आमहड्ताल सफल भएको नेपाल–दाहाल पक्षको दाबी

काठमाडाैं । सत्तारूढ नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आमहड्ताल सफल भएको दाबी गरेको छ ।

आज (बिहीबार) प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशताविरुद्ध आह्वान गरिएकाे आमहडताल सफल नेपाल-दाहाल पक्षले दाबी गरेकाे हाे । बन्द सफल पार्न सहयोग गरेको भन्दै नागरिकलाई धन्यवाद दिँदै साे समूहले मुठभेड निम्त्याउन सरकारले गरेको प्रयास असफल पारिएको समेत दाबी गरेकाे छ ।

‘शान्तिपूर्ण रुपमा आयोजित आमहडताललाई बदनाम गर्न, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउन सरकारले गरेको हर्कतलाई हाम्रो पार्टी र जनताको सचेत प्रयत्नमार्फत असफल पारिएको छ’, बिहीबार साँझ जारी विज्ञप्तिमा भनिएकाे छ, ‘गृह मन्त्रालयका नाममा वक्तव्य जारी गर्दै जनतालाई आपसमा भिडाउने दुराशयुक्त प्रयत्नका बावजुद आजको आम हडताल शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।’

 

प्रतिक्रिया