एक वर्षमा कुष्ठरोगका झण्डै २ हजार नयाँ बिरामी

काठमाडौं । नेपालमा एक बर्षमा झण्डै दुई हजार जना कुष्ठराेगका नयाँ बिरामी भेटिएका छन् ।

नेपालमा आर्थिक वर्ष २०७६/७७ मा १ हजार ८५३ जनामा कुष्ठरोग देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ मा २८४, प्रदेश २ मा ६ सय, बागमती प्रदेशमा २०८, गण्डकीमा ९१ जना भेटिएका छन् । यस्तै लुम्बिनीमा ४७८, कर्णालीमा ५५ र सुदूरपश्चिम प्रदेशमा १ सय ३७ जना कुष्ठराेगका बिरामी भेटिएका हुन् ।

कुष्ठरोग सरुवा रोगहरुमध्ये एक हो, यद्यपी यो ज्यादै कम सर्ने रोग हो । माइकोब्याक्टेरियम लेप्र नामक सुक्ष्म किटाणुबाट लाग्ने यो रोग मानिसबाट मानिसमा सर्छ ।

यो रोगको किटाणु मानिसको शरीरमा प्रवेश गरेपछि यदि त्यस मानिसमा कुष्ठरोगका किटाणु विरुद्धको प्रतिरोधात्मक शक्ति कमजोर भएमा यो रोग लाग्छ । किटाणु शरीरमा प्रवेश गरेको साधारणतया २ देखि ५ वर्षभित्र यो रोगको प्रारम्भिक चिन्ह वा लक्षण देखिन्छ । महाशाखाका अनुसार ९५ प्रतिशत मानिसमा कुष्ठरोगको किटाणुसँग लड्न सक्ने क्षमता हुन्छ । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्ने गर्दछ ।

समयमै उपचार गरेमा यो रोग पूर्ण रुपमा निको हुने, अपांगता नहुने र अरूमा पनि नसर्ने शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पतालका प्रमुख कन्सल्टेण्ट डा. अनुप बास्ताेलाले बताए ।

कुष्ठरोगका लक्षण :

– छालामा रातो तथा हल्का फुस्रो रङ्गको दाग देखिनु ।
– हातखुट्टा निरन्तर झमझमाउनु, पोल्नु, स्पर्श शक्ति हराउनु ।
– अनुहारको छाला रातो–बाक्लो हुनु,
– शरीरमा दुख्ने/नदुख्ने गिर्खाहरु देखिनु ।
– हातखुट्टाका औँला कमजोर हुँदै जानु । खुम्चिएर अंगभंग हुनु ।
– आँखीभौँ, परेली झर्नु ।
– कानका लोतीहरु सुन्निनु ।

कसरी सर्छ ?

– यो रोग सबै कुष्ठरोग बिरामीबाट अरुलाई सर्दैन ।
– यो रोग उपचार सुरु नगरेका कुष्ठरोगका बिरामीबाट मात्रै अरुलाई सर्न सक्छ ।
– यो रोग मुख्यतया श्वास प्रश्वासको माध्यमबाट सर्छ ।
– भीडभाड वा धेरै मान्छे एक ठाउँमा बस्ने, सुत्ने गरेमा यो रोग सर्ने सम्भावना बढी हुन्छ ।
– दिशा–पिसाबबाट, बिरामीले प्रयोग गरेका भाँडा कपडाको पुनः प्रयोग गर्दा पनि यो रोग सर्दैन । यदि गर्भवतीमा यो रोग लागेको भएपनि पेटमा भएको बच्चामा पनि यो रोग सर्दैन ।

उपचार

यो रोग उपचारबाट पूर्ण रुपमा निको हुन्छ । समयमै उपचार गरेमा अपांगता हुँदैन । यो रोग बहुऔषधीको एक मात्रा सेवनबाट नै ९९ प्रतिशत रोगका किटाणुलाई शिथिल बनाइ रोग अरुलाई नसर्ने हुन्छ । बहु–औषधी उपचार पद्धती कुष्ठरोगको उपचारमा प्रयोग हुने दुई वा तीन किसिमको औषधीहरुको सम्मिश्रण हो । यो औषधीको एक मात्रा सेवन गर्दा पनि उपचार प्रभावकारी भइ रोगलाई तुरुन्तै

लक्षण र चिन्ह्का आधारमा कुष्ठ रोगलाई दुई प्रकारमा विभाजन गरिएकाे छ- Paucibacillary (PB) Leprosy (कम किटाणु भएकाे)  र Multibacillary (MB) Leprosy (बढी किटाणु भएकाे) । डा. अनुप बास्ताेलाका अनुसार कम किटाणु भएकाले ६ महिना र बढी किटाणु भएकाले १२ महिना नियमित रूपमा औषधि गर्नुपर्छ ।

कसरी बच्ने ?

कुष्ठरोग लागेका व्यक्तिबाट टाढा बस्ने ।
लक्षण देखिएकालाई तुरुन्त उपचार गराउने ।

प्रतिक्रिया