खोप लगाएपछि सुरक्षित महसुस गरेँ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप लगाएपछि आफूले सुरक्षित महसुस गरेको बताएका छन् ।

बुधबार मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुुगेर खाेप लगाएपछि उनले यस्ताे प्रतिक्रिया दिएका हुन् । मन्त्री त्रिपाठीले खाेप सुरक्षित रहेकाे भन्दै सबै नागरिकलाई ढुक्कले लगाउन आग्रह समेत गरेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि विना हिच्किचाहट सहज रूपमा खाेप लगाउन सबैलाई आग्रह गरे । खाेप लगाएपछि उनले प्रतिक्रिया दिँदै भनेका छन्- ‘खाेप लगाउनका लागि कुनै पनि खालको तनाव लिन आवश्यक छैन । खाेप प्रमाणित भइसकेकाे छ, सबैले लगाऔं ।’

प्रतिनिधिसभाको बैठक आगामी आइतबारदेखि सुरू हुँदैछ । अधिवेशनमा सहभागी हुने मन्त्रिपरिषद्का सदस्य, सांसद, सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतलाई खोपको व्यवस्था गरिएको छ । सभामुख अग्निप्रसाद सापकाेटा, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, सांसदहरु लालबाबु पण्डित, मात्रिका यादव, देवप्रसाद गुरुङ लगायतले पनि खाेप लगाइसकेका छन् ।

नेपालमा फागुन २३ गतेदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप लगाउने अभियान सुरु हुँदैछ । सरकारले थप ५० लाख डाेज खाेप खरिदका लागि प्रक्रिया समेत अगाडी बढाइसकेकाे मन्त्री त्रिपाठीले जानकारी दिएका छन् ।

प्रतिक्रिया