बैठक भन्यो कि केपी ओली फेन्ट !
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगलाई धम्क्याउने काम नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराएका छन् ।
बिहीबार काठमाडाैंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दे उनले आयोगमा गएर ‘म नै हो पहिलो अध्यक्ष’ भन्दै आयोगलाई अन्यथा निर्णय नगर्न धम्कि दिएको प्रसंग उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएका हुन् ।
मन्त्रीहरुको अधिकार सबै खोसेर आफ्नो हातमा लिएको प्रधानमन्त्रीले त्यही हैसियतमा संवैधानिक र स्वतन्त्र आयोगहरुलाई थर्रकाउने काम गरेको भन्दै उनले त्यसो नगर्न खबरदारी गरे । निर्वाचन आयोगलाई प्रधानमन्त्रीको दबाबमा नपरि विद्यमान कानुन र विधान अनुसार निर्णय गर्न पनि उनले आग्रह गरे ।
उनले भने, ‘आधिकारिताको विवादमा पस्न पाउदैन भनिएको छ । कानुनमा एउटै पार्टीभित्र दलको नाम, निर्वाचन चिन्ह र छापको बारेमा विवाद आयो भने बहुमतको निर्णयलाई हामी स्वीकार गर्छाैँ भनेर निर्वाचन आयोगको कानूनमा लेखेको छ ।’
उनले आफूहरु लगायत नागरिक समाज स्वतन्त्र निर्णय गर्ने संवैधानिक निकायको पक्षमा रहेको भन्दै निर्धक्क भएर निर्णय गर्न आयोगलाई आग्रह गरे । उनले भने, ‘जसलाई कम्युनिष्ट पार्टीको नाम मन पर्दैन । जसलाई पार्टीको बैठक भन्ने बित्तिकै रिंगटा लाग्छ । बैठक भन्यो कि केपी ओली फेन्ट हुने । त्यो मान्छे कम्युनिष्ट पार्टीको नेता हुन सक्छन् ? अहिले पनि निर्वाचन आयोगलाई थर्रकमान गर्न खोजिरहेका छन् । खबरदार । हामी साथमा छौ तपाईहरुको । हामी जीउँदै छौ । हामी यहीँ छौ ।’
पार्टीको विधानमा अध्यक्ष पहिलो नलेखेको भन्दै उनले ओली आफैले आफुलाई पहिलो भन्दै हिँडेको दाबी गरे । उनले भने, ‘ पहिलो अध्यक्ष ओली गुटको होला । बालकोटको होला । तर नेकपाको पहिलो अध्यक्ष होइन । कसैले देओस् नदओस् ताज पहिरिएर हिँडेका छन् ।’