भारतद्वारा ओमानलाई एक लाख डोज कोरोनाविरुद्धको खोप सहयाेग

मस्कट । भारतले खाडी मुलुक ओमानलाई कोरोना भाइरस विरुद्धको खोप सहयोग प्रदान गरेको छ । भारतले उपहारस्वरुप प्रदान गरेको एक लाख डोज खोप शनिबार ओमानको राजधानी मस्कट आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतका विदेश मन्त्री एस जयशंकरले मित्रवत सम्बन्ध विकास गर्न ओमानलाई कोरोनाविरुद्धको खोप सहयोग स्वरुप प्रदान गरेको जानकारी दिए । भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ओमानसहित क्यारेबियन देश, निकारागुवालगायतलाई कोरोनाको खोप उपहारस्वरुप दिने योजना रहेको बताए ।

अफ्रिकी मुलुकहरुलाई मात्रै झण्डै एक करोड खोप दिने तयारी भइरहेको पनि उनले जानकारी दिए । ‘यही जनवरी २० देखि हामीले छिमेकी देशहरुलाइ खोप सहयोग गर्न थालेका हौँ, अहिलेसम्म ५५ लाखभन्दा बढी खोप सहयोगस्वरुप प्रदान गरिएको छ,’ उनले भने । भारतले साउदी अरब, दक्षिण अफ्रिका, क्यानडा, मङ्गोलियालगायतका देशलाई पनि कोरोनाको खोप दिने योजना बनाएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोनाको खोप उत्पादन गर्ने क्षमताको हिसाबले भारत अग्रस्थानमा रहेको बताएका छन् । एजेन्सी

प्रतिक्रिया