नेकपाका दुवै समूहसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले नेकपाको दुवै समूहसँग छलफल गर्दैछ । छलफलका लागि आयोगले दुवै समूहलाई छुट्टाछुट्टै पत्र लेखेर कार्यालयमा बोलाएको हो ।

आयोजका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै समूहका अध्यक्ष आफैं वा निजले तोकेका आधिकारिक ५ जना व्यक्तिलाई बिहान साढे ११ बजे बोलाइएको हो । दुवै पक्षसँग निर्वाचन प्रयोजन र प्रक्रियाबारे छलफल हुनेछ । ‘सरकारले निर्वाचन घोषणा गरिसकेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र आयोगले निर्वाचन सम्बन्धी हालसम्म गरेका तयारीबारे जानकारी दिने विषयमा छलफल हुन्छ ।’

सरकारले आगामी वैशाख १७ र २७ निर्वाचनको मिति तोकेपछि आयोजले दल दर्ता प्रक्रिया चाँडै नै सुरु गर्ने बताएको छ । यसअघि नेकपाका दुई पक्षले अलग-अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले अस्वीकार गरिसकेको छ ।

दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेको हो । आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दुवै पक्षले विवरण हेरफेरका लागि गरेको आग्रहलाई अस्वीकार गरेको जानकारी दुवै पक्षलाई पठाइसकिएको छ ।

प्रतिक्रिया