वृत्तान्त ‘बालुवाटार’

  • भूपाल राई

वृत्तान्त ‘बालुवाटार’

सर्कस घरतिर अक्सर नसोझिने
एउटा घुमाउरो मार्गमा अवस्थित छ
‘बालुवाटार’
जो यसभन्दा पहिले
कहिल्यै यति चर्चाको हकदार थिएन

एक्कासी एउटा नौटंकी कलाको सरदार
उल्टो पाइताला
उल्टै खोपडीका साथ
चटक देखाउँदै
जब प्रवेश गर्छ त्यो सरहदमा
र बनाउँछ त्यसलाई गफको भद्दा अखडा
र एकाएक विनिर्माण गरेर सिंहदरबारलाई
थुपार्छ आफ्नै शौचालयमा
डुंग गन्हाउने प्रतिगमन फोहोरको थुप्रो
एक्कासी चुलिन्छ चर्चा बालुवाटारको
जहाँ विराजमान छ यतिखेर
एउटा नयाँ तानाशाह

ठीक त्यही दिनदेखि
एउटा तानाशाह जंकिएर फेरिएको छ जोकरमा
वा एउटा जोकर सन्किएर फेरिएको छ तानाशाहमा
वश ह्वात्तै बढेको छ
बालुवाटारको चर्चाको ग्राफ

त्यही दिनदेखि फर्किएको हो
खोला फर्किएझैँ
१५ वर्ष पुरानो उसको बयलगाडाको यात्रा
फर्किएको हो इतिहासको उल्टो सिरानीमा
फेरि श्रीपेचको बहुलट्ठी सपना
जोकर हो, कुनै तर्क चाहिँदैन उसलाई
हावामा बेतुकको गुब्बारा उडाउन
केवल हर्कत देखाएर
सस्तो कटाक्ष गरेर
टुक्का, चुट्किला सुनाएर
हाँसोका हनुमानहरूबाट घेरिइरहन पाए पुग्छ
यसदेखि बाहेक
ऊ कहिल्यै जवाफ दिँदैन
किन सनक–सनकमा
मन परिरहन्छ उसलाई
श्रीपेचको झरिसकेको कल्की ?

नागरिकहरू
त्यही सनकको कल्की उखेल्न
उत्रिएका छन् यतिखेर सडकमा
बढिरहेका छन् उनीहरू
क्रमशः बालुवाटारको घुमाउरो बाटोतिर
जाँदा–जाँदै
माइतीघर मण्डलादेखि उँभो
बाटैमा पर्छ कमलपोखरी
जहाँ फुलाइएको छ
कमलको सट्टामा ढकमक्क कंक्रिटको फूल
यसकारण कि तानाशाहलाई मन पर्दैन
कमलको सक्कली फूल
कमलको सक्कली पात
मन पर्दैन कमल पोखरीको पुरातत्व
केवल मन पर्छ कंक्रिटको स्फटिक पानी
जहाँ बक्र मुस्कानका साथ
सदैव हेर्ने गर्छ ऊ आफ्नो कुटिल अनुहार

थोरै तल छ प्रहरी प्रधान कार्यालय
जहाँ ऊ चाहन्छ
कि जवानहरूको मार्चपासमा
गुन्जियोस् आफ्नै जुत्ताको पदचाप

करेसामै छ उत्तरी छिमेकी देशको राजदूतावास
तर नजिकको भुतभन्दा
प्रिय लागिरहेछ यतिखेर उसलाई
निकै टाढा–लैनचौरको देउता

निकै तल छ सैनिक मुख्यालय
जो यो सोचेर गर्व गर्छ
कि इतिहासमा हरेक तानाशाहको लिगेसी
जोडिएको छ त्यसको छप्परमा
जस्तोकि भित्तामा मुस्कुराइरहेको छ
यतिवेला उसैको नयाँ तैलचित्र

यी दुवैको ठीक बीचमा छ निर्वाचन आयोग
जसले छापिरहेछ
उसैको निधारलाई सुहाउने स्वस्तिक चिह्न

सैनिक मुख्यालयकै ठीक सामुन्नेमा छ
सर्वोच्च अदालत
जहाँ भइरहेछ यतिखेर
उसैको सनकको धुवाँधार बहस

बिर्सिदिऊँ
एकछिनलाई सिंहदरबार
वर्षौँदेखि बयलगाडाको पहियाले कुल्चिएर
बदलिसकेको छ अब त्यो वृत्तान्त बालुवाटारमा

अलि माथि छ शिक्षण अस्पताल
जहाँ मरिसकेको छ विज्ञानको समग्र सूत्र
ज्युँदा छैनन् कोही पनि चिकित्सकहरू
जसले भन्न आँट गरून्
कि खराब छ तानाशाहको मानसिक स्वास्थ्यको
पछिल्लो रिपोर्ट

र, यी सबलाई छाडेर
सबभन्दा नजिकमा छ एउटा अन्तिम चिज
जहाँ ऊ हरेक गर्मी मुद्रामा
शीतल ताप्न निस्कन्छ
र जसलाई ऊ ‘शीतलनिवास’ भन्ने गर्छ
त्यसैको गुप्त कोठा सजाउनलाई
ऊ हरेक साँझ–बिहान पठाइबस्छ
खिचेर आफ्नो शृंगारिक तस्बिर

यसरी
हरेक गुप्त कोठाहरूको एकछत्र पहुँचमा छ ऊ
हरेक गुप्त मन्त्रणाहरूबाट पूर्ण सुरक्षित
ऊ सोँच्छ, कि उसको जुन निजी लहड छ
त्यो नै सर्वांग संविधान हो
उसको जुन उल्टो खोपडीको व्यसन छ
त्यो अदालतको फैसला हो
जुन उल्टो यात्राको नशा छ
त्यो इतिहास हिँड्ने राजमार्ग हो
जोकर हो, कुनै विज्ञान चाहिँदैन उसलाई
नयाँ–नयाँ लीला देखाउन
केवल चिसो–चिसो गाली तु¥याएर
गरम–गरम ताली कुम्ल्याएर
फोहोरी अखडा ओगटिरहन पाए पुग्छ
यसदेखि बाहेक
उसलाई एकरत्ती लाग्दैन
कि दुनियाँका हरेक तानाशाहलाई
सबभन्दा बढी खतरा
यदि कसैबाट छ भने
त्यो आफ्नै निहत्था नागरिकहरूबाट छ

बालुवाटारमा
एउटा नयाँ तानाशाह
उर्फ एउटा पुरानो जोकर
जो सर्कस घरमा अविराम हसाइरहेछ
उसलाई थाहा छैन
नागरिकहरू चरम संकटका वेला
भद्दा मजाक रुचाउँदैनन्
नागरिकहरू जोकरको जोकसम्म त मन पराउँछन्
तर, जोकरको शासन मन पराउँदैनन् ।

प्रतिक्रिया