इतिहासले भुलेकी महिला‚ जसले मुसोलिनीमाथि गोली चलाउने साहस गरिन्
घटना त्यो समयको हो‚ जब विश्व फाँसीवादको चंगुलमा फसेको थियो । मनमा लागेका केही शब्द गुनगुनाउन पनि नपाइने त्यो समयमा शासकमाथि सिधा नजरले हेर्दा पनि मृत्युदण्ड पाइने ठूलो डर हुन्थ्यो ।
दिन- ७ अप्रिल १९२६ । स्थान – इटालीको राजधानी रोम।
ठूलो भीडको बीचमा उभिएर एक जना शासकजस्तो देखिने कुनै अग्लो व्यक्ति एकनाशले भाषण गरिरहेको हुन्छ । वरिपरि जम्मा भएको भीड उसको हरेक वाक्यमा ताली बजाउँदै चिच्याइरहन्छ ।
ठीक त्यही समयमा कुनै एक आइरिस महिला भायलेट गिबसन त्यही घना भीडलाई छिचोल्दै हान्निएर बीचमा आउँछिन् र ठूलो स्वरमा भाषण गरिरहेका ती बदनाम तानाशाहमध्येका एक बेनिटो मुसोलिनीमाथि लगातार तीन गोली चलाउँछिन् ।
त्यसबेला मुसोलिनी आफ्नो हत्याको यो प्रयासबाट बच्न सफल भएपनि गोलीको छर्राले उनको नाकमा भने चोट पुग्छ । इतिहासमा फासिवादका विरुद्ध संघर्ष गर्ने कयौं व्यक्तिको नामको सूचीबाट गिबसनको यो किस्सा लगभग सबैले भुलिसकेका छन् ।
यो त्यस समयको कुरा हो‚ जब विश्वका खुंखार तानाशाह मुसोलिनीको हत्या गर्नका लागि विभिन्न स्थानबाट विभिन्न मानिसहरूले निरन्तर प्रयास गरिरहेका थिए। त्यसैक्रममा तिनैमध्ये ४ जनाले मुसोलिनीको हत्या गर्ने योजना दरिलो योजना बनाएका थिए। ती ४ जनामध्ये पनि भायलेट तुलनात्मक रूपमा आफ्नो उद्देश्यको सबैभन्दा नजिक पुगेकी थिइन्। सो घटनाको करिब १ शताब्दीपछि आयरल्यान्डको डबलिनमा उनको नामको बोर्ड राख्ने कोशिससमेत भएको छ ।
000
यता मुसोलिनीले सत्ता सञ्चालन गरेको ३ वर्ष पुगेको थियो । उता भायलेटले भने मुसोलिनीको हत्या कसरी गर्न सकिन्छ भन्नेबारे योजना बनाइरहेकी थिइन् । उनलाई लाग्यो- एकान्तमा सेनाले घेरिएका मुसोलिनीलाई मार्नुभन्दा जनसभाका बीचमा गएर सबैका सामुन्ने उसलाई गोली हान्न सहज होला ।
त्यसै योजनाअनुरुप उनी आफ्नो घरबाट एउटा बन्दुकका साथ इटालीको राजधानी रोमतर्फ निस्किइन् । त्यस समय मुसोलिनी रोममा एउटा सभालाई सम्बोधन गरिरहेका थिए । भायलेट रीसले चुरचुर हुँदै त्यो घना भीड छिचोलेर मुसोलिनी अगाडि पुगिन् र एकपछि अर्को गर्दै तीन गोली चलाइन् ।
त्यसपछि लगत्तै त्यहाँ मुसोलिनीको ऊर्जाशील भाषण सुन्न जम्मा भएका उनका समर्थकले भायलेटलाई निरन्तर पिट्न सुरू गरे । त्यही क्रममा प्रहरीले त्यसलाई रोक्दै भायलेटलाई गिरफ्तार गर्यो
त्यसको केही दिनसम्म भायलेटलाई इटालीको एक जेलमा राखियो । त्यसपछि उनलाई बेलायत पठाइयो । सार्वजनिक रूपमा उनीमाथि गरिएको बर्बर हिंसाको विषय बाहिर आउने डरले उनलाई कसैले थाहा नपाउने गरी यो सबै गरिएको भन्ने आशंकाहरू पनि बाहिर आएका छन् ।
पछि भायलेटलाई मानसिक बिरामीहरू राखिने सेन्ट एन्ड्र्यू अस्पतालमा राखिएको थियो । उनले आफ्नो अन्तिम साससमेत त्यही अस्पतालमा फेरेकी थिइन् । सन् १९५६ सम्म आफ्नै मृत्युको दिनसम्म पनि उनी त्यहाँबाट निस्कने याचना गरिरहेकी थिइन् ।
हत्याको प्रयास असफल भएको केही दिनपछि आइरिस फ्री स्टेटका कार्यकारी परिषद्का अध्यक्ष डब्ल्युटी कंस्ग्रेभले मुसोलिनीलाई एक पत्र लेखी हमलाबाट बचेकोमा बधाईसमेत दिएका थिए ।
भायलेट गिबसन‚ एङ्ग्लो-आइरिस ब्यारन एसबोर्न गिबसनकी छोरी थिइन् । ब्यारन एसबोर्न आयरल्यान्डका लर्ड चान्सलरसमेत थिए । ब्यारन एसबोर्नको उपाधी धारण गर्ने उनी नै पहिलो चान्सलर थिए । लर्ड चान्सलरको कार्यालय नै तत्कालीन समयमा देशकै सर्वोच्च कानुनी कार्यालय हुने गर्दथ्यो । अहिले डबलिन सिटीको काउन्सिलले उक्त शहरमा भायलेट गिबसनको नामको बोर्ड राख्न स्वीकृतिसमेत दिइसकेको छ।
इतिहासमा कतै अटाइनन् भायलेट
यो प्रस्तावलाई ल्याउने डबलिन सिटीका स्वतन्त्र काउन्सलर मनिक्स फ्लाइनले भनेका छन्‚ ‘आइरिस र बेलायतको सत्ता सञ्चालनका क्रममा देखिएका केही विषम परिस्थितिका कारण भायलेट गिबसनलाई नजरअन्दाज गरिएको थियो ।’
उनले बिबिसीसँगको कुराकानीमा भनेका छन्‚ ‘असाधारण काम गर्ने धेरै व्यक्ति‚ खासगरी महिलालाई सधैं पछि पार्ने हाम्रो इतिहास छ ।’
‘दोस्रो विश्वयुद्धको समयमा पनि धेरै महिलाहरूले पुरुषसँग मिलेर युद्ध लडिरहेका थिए तर हामीले कहिले उनीहरूलाई श्रेय नै दिन मानेनौं । तर अब हामी उनीहरूले दिएको योगदानको श्रेय खोजी खोजी उनीहरूलाई नै प्रदान गर्दैछौं । यो पनि एक असाधारण कामको सुरुवात हो‚’ उनले भने।
‘कतिपय मानिस भने अझै पनि भायलेटलाई नकारात्मक भावले नै हेर्ने गर्छन् । त्यस्ता व्यक्तिले उनलाई अहिले पनि विभिन्न आक्षेपहरू लगाउने गरेका छन्‚’ उनले भने ।
मनिक्स फ्लाइनका अनुसार गिबसनको परिवारले समेत उनको नामको बोर्ड लगाउने कुराको समर्थन गरिसकेका छन् ।
भायलेटले राजकुमारीदेखि चर्चिलसम्मलाई लेखेकी थिइन् चिट्ठी
सन् २०१४ मा आरटिईको एक रेडियोबाट भायलेटको यो कहानी डक्युमेन्ट्रीको रुपमा सार्वजनिक गरिएको थियो । यो डक्युमेन्ट्रीलाई सिओबन लाइनमले तयार गरेकी थिइन् भने उनका पति बेरी डोडलले यसैका आधारमा एक चलचित्रसमेत निर्माण गरेका थिए‚ जसलाई अहिले पनि विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइने गरिन्छ ।
यसबाहेक फ्रान्सिस स्टोनर-सान्डर्सले ‘द वुमन हू सट मुसोलिनी’ नामको एक पुस्तकमा चित्रको माध्यमबाट तत्कालीन समयमा घटेका सम्पूर्ण घटनाको चित्रांकन गरेका छन् ।
सिओबन लाइनम भन्छिन्‚ ‘मुसोलिनीलाई मार्नका लागि दाउ हेर्न मानिस तीर्थयात्रामा समेत जाने गर्थे । अरु सबैले अनेक तवरले आक्रमण गर्न खोजेपनि ५० वर्षीय भायलेटले मुसोलिनीमाथि प्वाइन्ट ब्ल्यांक रेन्ज अर्थात् धरै नजिकबाट साहसका साथ गोली चलाएकी थिइन् ।’
बेरी डोडलका अनुसार भायलेटले उनी एन्ड्रू अस्पतालमा रहँदा धेरै शक्तिशाली व्यक्तिलाई आफूलाई रिहाइ गरिदिनका लागि गुहार माग्दै चिट्ठी लेखेकी थिइन् । उनले त्यस समयका तत्कालीन राजकुमारी‚ महारानी एलिजाबेथदेखि विंस्टन चर्चिलसम्मलाई आफूलाई त्यो मानसिक अस्पतालबाट बाहिर ल्याइदिनका लागि चिट्ठी लेखेकी थिइन् ।
लर्ड चान्सलरकी छोरी भएकाले पनि भायलेटले आयरल्यान्डमा हुँदा यी सबै व्यक्तिसँग प्रत्यक्ष वार्तालाप गर्ने अवसर पाएकी थिइन् ।
महिला हुनुको पीडा
यी दुवै पति-पत्नी लाइमन र डोडलले इटालीको ऐतिहासिक दस्तावेजमाथि गरेको शोधका क्रममा सबैभन्दा धेरै पटक मुसोलिनीको हत्याको प्रयास गर्ने महिलामा गिबसनको मात्र नाम भएको पाएका थिए ।
डोडल भन्छन्‚ ‘यदि यही काम कुनै पुरुषले गरेको हुन्थ्यो भने उसको शालिक बनाइन्थ्यो अथवा यस्तै केही गरिन्थ्यो होला‚ तर महिलाले गरेकाले उनलाई नजरअन्दाज गरियो र कहिल्यै बाहिर ल्याउने काम नै गरिएन । तर हामीले यो कुरालाई संसारभर फैलाउन पायौं‚ यसबाट हामी धेरै खुसी छौं ।’
उनीहरूका अनुसार भायलेटको नाममा बोर्ड राख्नु उचित निर्णय हो । यसबाट धेरै मानिसले उनी को हुन् भन्ने विषय जान्ने अवसर पाउने उनको तर्क छ ।
(बिबिसी हिन्दीबाट)