पार्टी जोगाउन पद छाेडेकाे हुँ : प्रचण्ड
काठमाडौं । सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी जाेगाउन आफूले पद छोडेको दाबी गरेका छन् । प्रचण्ड-नेपाल समूह निकट अखिल नेपाल शिक्षक संघको प्रथम राष्ट्रिय परिषदको बैठकमा प्रचण्डले पद त्याग्नुकाे कारण उल्लेख गरेका हुन् । आफू पदकाे लोभी नभएको उनकाे जिकिर छ ।
बैठकमा उनले भने, ‘म पदकाे लाेभी हाेइन । बरू त्यागी नेता हुँ । मैले पार्टी बचाउनकै लागि पद त्यागिदिएँ ।’
यस्तै उनले देशको राजनीतिक वातावरण बिस्तारै आफ्नो पक्षमा बन्न थालेको पनि दाबी गरे । २८ गतेको सभाले याे पुष्टि गरेकाे उनकाे भनाइ छ । ओलीले दाबी गरेजति कार्यकर्ता नारायणहिटी संग्राहलयमा आयोजित सभामा उपस्थित नभएको भन्दै अहिले सो समूह निराश भएको पनि उनले बताए ।
‘ओलीजीले धाकधक्कु लगाए पनि जनताले साथ दिएनन् । उनीहरुको सुरक्षा निकायले पनि ३५ हजार बढी थिएनन् भनेपछि उनीहरू बिच नै विवाद सुरू भएकाे छ । ओली समूह डिफेन्सिभ हुनेतिर गइसके,’ प्रचण्डले भने ।