‘श्वेता-श्री’को प्रेमको खिल्ली नउडाऊँ
- सृष्टि नेपाल
नायिकाका रुपमा श्वेता खड्का मलाई मन नपर्ने नायिका हुन् । उनको अभिनय पनि उम्दा लाग्दैन मलाई । मेरो नातागोतामा पनि पर्दिनन् उनी । तर एक नारी भएका कारण नारी भावनासँग टाढैबाट सही, जोडिएको भने पक्कै छु । त्यसकारण पनि उनको दोस्रो विवाहबारे उठेका नकारात्मक टिप्पणी सुहाउँदिलो लागेको छैन मलाई ।
श्वेताले निर्माणकाे जिम्मेवारी लिएकाे माझी बस्तीबारे बहस त उठ्नैपर्ने थियो । किनकी त्यसबारेको भ्रम नागरिकसामु निवारण हुन जरुरी थियो । श्वेताले जिम्मेवारी लिएको बस्ती समयमै सम्पन्न नहुँदा नागरिक आक्रोशित हुन स्वभाविक पनि हो । दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ बितेर गएपछि उनका फ्यानहरुले थप सम्मान दिँदै आएका थिए श्वेतालाई । आशा गरेका व्यक्तिले गलत बाटो रोजे कि भनेर नागरिक चनाखो हुनु, उनीहरुलाई सही मार्ग पहिल्याउन सुझाव दिनु जायज हो ।
श्वेताले माझी बस्तीमा पसेर त्यहाँका नागरिकलाई सपना बाँड्दै गर्दा केही अन्याय गरेको भए उनले सजाय पाउलिन् अथवा हिसाबकिताब सार्वजनिक गर्लिन्, गर्नैपर्छ । तर बस्तीको बहसका नाममा श्रीसँगको प्रेम, वियोग र दोस्रो विवाहका विषय जोडेर उनलाई निच देखाउन खोज्नुले नारीलाई अहिलेपनि हाम्रो समाजले आफ्नो ठान्न सकिरहेकाे छैन भन्ने देखाउँछ ।
श्रीकृष्ण श्रेष्ठले आफू बिरामी भएका कारण विवाह नगर्ने भन्दाभन्दै श्वेताले सम्पत्ति हडप्न जबरजस्ती विवाह गर्न लगाएको, श्वेता श्री फाउन्डेसन मार्फत् दिवंगत श्रीकृष्णको नाम बेचेर अनुदान एवम् सहयोग असुलेको, श्रीकृष्ण विना फिल्म क्षेत्रमा श्वेताको अस्तित्व नै नभएको, श्रीलाई श्वेताले फसाएको, श्रीकृष्णको वियोगमा बगाएका आँशु सबै देखावटी हुन्, लगायतका टिप्पणी गर्दा श्वेतालाई कति आघात पुग्न सक्छ ? कसैले फिटिक्कै सोचेको देखिँदैन ।
यस्ता अभिव्यक्ति र टिप्पणीले श्वेतालाई मात्रै होइन, श्रीमानको देहावसानपछि दोस्रो विवाह गरेका वा गर्ने मन बनाइरहेका प्रत्येक महिलाको भावनामा ठेस पुगेको छ । विवाहको एक महिना नपुग्दै श्रीमान् गुमाउनुको पीडासँगै समाजको लाञ्छना सहेर जीवन जिउन कति पीडादायी हुन्छ, त्यो एकल जीवन बिताइरहेका नारीले मात्रै महशुस गर्न सक्ने विषय हो । त्यसैले होला यो विषयमा मानिसले कर्णकटु टिप्पणी गरेका ।
वास्वतमा श्वेताले श्रीलाई हाेइन, श्रीले श्वेतालाई प्रेम र विवाहको प्रस्ताव राखेको उनी निकटहरुलाई थाहा छ । यदि श्वेताले नै प्रस्ताव राखेको भएपनि श्रीकृष्णले उनीसँग जीवन बिताउन चाहँदैन थिए भने उनले प्रस्ताव अस्वीकार गर्न सक्थे । दुवैबीच प्रेम थियो र त विवाहका लागि दुवै राजी भए ।
‘कहाँ भेटिएला’ चलचित्र हेरेपछि दर्शकले पनि श्वेता र श्रीकृष्णलाई रियल लाइफमै जोडी बनेको देख्न चाहेका थिए । उनीहरुको जोडी निकै रुचाइएको थियो, त्यसैबखत अंकुराएकाे हो प्रेम पनि ।
उनीहरु एक अर्कालाई फसाएर आफ्नो स्वार्थ पुरा गर्ने नियतले प्रेममा परेका होइनन्, जुन उनीहरुको पुराना अन्तर्वार्ताहरु हेर्दा छर्लङ्गै हुन्छ । एक अन्तर्वातामा श्रीकृष्णले भनेका छन्- ‘कहाँ भेटिएला चलचित्र बनाउने बेलामा मैले खोजेको क्यारेक्टर श्वेतामा पाएँ र सेलेक्ट गरेँ । त्यसै क्रममा उहाँ कुनै कम्पनीमा जब गर्नुहुन्छ भन्ने थाहा पाएँ । त्यतिबेला उहाँमा थप ट्यालेन्ट देखेँ मैले । त्यसपछि हामी संगोलमा बिजनेस गर्न थाल्यौँ, सफल पनि भयाैँ ।’
श्रीकृष्णले थपेका छन्, ‘कोहिनुर बनिसकेपछि घरबाट मलाई बिवाहका लागि प्रेसर आउन थाल्यो । कि आफैँ छानेर गर, कि हामीले छानेको केटीसँग विवाह गर भनेर अभिभावकले विवाहमा जोड दिन थाल्नुभयो । त्यसपछि अफिसमा श्वेता र मैले सल्लाह गर्यौँ । तिमीले पनि एकदिन विवाह त गर्नैपर्छ, मैले पनि विवाह गर्नैपर्छ । के छ त आफ्नो विचार ? भनेर कुरा राखेँ । त्यसपछि दुवैको सहमति भयो र कुरा अगाडी बढ्यो ।’
यसबाट पनि उनीहरुको प्रेम र विवाहको निर्णय स्वेच्छिक हो भन्ने देखिन्छ । त्यसमाथि श्रीकृष्णले आफू बिरामी छु भन्ने थाहा हुँदाहुँदै श्वेतासँग विवाह गर्नु गलत कि श्वेताले श्रीको रोगबारे थाहा हुँदाहुँदै श्रीलाई साथ दिन र सहारा बन्न तयार हुनु गलत ? यदि श्रीकृष्ण बिरामी भएका बेला श्वेताले साथ छोडेकी हुन्थिन् भने पनि श्वेतामाथि नै खनिन्थ्यो यो समाज । ‘श्वेताले स्वार्थी प्रेम गरेको रहेछ’ भनेर उनीमाथि नानाथरी टिप्पणी हुन्थे ।
श्वेता पढेलेखेकी, आफ्नो खुट्टामा उभिएकी एक सक्षम महिला हुन् । उनी आफ्नै कमाइमा मोजमस्ती गर्न सक्छिन् । श्रीकृष्णसँग भेट्ने समयमा पनि उनी काम गर्दै पढाइ अघि बढाइरहेकी थिइन् । श्वेताको लगनशीलता, सरलता र मेहेनत देखेर नै आफू श्वेताप्रति आकर्षित भएको श्रीकृष्णले पुराना अन्तर्वातामा भनेका छन् ।
श्रीकृष्णको देहावसानपछि स्वेताले उनकै तस्विर हेरेर जीवन बिताउँछु भनिरहँदा यही समाज हो उनलाई दोस्रो विवाहका लागि प्रोत्साहन गर्ने । जब दोस्रो विवाह गरिन्, अनि सुरु भयो विरोध । वास्तवमा हाम्रो समाज के चाहन्छ ? बुझ्नै कठीन ।
अर्काे कुरा, के महिलाले नाम, दाम कमाएको पुरुषसँग प्रेम गर्नै नहुने हो त ? यदि त्यसो हो भने खान्दानी पुरुषजति सबै अविवाहित बसे भइगयो । पढेलेखेकी महिलाले पढेलेखेको, आफ्नो खुट्टामा उभिएको पुरुषसँग विवाह गर्नु यदि गलत हो भने पुरुषले पनि प्रेम र विवाहका लागि रुपवान, सरल र सुशिल युवती रोज्नु गलत हाेला नि !
आजभोलि त पुरुषले पनि आफूसरह पढेलेखेकी, आफ्नो खुट्टामा उभिएकी महिला खोज्छन् भने महिलाले पनि त आफु अनुकुल जीवनसाथी रोज्न पाउनुपर्छ नि, होइन र ? यसमा किन राेइकराइ ?
अनि रह्यो श्रीकृष्णको नाम जोडिएको श्वेता श्री फाउन्डेसन र श्रीको नाम बेचेर सहानुभूति कमाउन खोजेको कुरा । परिवारका जुनसुकै सदस्य गुमाउँदा पनि परिवारले उनीहरुको नाममा दानधर्म तथा सहयोग गर्ने, संस्था खोल्ने गर्छन् । श्रीकृष्ण त श्वेताका श्रीमान् हुन् । के उनले श्रीलाई सम्झिने, उनको नाममा कसैलाई सहयोग गर्ने अधिकार छैन ? छ, पक्कै पनि ।
श्रीकृष्णका कुरा कोट्याएर श्वेताका आँशु बेच्ने काम पनि एक समय निकै भएको थियो । सामाजिक सञ्जाल र युट्युबहरुमा दिवंगत श्रीका कुरा कोट्याइँदैन थियो भने श्वेतालाई पनि खाटो बस्दै गरेको घाउ कोट्याएर आँशु बगाउने रहर थिएन होला नि । आफ्नो पहिचानमा खडा भएकी महिलालाई ‘विचरा’ को पात्र बनाउन हामी किन लागि परेका हुन्छौँ ?
श्वेताको विवाह खर्चका कुरा पनि आएका छन् । हुन त उनले विवाह गर्ने लगानी माझी बस्तीमा गरेको भए सर्वोत्तम नै हुने थियो । तर विवाह हो, जहाँ हरेक गतिविधिका लागि दुई पक्षको मञ्जुरी आवश्यक छ । केटापक्षको रहर हुन सक्छ ‘धुमधामको बिहे’ । यद्यपी माझी बस्तीका लागि सहयोग माग्दै गर्दा श्वेताले यस विषयमा पुर्नविचार भने गर्नुपर्थ्याे । यो विषयमा सवाल उठ्नु केही हदसम्म जायज देखिन्छ, याे नागरिककाे अधिकार पनि हाे ।
तर माझी बस्तीको विषयका बिचमा श्वेता र श्रीकृष्णको प्रेम नंग्याएर कसैको प्रेमको रमिता नबनाऔँ ! उनको नीजि जीवनलाई नीजि तरिकाले जिउन दिउँ । नानाथरीका अशोभनीय आरोप लगाएर उनकाे खुट्टा नतानाैँ ।
कमाउने, रमाउने र खुशी हुने अधिकार सबैलाई छ । सकिन्छ हौसला दिऊँ, सकिँदैन चुप बसाैँ । तर प्रेमकाे खिल्ली नउडाऊँ ।