आक्रामक बन्दै दाहाल-नेपाल समूह, दुई सवारीसहित चिया पसलमा तोडफोड
विराटनगर । सत्तारूढ नेकपाकाे दाहाल-नेपाल समुहका नेता कार्यकर्ताले विराटनगर महानगरपालिका अगाडी रहेको एक चिया पसलमा तोडफोड गरेका छन् । नेकपा दाहाल-नेपाल समुहका नेता तथा पूर्व सांसद शिव कुमार मण्डल नेतृत्व र जिल्ला सचिव गणेश उप्रेती समेत रहेको टोलीले चिया पसल तोडफोड गरेको हो ।
विराटनगर महानगरपालिका वडा नम्बर २ स्थित महानगरको कार्यालय अगाडि रहेको प्रमोद चिया पसलमा आन्दोलनकारीहरूले तोडफोड गरेका हुन् । पहिला चिया पसल खोल्न भनिएको तर पछि तिनै व्यक्तिले तोडफोड गरेकाे पीडितले बताएका छन् ।
करिब २५ जनाको समूहले पसलमा एक्कासी तोडफोड गरेको पीडित कविता सहनीले बताइन् ।
मध्यान्ह अघिसम्म नरम देखिएका बन्दकर्ता त्यसयता बन्दलाई कडाई गर्न सक्रिय भएर लागेका छन् । दाहाल नेपाल समूहका कार्यकर्ताले विराटनगरमा बा १६ च ४४०४ नम्बरको कारमा समेत तोडफोड गरेका छन् । उता शनिमन्दिरमा विराटनगर महानगरपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष विजय कामतले प्रहरीमाथि हातपात गरेका छन् ।
उछृंखल गतिविधि गर्ने केही ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड गरिएपछि जिल्ला सदस्य पारुल क्षेत्री, मिरा दाहाल, महानगर सचिवालय सदस्य सारदा मैलानीसहितलाई नियन्त्रणमा लिइएकाे छ ।