वीरका आवासीय चिकित्सक र अस्पताल प्रशासनबीच चारबुँदे सहमती
काठमाडौं । कोभिड–१९ जोखिम भत्ताको माग गर्दै आन्दोलनरत् वीर अस्पतालका आवासीय चिकित्सकले जाेखिम भत्ता पाउने भएका छन् । वीर अस्पतालका आवासीय चिकित्सक र अस्पताल प्रशासनबीच जाेखिम भत्ता उपलब्ध गराउने सहमती भएकाे हाे ।
अस्पतालले बिहीबार साँझ चारबुँदे सहमती गर्दै जाेखिम भत्ता उपलब्ध गराउने भनेपछि चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् । सहमती अनुसार काेभिड उपचारमा खटिएका आवासीय चित्सिकहरुले सबै महिनाको जोखिम भत्ता निश्चित मापदण्डका आधारमा पाउनेछन् । फागुन महिनाभित्रमा वीर अस्पताल प्रशासनले डिउटी रोस्टर र निर्देशिकाको आधारमा रेजिडेन्ट डाक्टरहरुले २०७६ चैतदेखि २०७७ माघसम्म पाउनुपर्ने कुल जोखिम भत्ता हिसाब गरी अद्यावधिक गर्ने र त्यसैको आधारमा बाँकी भत्ता उपलब्ध गराउने अस्पतालले जनाएकाे छ ।
यस्ता छन् चार बुँदे सहमती
१. चैत महिनादेखि आजका मितिसम्म सधैँ अग्रपंक्तिमा रहि कोभिडका बिरामीको उपचारमा खटिएका रेजिडेन्ट चिकित्सकहरुलाई नेपाल सरकारको निर्देशिकाबमोजिमको सम्पूर्ण भत्ता उपलब्ध गराउन वीर अस्पताल प्रशासन प्रतिबद्ध छ । हाल मन्त्रालयबाट प्राप्त बजेट पूर्ण रुपमा भत्ता उप्लब्ध गराउन अपर्याप्त रहेको हुँदा तत्कालको लागि निश्चित मापदण्डको आधारमा रेजिडेन्ट डाक्टरलाई बजेटको परिधिभित्र रहि केही भत्ता प्रदान गर्ने । साथै, थप बजेट प्राप्त हुँदासाथ रेजिडेन्ट डाक्टरहरुलाइ पहिलो प्राथमिकतामा राखी बाँकी रकम उप्लब्ध गराउने ।
२. फागुन महिनाभित्रमा वीर अस्पताल प्रशासनले डिउटी रोस्टर र निर्देशिकाको आधारमा रेजिडेन्ट डाक्टरहरुले २०७६ चैतदेखि २०७७ माघसम्म पाउनुपर्ने कुल जोखिम भत्ता हिसाब गरी अद्यावधिक गर्ने र त्यसैको आधारमा बाँकी भत्ता उपलब्ध गराउने ।
३. अब उप्रान्त जोखिम भत्ता र कोभिड व्यवस्थापनसम्बन्धी अस्पतालले गर्ने हरेक महत्वपूर्ण निर्णयमा आरएनले तोकेको प्रतिनिधिको अनिवार्य सहभागिता सुनिश्चित गर्ने ।
४. आन्दोलनरत् रेजिडेन्ट डाक्टरहरुले आजैका मितिदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने ।