बाबुद्वारा गोली प्रहार गरी छोरीको हत्या

काठमाडौँ । बैतडीमा बाबुको गोली प्रहारबाट छोरीको मृत्यु भएको छ । जिल्लाको पुरचौर्डी नगरपालिका १० विजयपुरको धौबिसैका करिब ५० वर्षीय धनबहादुर महराले आफ्नै २० वर्षीया छोरी बेलमती महरा (धामी)माथि गोली प्रहार गरी हत्या गरेका हुन् ।

शनिबार साँझ ५ बजेतिर सामान्य घरायसी विवादमा धनबहादुरले छोरीको पिठ्युमा गोली हानी जंगलतर्फ भागेका थिए । गोली लागेर घाइते भएकी बेलमतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

उनका अनुसार घटना लगत्तै पुरघाट प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा खटिएको छ । जिल्लाबाट थप टोलीसमेत परिचालन गरिएको प्रहरी प्रवक्ता धामीले बताए । मृतकका १ वर्षका छोरा पनि रहेका छन् ।

घटनापश्चात फरार रहेका महराको खोजीकार्य तीब्र पारिएको छ । विवाहित छोरी एक महिनादेखि माइतमै बसीरहेकी बुझिएको छ । महराले छोरीमाथि किन गोली चलाए भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया