सुदूरमा केपीलाई बेवास्ता, पीकेलाई स्वागत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेवास्ता गरिएको सुदूरपश्चिम प्रदेशमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई भव्य स्वागत मिलेको छ ।

शनिबार आफूनिकट सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्न धनगढी पुगेका अध्यक्षद्वय दाहाल–नेपालको स्वागतमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसहित अन्य मन्त्रीहरु धनगढी विमानस्थल पुगेका थिए । साथै दाहाल–नेपालको स्वागतमा पूर्वमन्त्री विना मगर, सुदूरका नेता भीम रावललगायतका नेताहरुसमेत पुगेका थिए ।

यसअिघ गत २४ पुसमा प्रधानमन्त्री ओली आफू निकट सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न धनगढी पुग्दा मुख्यमन्त्री भट्ट विमानस्थल पुगेका थिएनन् । उनले आफू प्रधानमन्त्रीको स्वागतमा नजाने नै भनेर बोलेका थिए । यद्यपि, दाहाल–नेपालको स्वागत भने मुख्यमन्त्री भट्टले भव्य रुपमा गरेका छन् ।

दाहाल–नेपालको स्वागतमा मुख्यमन्त्री भट्टसहित आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, उद्योग वन वातावरण तथा पर्यटनमन्त्री माया भट्ट र भूमि व्यवस्था तथा कृषिमन्त्री विनिता चौधरीसँगै अन्य सांसदहरुसमेत विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया