विमानस्थलभित्र कार्यकर्ता लैजान प्रतिबन्ध लगाइने

विराटनगर । विराटनगर विमानस्थलभित्र  दलका कार्यकर्तालाई लैजान कडाई गरिने भएको छ । दलहरुबिच बढ्दै गएको असमझदारीले विमानस्थलमा सुरक्षा चुनौती थपिने निष्कर्ष निकाल्दै अब विमानस्थलमा भिआईपीको स्वागतमा जाने जोकोहीलाई प्रवेशमा कडाई गर्न लागिएको नागरिक उड्यन प्राधिकरण विराटनगरका प्रमुख उत्सव खरेलले जानकारी दिए ।

संवाद समुह मोरङले गरेकाे संवादमा खरेलले २०७१ साल साउन ५ गतेको राजपत्र र २०७६ बैशाख १६ पछिको परिपत्रले विमानस्थलमा भिआईपीकाे स्वागतको लागि ५ जना मात्र जान मिल्ने भनी उल्लेख भएकोले त्यसलाई पुर्ण कार्यान्वयन गर्न लागिएको जानकारी दिए । संवादमा मोरङका राजनीतिक दल र प्रशासनका प्रतिनिधिले भिड व्यवस्थापनका लागि कडाई गर्नुपर्ने सुझाब दिएका थिए ।

नेपाल सरकारले जारी गरेको राजपत्रमा प्रकाशित भएको भन्दा अहिले केही परिमार्जन भएर आएको र दलहरुसँगकाे सहमति बमाेजिम त्यसलाई कार्यान्वयनमा कडाई गरिने खरेलकाे भनाइ छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले भिआईपीको पहिचानमा नै समस्या भएपछि कडाई गर्न लागिएको बताए । ‘स्वागतका लागि भिआईपीमा जाने भन्दा पनि सेल्फी खिच्न भित्र जाने गरेको पाइएको छ । त्यसलाई व्यवस्थापन गर्न कुनै समस्या छैन, कडाईका साथ कार्यान्वयन गर्छाैँ’, उनले भने ।

स्वागतको लागि धेरै जना भीआईपी कक्षमा जाँदा भीआईपीलाई नै न्याय गर्न नसकेको जस्तो देखिएकोले त्यसको लागि दलहरुले सहयोग गर्नुपर्ने उनकाे भनाइ छ ।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले भिआईपी कक्ष नै साँघुरो रहेका कारण भिड बढ्दा जुनसुकै बेला जस्तोसुकै घटना हुनसक्ने भएकोले त्यसलाई कडाई गर्नुपर्ने बताए । ‘विराटनगर विमानस्थलको भिआईपी कक्षले १५ जना भन्दा बढी धान्न सक्ने अवस्था छैन । भिआईपीको स्वागतमा धेरै नेता तथा कार्यकर्ता जाँदा त्यहाँ निगरानीमा नै समस्या हुने भएकोले कडाई गर्नुको विकल्प छैन’, उनले भने ।

नेकपाका नेता ऋषिकेश पोखरेललले तोकिएको मापदण्डभन्दा बाहिर कार्यकर्ता लैजाने बारेमा दलहरुले नै प्रतिबद्धता जनाए अनुसार कार्यान्वयनमा लैजानुपर्ने बताए । ‘विमानस्थलमा तोकिएको मापदण्डभित्र रहेर नै स्वागतको लागि लगिएको छ । कहिलेकाँही बढी भएको हुनसक्छ, अब तोकिएभन्दा बढि नलैजान प्रतिबद्ध हुनैपर्छ’, उनले भने ।

नेकपाका नेता महेश रेग्मीले केन्द्रिय नेताहरुले नै भिआईपीमा स्वागतको लागि भिड खोज्ने गरेको बताए । ‘कतिपय नेताहरु आफैँ आउँदै छु भन्छन्, कतिपय कार्यकर्ताहरु नेताको आसपास पुग्दा सुविधा पाईन्छ भन्ने लोभमा देखिन्छन्,’ उनले भने, ‘गेटमा नै रोक्ने हो भने सबै समस्या समाधान हुन्छ ।’

सबै दलमा कार्यकर्ता चिढ्याउनु हुन्न भन्ने खालका कुराले पनि भिड बढेको उनको ठहर छ । प्रशासनले गरेको कडाईलाई दलहरुले पनि सहयोग गरेर कार्यान्वायनमा जानुपर्ने रेग्मीको भनाइ छ ।

नेपाली कांग्रेसका नेता एवम् जिल्ला सचिव मोदराज घिमिरेले कार्यकर्ता बढी भएका कारण कुनै समय प्रहरीसँग झगडा नै गर्नुपर्ने अवस्था आएको सुनाए । ‘विमानस्थलमा धेरै नेता कार्याकर्ता जाँदा हामीलाई पनि अप्ठेरो भएको छ,’ घिमिरेले भने, ‘अब सबै दलले कडाईका साथ कार्यान्वायनमा जाँदा नेपाली कांग्रेस पनि कार्यकर्ता नल्याउन सहमत छ ।’

उनले यसअघि भएको निर्णयलाई केही महिना कडाईका साथ कार्यान्वयन गरिएको बताउँदै आगामी दिनमा पनि त्यसलाई कार्यान्वयन गरेर ५ जना मात्र लैजान आफूहरु तयार रहेको बताए । घिमिरेले कतिपय अवस्थामा कहिलेकाँही कार्यकर्ता धेरै जाँदा बाहिर नै बस्ने प्रतिक्षालयको व्यवस्थापन गर्न नागरिक उड्डयन प्राधिकरणलाई सुझाव दिए ।

राजपा समाजवादीका अध्यक्ष राजकुमार यादवले भीआईपी व्यवस्थापन गर्न नसक्दा कतिपय अवस्थामा जिल्ला अध्यक्षहरुलाई निक्कै अप्ठेरो हुने गरेको सुनाए । ‘५ जना भन्दा बढी नलैजाने सबैले प्रतिबद्धता जनाएका छौँ । सबै दलले कार्यान्वयन गर्ने हो भने समस्या हुँदैन’, यादवले भने ।

राप्रपाका नेता दिनेश साह र टंक गुरागाईँले भिआईपीको सुरक्षाको दृष्टिले निक्कै समस्या रहेको औँल्याए । ‘भिआईपीको सुरक्षासँगै भित्र हुने भिड व्यवस्थापनका लागि हामी सबै लाग्छौँ । सबै मिलेर कार्यान्वायनमा जाने हो भने अहिलेको जस्तो समस्या आउँदैन ।’

प्रतिक्रिया