मुलुकलाई संविधानसम्मत् ढंगले हिँडाउन आमहड्ताल : शशी श्रेष्ठ
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समुहकी नेतृ शशी श्रेष्ठले मुलुकलाई संविधानसम्मत् ढंगले अगाडी हिँडाउनको लागि आमहड्ताल गरिएको बताएकी छिन् ।
नेतृ श्रेष्ठले नेकपाले गरेको आमहड्तालमा कोटेश्वर चोकमा सहभागी हुँदै मुलुकलाई संविधानसम्मत् ढंगले अगाडी हिँडाउनको लागि आमहड्तालको आह्वान गरिएको बताएकी हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अधिकार प्राप्त व्यक्ति नभएको भन्दै ओलीको स्वेच्छाचारिता र निरंकुशताबाट बचाउनुपर्ने अवस्था आएको पनि बताइन् ।
नेतृ श्रेष्ठले प्रधानमन्त्री ओलीले संवैधानिक आयोगका पदाधिकारीहरुलाई गैरसंवैधानिक हिसाबले नियुक्ति गरी संविधानलाई अर्को चुनौती दिएको बताइन् । संविधान अनुरुप मुलुक नचले देश ठुलो दुर्घटनामा जाने र समाज विभक्त भई द्वन्द्वमा जाने उनकाे तर्क छ । दुर्घटनाबाट बचाउन संविधानलाई कार्यान्वयन गरेर जानुपर्ने उनकाे भनाइ छ ।