ने नागरिककाे पनि यी ‘सास्ती’ मा ठुलाे हात छ । क्षणिक फाइदामा बिकेर नेता बन्ने याेग्यता, खुबी र छवि नै नभएकालाई भाेट हाल्नु भनेकै यस्तै किसिमका सास्तीमय दिनहरू निम्त्याउनु नै हाे । कमसेकम नेतामा देशप्रति इमान्दारिता, जनताप्रति बफादारिता हुनु अत्यन्त आवश्यक छ । देश र जनताका लागि ज्यानकाे बलिदान दिन समेत पछि नहट्ने, अडिग, सक्षम, क्षमतावान्, शिक्षित, वैचारिक स्पष्टता, दूरदृष्टियुक्त नेता भएमा मात्रै देशले गति लिन्छ ।

नेताले आफ्नाे बारेमा भन्दा पनि देश र जनताकाे बारेमा साेच्नुनुपर्छ, तर नेपालका नेताहरूलाई आफ्नै बारेमा साेच्दैमा फुर्सद छैन । यीमध्ये केही गुण मात्रै पनि नेपालका नेताहरूमा हुन्थ्याे भने सायद ‘समृद्ध नेपाल सुखी नेपाली’ काे नारा, नारामै मात्र सिमित रहने थिएन ।

देशलाई समृद्ध बनाउने प्रण गरेका नेताहरूले देश हाेइन, भाषण र आन्दोलनलाई समृद्धितिर डोहोर्याइरहेका छन् । प्रधानमन्त्रीले दिनानुदिन गज्जबका भाषण फुराएर आफ्ना भाषणकै समृद्धितिर लागेका छन् भने उनका विपक्षी बनेका नेकपाकै नेपाल–दाहाल समूह दिनहुँ आन्दोलन र प्रदर्शनको शैली विस्तार गर्दै त्यसैलाई समृद्ध बनाउनतर्फ लागेको छ । अनि बलात्कार, हत्या, हिंसा, भ्रष्टाचार, काेभिड १९ संक्रमण नियन्त्रणतिर ध्यान कसकाे जानु ?

नेताकाे ध्यान त वर्कीफर्की आन्दोलनमै छ । प्रचण्ड–माधव समूहले संसद विघटनको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी रहने जनाएको छ । त्यसमाथि विपक्षी दल पनि प्रदर्शनकै पक्षमा छन् । नागरिकले अझै याे सास्ती कहिलेसम्म खेप्नुपर्ने हाे, कुन्नि ! गुनासाे पनि काेसँग गर्नु, नेता नै हक अधिकारका लागि सडकमा आएका छन् !

प्रतिक्रिया