नेपालमा प्रतिबन्धित १० लाख बढिको औषधी बरामद, एकजना पक्राउ
विराटनगर । नेपालमा प्रतिबन्ध लगाइएको ठुलो परिमाणको अवैध औषधी मोरङ प्रहरीले बरामद गरेको छ ।
विराटनगर नगरपालिका-५ स्थित न्यूरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्धित १० लाख भन्दा बढिको औषधीहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले रामप्रसाद साहको घरमा डेरा गरी बस्ने विकास मण्डल र उनका भाई बिक्रम मण्डलको कोठाबाट ती औषधी बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले बताए ।
उनीहरुको कोठाबाट ७९ ब्राण्डका नेपालमा प्रतिबन्धित रहेका औषधी बरामद गरिएको थापाले जानकारी दिए । डिएसपी थापाका अनुसार ती औषधीको मुल्य १० लाख ३ हजार १ सय ८० रुपैयाँ पर्छ ।
साथै प्रहरीले कोठाबाट औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने एचपी कम्पनीको कलर प्रिन्टर समेत नियन्त्रणमा लिएको छ । कोठामा रहेका विक्रम मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसरी बरामद गरिएको औषधी र पक्राउ परेका विक्रमलाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाईएको छ ।
उनीहरुले नेपालमा प्रतिबन्धित औषधी नेपाल ल्याउने र अर्कै स्टीकर लगाएर बजारमा पठाउने गरेको प्रहरीले जनाएको छ।