‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाले मागे माफी

काठमाडौँ । खानेपानी तथा सरसफाई मन्त्री मणि थापाले क्षमा मागेका छन् । शनिबार सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेका मन्त्री थापाले क्षमा मागेका हुन् ।

सम्बोधन गर्ने क्रममा उनले नेकपा स्थायी समितिको तर्फबाट साथै श्री ५ को सरकारका तर्फबाट पनि आभार प्रकट गर्दछु भनेका थिए। सँगै बसेका अर्का व्यक्तिले सम्झाएपछि नेपाल सरकार भनेर सच्याएका थिए । आइतबार बिहान फेसबुकमा लेख्दै मन्त्री थापाले आफूले भुलबस त्यसो भनेको र तत्काल सच्चाइएको स्पष्टिकरण दिएका हुन् ।‘मेरो पूरै राजनीतिक जीवन क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु’ थापाले फेसबुकमा लेखेका छन्, ‘भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌ विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । ओली समूहले सरकारको बचाउ गरिरहेको छ भने प्रचण्ड नेपाल समूह प्रतिनिधि सभा विघटनविरुघ आन्दोलनमा छ । यही बेला उनको क्याबिनेटका मन्त्रीले ‘श्री ५ को सरकार’ भनेको भन्दै सामाजिक सञ्जालमा चर्चा परिचर्चा भएको थियो ।

प्रतिक्रिया