दाहाल–नेपाल समूह संघर्ष समितिको आपत्कालीन बैठक बस्दै
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको संघर्ष समितिको आपत्कालीन बैठक बस्ने भएको छ ।
बैठक बुधबार दिउँसो १२:३० बजे जनसंगठनको कार्यालय, पेरिसडाँडामा बस्ने समूहका नेता लीलामणि पोखरेलले जानकारी दिए । ‘हाम्रो संघर्ष समितिको आपत्कालीन बैठक बस्दैछ’, नेता पोखरेलले मकालु खबरसँग भनेका छन्, ‘संवैधानिक निकायका पदाधिकारीहरुको शपथसँग हाम्रो असहमति छ । यसकै विषयमा विभिन्न प्रोटेस्ट् गर्ने विषयमा आजको बैठकमा छलफल हुनेछ ।’
यस्तै नेता पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले शृङ्खलाबद्ध रुपमा संविधान मिच्ने काम गरेको बताए । ५ पुषमा संसद् विघटन गरेर संविधानमा मिच्ने काम शुरु गरेका प्रधानमन्त्रीले संवैधानिक निकायमा नियुक्तिहरुको शपथ ग्रहण गराएर अर्को पटक संविधान मिच्ने काम गरेको नेता पोखरेलको तर्क छ ।
नेता पोखरेलले यसलाई निरङ्कुशताको अभ्यास भनेका छन् । उनको भनाइ छ, ‘प्रधानमन्त्रीले निरङ्कुशताको अभ्यास गरिरहेका छन् ।’