डा. शेखरलाई जब ‘राता मान्छे’ले स्वागत गरे

सर्लाही । डा. शेखर कोइराला नेपाली कांग्रेसको आसन्न महाधिवेशन पछि सभापति हुने दौडमा छन् । डेढ वर्षदेखि आम नेता तथा कार्यकर्ता र जनताको जनभावना बुझ्दै देश दौडाहा गर्दै आएका डा. कोइरालाको लोकप्रियता पनि चुलिँदो छ ।

कोइराला परिवारबाट सभापतिमा सर्वसम्मत एक जना सभापति हुने डा. शेखर, डा. शशांक र सुजता कोइरालाले बताइरहँदा संभवतः डा. शेखर नै सर्वसम्मत उम्मेदवार हुन् । वर्तमान अवस्थामा कांग्रेस पार्टीमा प्राण भर्न र मुलुककै पहिलो पार्टी बनाउन पनि डा. शेखरको विकल्प छैन भन्ने आम जनता तथा कार्यकर्तामा भइसकेको छ ।

कोरोना संक्रमण मथ्थर भएसँगै मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध आम कार्यकर्तालाई बुझाउँदै हिँडेका डा. कोइरालाले आम जनता तथा कार्यकर्ताबाट न्यानो आतिथ्यता पाइरहेका छन् । सोही क्रममा डा. शेखर सर्लाहीको हरिवन पुग्दा अलिक फरक दृश्य देखियो ।

नेपाल महिला संघ सर्लाही क्षेत्र नम्बर ३ ले हरिवनमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमका लागि शुक्रबार कोइराला हरिवन पुग्दा उनलाई स्वागत गर्न क्रान्तिको प्रतिक रातो लुगा लगाएका मान्छेहरु आए । परम्परागत नेपाली बाजासहित ‘डा. शेखर कोइराला जिन्दावाद’ लेखेर स्वागत गर्न उपस्थित मान्छेहरुले डा. शेखरलाई पार्टी सभापतितिका रुपमा स्वीकार गरेको देखिएको छ । कांग्रेसभित्र रातो रंग प्रायः विजयोत्सव मनाउने बेलामात्र देखिने गर्दछ । तर, हरिवनमा अहिले नै डा. शेखरको स्वागतमा ‘रातो रंग’ प्रयोग भयो ।डा. कोइरालालाई आम नेता कार्यकर्ताहरुले अबको सभापति भनेर स्वीकार गरीसकेको बुझ्न सकिने उनका स्वकीय सचिव दिनेशचन्द्र कोइरालाले बताए । ‘डा. शेखर जता जानुहुन्छ त्यहाँ उहाँलाई अबको सभापति नै भनेर कायृकर्ताहरुले बुझ्नु भएको छ । हरिवनमा रातो लुगामा डा. शेखर कोइराला जिन्दावाद’ भन्दै ‘राता मान्छेहरु’ बनेर उहाँलाई स्वागत गर्न भनेको सभापतिमा स्वीकार गर्नु हो भनेर बुझेका छौं ।’ थपलियाले भने ।

पार्टी रुपान्तरण र पुस्ता हस्तान्तरणका सवालमा डा. शेखर कोइरालाले अपनाएको रणनीति सर्वस्वीकार्य भएको उनको भनाइ छ । ‘कांग्रेस बलियो हुनुपर्छ, मुलुकको नेतृत्व लिनपर्छ र कांग्रेस बचाउन डा. शेखरको भूमिका महत्वपूर्ण रहनुपर्छ भन्ने सन्देश दिइएको रहेछ,’ थपलियाले भने ।

शुक्रबार हरिवनमा आयोजित कार्यक्रममा कांग्रेसका नेताहरू दिपक गिरी, सरिता प्रसाईं, रामकृष्ण यादव, महालक्ष्मी उपाध्याय डिनालगायत नेताहरु सहभागी भएका थिए । नेपाली कांग्रेसले आउँदो बैशाखमा १४ औं महाधिवेशन गर्ने तय गरेको छ । यद्यपि कोरोना संक्रमण, पछिल्लो राजनीतिक अवस्थाका कारण महाधिवेशन सर्ने सम्भावना छ ।

प्रतिक्रिया