काठमाडाैंमा बर्ड फ्लु : तारकेश्वरमा बढाइयाे निगरानी

काठमाडाैं । राजधानीमा बर्ड फ्लु (एच५एन८) भेटिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्यहाँका स्थानीयलाई स्वास्थ्यमा समस्या देखिए तुरून्त खबर गर्न अनुराेध गरेकाे छ । महाशाखाले अहिले त्यहाँ निगरानी समेत बढाएकाे छ ।

महाशाखाले साे स्थान वरपर कुनैपनि पंक्षीकाे शंकास्पद मृत्यु भएमा, पंक्षीहरूसँग हालका दिनमा सम्पर्कमा आएका कुनैपनि व्यक्तिलाई ज्वराे वा रूघाखाेकीका लक्षणहरू देखिएमा तुरून्तै नजिककैकाे स्वास्थ्य संस्था एवम् स्वास्थ्यकर्मीकाे सम्पर्कमा जान सुझाव समेत दिएकाे छ । पंक्षीकाे मासु तथा अण्डालाई राम्राेसँग पकाएर मात्र खान र पंक्षीहरूसँग काम गर्नुपरेमा आवश्यक व्यक्तिगत सुरक्षाका उपायहरू अपनाउन पनि महाशाखाले सुझाएकाे छ ।

शनिबार काठमाडाैंकाे तारकेश्वर नगरपालिका- ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु पुष्टि भएकाे थियाे । पशु सेवा विभागका अनुसार त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा बर्ड फ्लु रोग पुष्टि भएको हो । रोग अन्यत्र फैलन नदिन रोग देखिएको क्षेत्रमा रहेका करिब साढे २३ सय वटा घरपालुवा पन्छी नष्ट गरिएको छ ।

यसक्रममा १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको हो । रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिएको विभागको भनाइ छ ।

 

प्रतिक्रिया