ओली समूहको स्थायी समिति बैठक स्थगित
काठमाडौँ । आज (बिहीबार) बस्ने भनिएकाे प्रधानमन्त्री केपी शर्मा ओली पक्षको स्थायी समिति बैठक स्थगित भएकाे छ ।
प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछिको राजनीतिक अवस्था र रणनीतिबारे छलफलका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षीय बैठक डाकिएको थियाे । तर नेताहरूकाे व्यस्तताका कारण आजकाे बैठक स्थगित गरिएकाे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मकालु खबरलाई जानकारी दिए । बैठक कहिले बाेलाउने टुंगाे लाग्न बाँकी रहेकाे उनले बताए ।
बुधबार पनि ओली समूहको स्थायी समितको बैठक बसेको थियो । बैठकमा सर्वोच्चको फैसलालाई सम्मान गर्ने, १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने र केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने लगायतको निर्णय भएको थियो ।
सर्वोच्च अदालतले गएको मंगलबार प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै संसद पुनःस्थापना गर्ने फैसला गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले सर्वोच्चको संवैधानिक इजलासले सरकारको निर्णय बदर हुने फैसला गरेको हो ।