नाम निकाल्ने धुनमा ‘टपर’ बनेका सुमन
- लक्ष्मण कार्की
काठमाडौं । किन भन्ने थाहा थिएन तर इन्जिनियर बन्ने सपना सानैदेखि थियो । त्यसका लागि इन्जिनियरिङ् पढ्नुपर्छ भन्ने उनले अलि पछि बुझे ।
३.६५ जीपीएसहित एसईई पास गरेपछि उनी सोलुखुम्बुबाट काठमाडौं आए । जहाँ उनका बा बस्थे । आफू र बहिनीलाई पढाउने खर्च जोरजाम गर्न बा परिवार छोडेर काठमाडौंमा दु:ख गरिरहेका छन् भन्ने उनी बुझ्ने भइसकेका थिए ।
प्लस टुमा विज्ञान विषय लिएर पढ्न थाले । सबै ठीकठाकै थियो । एउटा कुराले भने उनलाई खुब पिरोल्थ्यो । जब कलेजलाई रकम बुझाउनुपर्थ्यो, उनलाई आफ्नो कारण बालाई धेरै दु:ख गर्नुपरिरहेको छ भन्ने लाग्थ्यो ।
बालाई भन्थे ‘मैले अरु विषय पढेको भएपनि तपाईँले यति धेरै रकम जुटाउनुपर्ने थिएन नि है ।’ तर इन्जिनियर बन्न प्लस टुमा साइन्स बाहेक अरु संकाय पढेर हुँदैन थियो ।
इन्जिनियर पनि बन्ने खर्च पनि नलाग्ने एउटा तरिका थियो । त्यो हो छात्रबृत्तिमा नाम निकाल्नु । जसका लागि प्रवेश परीक्षामा राम्रो गर्नुपर्थ्यो । बर्षेनी १० हजारभन्दा धेरैजना सहभागी हुने प्रवेश परीक्षाबाट निश्चित कोटामा पर्न निकै कठिन थियो । तर, कठिन कामबाटै आउने नतिजाले त मज्जा धेरै दिन्छ नि ।
नभन्दै भयो पनि त्यस्तै ।
प्रवेश परीक्षा राम्रो भएको थियो । छात्रबृत्तिको कोटामा नाम निस्किन्छ भन्ने ढुक्क लागेको थियो । ‘तर अहिलेको जस्तो नतिजा आउला भन्ने त सोचेकै थइनँ नि’, इन्जिनियरिङ अध्ययन संस्थान पूल्चोकले लिएको यसबर्षको प्रवेश परीक्षामा पहिलो स्थानमा नाम निकाल्न सफल उनले मकालु खबरसँग भने, ‘रिजल्ट हेर्दा त खुशीको सीमै रहेन ।’
यो कुरा हो सुमन तामाङको ।
इन्जिनियरिङ अध्ययन संस्थानले संचालन गरेको प्रवेश परीक्षाका लागि १२ हजार ६ सय ९९ विद्यार्थीले फाराम भरेका थिए । जसमध्ये ६ हजार ७ सय २५ बिद्यार्थी उतीर्ण भए । कम्प्युटर प्रविधिबाट १४ दिनसम्म चलेको प्रवेश परीक्षामा सुमन तामाङले अधिकतम अंकका साथ पहिलो स्थान हासिल गरे ।
१४० पुर्णाङ्कको प्रवेश परीक्षामा सुमनले १३१ दशमलव २ अंक प्राप्त गरेका छन् ।
आफ्नो लगन, अरुको सहयोग
सुमनले सोलुखुम्बुको माउन्ट एभरेष्ट इङ्लिस सेकेन्डरी स्कुलबाट एसईई ३.६५ जीपीएसहित ए प्लस ग्रेडमा पास गरे । त्यसपछि काठमाडौं आए र बालकुमारीको सीसीआरसीमा भर्ना भए ।
सुमनले ११ कक्षामा ३ दबमलव ७८ र १२ कक्षामा मा ३ दशमलव ८५ जीपीए ल्याएका छन् । उनलाई नेपाल युथ फाउन्डेस ( एनवाइएफ) ले कलेजको मासिक शुल्क आधा तिरिदियो । जसले पनि धेरै सहयोग पुगेको सुमनका बुबा पीटी लोप्चनले बताए ।
पीटी पनि छोरालाई इन्जिनियर नै बनोस् भन्ने चाहन्थे । बाबुको रहर र छोराको चाहना मिलेको थियो । ‘नाम निकाल्यो भने जहाँ भएपनि जति खर्च भएपनि इन्जिनियरिङ पढाउने अठोट गरेको थिएँ’, पीटीले भने, ‘तर छात्रबृत्तिमै निकाल्यो सजिलाे भयो ।’
बुबाले गर्वका साथ यो कुरा सुनाईरहँदा छेवैका सुमन मुसुमुसु हाँस्दै बुबाको अनुहारको आभालाई नियालिरहेका थिए ।
कोइश्चन बैंक र अनलाइन अभ्यास उपयाेगी
आफूलाई क्याम्पसले पनि निकै सहयोग गरेको सुमन बताउँछन् । राम्रो अंक ल्याएका विद्यार्थीलाई क्याम्पसले थप कक्षा दिने र आन्तरिक प्रतिस्पर्धा गराउनुका साथै बाहिरबाट श्रोत ब्यक्तिहरु लगेर हौसला बढाउने र आइडिया दिने काम गरेको उनले बताए ।
तयारी कक्षा लिनुपर्छ भन्ने चर्चा साथीहरुबीच चल्यो । उनी यसबारे बुझ्न पीईए इन्टिच्युट थापाथली गए । तर, थप पैसा तिर्नुपर्ने भएकाले उनलाई कक्षा लिन भने मन लागेन । त्यहाँ सबै कुरा बुझे, पुस्तक किने र फर्किए । ‘कलेजको फि पनि धेरै थियो यता प्रिपरेशन क्लासको पनि फि तिर्न बुबालाई भन्न मन लागेन’ सुमन भन्छन्, ‘त्यसैले किताब मात्र लिएर गएँ र कोठामै पढ्न थालेँ ।’ त्यहाँका कोइश्चन बैंकहरुका प्रश्न समाधान गरे । त्यति मात्र होइन पीईए कै अनलाइन ‘इन्जिनियरिङ् डोट’मा अभ्यास गर्न थाले । लकडाउनका कारण पनि घरैबाट पढ्ने वातावरण बनेको थियो । ‘कोइश्चन बैँक र डोटको गरि २२–२३ हजार प्रश्नहरु समाधान गरें होला’ उनले सुनाए । हुन पनि उनी घरमा अति नै दत्तचित्त भएर पढ्ने गरेको बुबा पीटीको भनाइ छ । ‘नपढ भन्दा पनि नमान्ने, जतिबेला पनि निहुरिएर पपिढरहने, शरीरै कुप्रो होला भन्ने पिर भयो, अनि एउटा टेबुल ल्याइदिएँ ।’ मकालु खबरसँग उनले भने ।
उनी हरेक शनिबार अभ्यास परीक्षा भने पीईए जान थाले । पहिलो हप्ता नै उनी शिर्ष १० मा परे । अर्को हप्ता त पहिलो स्थानमै उनको नाम आयो । ‘त्यसपछि त अझै हौसला बढ्यो’ सुमनले भने, ‘अनि त कोर्षको भन्दा धेरै प्रिपरेशनतिर ध्यान दिन थालें ।’ अभ्यास परीक्षाले समय ब्यवस्थापन गर्न सिकाएको उनले सुनाए ।
अब सिभिल पढ्ने
सुमनले पहिलो स्थानमा नाम निकालेका कारण उनले इन्जिनियरिङको जुनसुकै विधा पनि छान्न पाउँछन् । सुमनले अब सिभिल इन्जिनियरिङ पढ्ने तय गरिसकेका छन् ।
सिभिल नै किन त ? ठ्याक्कै यहि भन्ने कारण त केही छैन तर इन्जिनियरिङभित्र पनि सिभिल राम्रो हो भन्ने उनको बुझाइ हो । सिभिल इन्जिनियर बनेर आफ्नाे क्षेत्रमा याेगदान गर्ने याेजना उनले बनाएका छन् । ‘देशले यत्रो लगानी गरेर पढाउन लागेको छ, देशकै लागि योगदान गर्ने’ उनले भने ।