माघ १९, राजा ज्ञानेन्द्रले प्रजातन्त्रमाथि ‘कू’ गरेको दिन

काठमाडाैँ । आज माघ १९, प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेको दिन । यस दिनलाई कालोदिनका रुपमा सम्झने गरिन्छ ।

संसदीय व्यवस्थाबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हटाई प्रत्यक्ष निरंकुश शासन व्यवस्था लादेको भन्दै आजको दिनलाई कालोदिनका रुपमा सम्झिने गरिन्छ । २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए ।

दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए भने रेडियोमा समाचार रोक लगाइएको थियो । राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो । तर यो अवस्था धेरै दिन रहन सकेन ।

ज्ञानेन्द्रको यस कदमले जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरुलाई एकजुट बनायो । दलहरु राजाको उक्त प्रत्यक्ष शासनको विरुद्ध एकजुट भए र आन्दोलन चर्किदै गयो । २०६२/०६३ को जनआन्दोलनको सुत्रपात पनि यहि दिनको कदम मानिन्छ ।

२०६२ मंसिरमा दिल्लीमा द्वन्द्वरत माओवादी र तत्कालीन सातदलबीच १२ बुदे समझदारी भएपछि माओवादीसहित ८ राजनीतिक शक्तिले राजसंस्था विरुद्ध आन्दोलन गरेका थिए । त्यहि आन्दोलनको सफलतापछि २ सय ३८ वर्षीय राजसंस्थाको अन्त्य भएको थियो ।

तर निरंकुश राजसंस्था अन्त्य भएको लामो समय भइसक्दा समेत मुलुक संक्रमणकालबाट अगाडि बढ्न सकेको छैन । विकास निमार्णका कार्यले गति लिन सकेका छैनन् । भ्रष्टाचार रोकिएको छैन भने जनताको जीवनस्तर माथि उठ्न सकेको छैन ।

तत्कालीन राजा ज्ञानेन्द्र अहिले आम नागरिकका रुपमा रहे पनि उनी विभिन्न ठाउँमा जाँदा ‘राजा आउ देश बचाउ’ नारा लागिरहन्छ । अहिले देशमा फेरि आन्दोलन सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देशलाई स्थिरता दिने भनेर स्थापना भएको नेकपाको सरकार आफ्नै पार्टीका कारण दुई टुक्रा भएको छ ।

नेकपाको प्रचण्ड नेपाल समूह सडकमा छ भने ओली समूह भने वैशाख १७ र २७ गते चुनाव गराउने भनेर लागि परेको छ । –राससकाे सहयाेगमा

प्रतिक्रिया