प्रदेश सभा बैठक २५ गते, मुख्यमन्त्रीको पद के होला ?

विराटनगर । प्रदेश १ को प्रदेशसभाको सातौं अधिवेशनको दोश्रो बैठक माघ २५ गते आइतबार बोलाइएको छ । पहिलो बैठक माघ ७ गते बसेर अनिश्चितकालका लागि स्थगित भएको थियो ।

प्रदेश सभा सचिवालयले बैठक २ बजेलाई बोलाएको छ । प्रदेशसभा सचिवालयलका सचिव गोपालप्रसाद पराजुलीले सभामुख प्रदीपकुमार भण्डारीको आदेशमा बैठक बोलाईएको जानकारी दिए ।

प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको दाहाल-नेपाल समूहमा रहेका एक चौथाई बढि सांसदहरुले अविश्वास प्रस्ताव पेश गरेका छन् । ३७ सांसदले हस्ताक्षर गरेपनि ५ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिइसकेको जानकारी गराएका छन् । बहुमतले उक्त प्रस्ताव पारित हुन प्रदेशसभामा तत्काल कायम रहेको सांसदको संख्याको बहुमत पुग्नुपर्छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउनका लागि ४७ सांसद आवश्यक पर्नेछ ।

दाहाल-नेपाल समूहले प्रस्तावको पक्षमा बहुमत पुर्याए ओली समूहका शेरधन राई मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव पेश भएपनि प्रदेशसभामा उक्त अविश्वास प्रस्ताव टेबुल भइसकेको छैन ।

प्रतिक्रिया