जब प्रचण्डले आफ्नी छोरीसँग भने- क्रान्तिका लागि विवाह पनि गर्न सक्दिनौ ?
त्यसबेला रेणु दाहाल मात्र १८ वर्षकी थिइन् । उनका बुबा पुष्पकमल दाहाल प्रचण्डले २०५२ माघमा नेपालमा राजतन्त्रविरुद्ध सशस्त्र आन्दोलनको बिगुल फुकेका थिए ।
१८ वर्षकी छोरीले आफ्नो बुबालाई सधैं बन्दुकको नालसँगै देख्दा त्यो बाल मष्तिष्कमा कस्तो असर पर्दो हो ?
रेणु भन्छिन्, ‘त्यो न्यायको पक्षमा र निरंकुश शासनका विरुद्ध थियो ।’
आफूले राजतन्त्रका विरुद्ध हरदिन लडिरहँदा आफ्ना छोरीहरू पनि छन् र आफू एक राजनीतिक प्राणीका साथसाथै एक पिता पनि हुँ र यो हुनुको नाताले आफ्ना पनि धेरै जिम्मेवारीहरू छन् भन्ने कहिले भुलेनन् ।
आफूले सुरु गरेको युद्ध ३-४ महिनामै अन्त्य हुँदैन भन्ने कुराको राम्रो ज्ञान थियो प्रचण्डलाई । यस कुराले पनि आफ्ना सन्तानको पीरले उनलाई पिरोलिरहन्थ्यो । प्रचण्ड तीन छोरीका बुबा थिए- जेठी छोरी ज्ञानु, माइली रेणु र कान्छी गंगा ।
ज्ञानुको विवाह जनयुद्ध सुरु हुनुभन्दा तीन वर्ष अगाडि २०४९ मा नै भएको थियो । त्यसबेलासम्म बाँकी दुई छोरीको विवाह भएको थिएन ।
नेपाल कम्युनिस्ट पार्टी माओवादीमा प्रचण्डकी माइली छोरी रेणूको विवाहको विषयलाई लिएर बैठकसमेत बस्यो । २०५३ साल अर्थात् जनयुद्ध सुरु भएको एक वर्षपछि बसेको पार्टीको बैठकले रेणुको विवाहको प्रस्ताव पास गर्योव । र यसबारे रेणुलाई जानकारी पनि गराइयो ।
त्यसबेला रेणु १९ वर्षकी थिइन् । आफूसँग विवाह हुने भनिएको केटालाई भेट्नका लागि रेणु भारतको जालन्धरसम्म पुगेकी थिइन् ।
ती दिन सम्झँदै रेणुले हाँस्दै सुनाइन्, ‘अरू केटी हेर्न जान्छन् । म भने केटा हेर्न जाँदै थिएँ । २ दिनसम्म त म केटाकै घरमा बसेकी थिएँ । तर त्यसबेला मलाई विवाह गर्ने सोच अलिकति पनि थिएन । उमेर पनि सानै थियो । तर बुबा पनि हामीलाई सँगै राख्नसक्ने स्थितिमा हुनुहुन्न थियो । मेरो विवाह हुनुपर्छ भन्ने पार्टीको निर्णय थियो । अरुसँग नभने पनि बुबासँग त मैले आफ्ना कुरा राख्न सक्छु जस्तो लाग्यो र राखेँ पनि । मैले उहाँलाई- बुबा मलाई अहिल्यै विवाह गर्न मन छैन भन्दा उहाँको एउटै उत्तर थियो- क्रान्तिका लागि मान्छे आफ्नो ज्यान दिइरहेका छन् । तिमी विवाह पनि गर्न सक्दिनौ ? तिम्रो विवाह क्रान्तिका लागि अत्यावश्यक छ छोरी । यति सुनिसकेपछि म निःशब्द भएँ ।’
‘जुनसुकै क्रान्ति किन नहोस, त्यहाँ क्रान्तिसँग सम्बन्धित काममात्र हुँदैनन् । जीवनका भावनासँग जोडिने बाँकी काम पनि यही दौरान हुने गर्छन् । क्रान्ति र प्रेम साथसाथै चल्छन् । कहिले प्रेम क्रान्तिमा सहभागी बन्छ भने कहिले क्रान्ति चलिरहेकै बेला पनि कसैप्रति प्रेम हुनसक्छ । मेरो विवाह पनि यही यात्राको एउटा हिस्सा हो ।’
जालन्धरमा रेणु जुन केटालाई भेट्न गएकी थिइन्, उनी थिए- अर्जुन पाठक । विवाह गर्न कुरा चलेको समयमा २१ वर्षमा टेकेका अर्जुन जालन्धर डिएभीमा अध्ययनरत थिए । रेणुसँग भेटको क्षणलाई सम्झिँदै अर्जुन भन्छन्, ‘हामी दुवैबीच धेरै कुरा हुँदैनथ्यो । विवाहको निर्णय पार्टीको थियो । त्यसबारेमा लखनऊको प्रहरी प्रशासनलाई यसबारेमा भनकसम्म पनि पर्न दिएका थिएनौं । हाम्रो विवाहमा थोरै मानिस सहभागी भएका थिए । दुवै पक्षमा अभिभावक र पार्टीका केही प्रमुख नेता । विवाहमा बाबुराम भट्टराईकी पत्नी हिसिला यमी र हालका गृहमन्त्री रामबहादुर थापा बादलको उपस्थिति थियो ।’
अर्जुन सुनाउछन्, ‘विवाहको बेला म बिएससी दोस्रो वर्षमा पढ्दै थिएँ । छोराछोरीहरूलाई साथमा राखेर आन्दोलन अघि बढ्दैन भन्ने पार्टीलाई लाग्यो र त्यसैअनुरुप हाम्रो विवाहको निर्णय गरियो । प्रचण्ड भूमिगत हुँदाताका नै हाम्रो विवाह गरिएको थियो । भारतमा प्रहरी प्रशासनबाट पनि बचेर गर्नुपर्ने भएकाले पनि हाम्रो विवाहलाई भूमिगत नै भन्दा फरक नपर्ला । यो एक जनवादी विवाह पनि थियो ।’
समयको माग
तत्कालीन व्यवस्था बहिरो भइरहेको र सरकारलाई जनताका कुरा सुनाउने अर्को कुनै माध्यम नभएको अवस्थामा प्रचण्डले बन्दुक उठाउनु त्यस समयको माग भएको अर्जुन र रेणु बताउँछन् ।
अर्जुन भन्छन्, ‘नत्र राजतन्त्र ढल्दैनथ्यो । बन्दुक उठाउनु बाध्यता थियो । तर हामीले जे सोचेका थियौं त्यो पूरा हुन भने अझै पाएको छैन । अझै धेरै कुरा हुन बाँकी नै छ । समय धेरै बद्लिसकेको छ । हामी धेरै अघि पुगिसकेका छौं । अहिले फेरि बन्दुक बोकेर जंगलमा जाने हो भने पहिलेको जस्तो जनसमर्थन पाउन एकदमै कठिन छ । त्यसबेलाको नेपालको जनयुद्ध पनि लामो प्रक्रियापछि मात्र सुरु भएको थियो ।’
रेणु अहिले चितवन जिल्लाको भरतपुर महानगरपालिकाकी मेयरको रुपमा छिन् भने अर्जुन अझै पनि सोसल साइन्समा पिएचडी गरिरहेका छन् । नेपालको गुल्मी जिल्लामा जन्मिएका अर्जुनका बुबा टेकबहादुर पाठक २०२३ मा भारतीय फौजको रेजिमेन्टमा भर्ती भएका थिए । अर्जुन पनि ७ वर्षको उमेरमै बुबासँग भारत पुगेका थिए ।
प्रचण्डले आफ्ना छोरीलाई किन ‘जनयुद्ध’मा सहभागी गराएनन् ?
त्यसबेला जारी जनयुद्धमा धेरै महिलाहरू सहभागी थिए तर किन प्रचण्डले आफ्ना छोरीहरूलाई युद्धमा नलगाई कम उमेरमै विवाह गरिदिन उचित सम्झिए ? के प्रचण्डमा पनि पित्तृसत्तात्मक सोच हावी भएको थियो ? उनले किन आफ्ना छोरीलाई युद्धमा सहभागी हुन दिएनन् ?
नेपाल मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी भन्छिन्, ‘प्रचण्ड, पिताको रूपमा राजनीतिक रूपमा जस्तो क्रान्तिकारी स्वभावका थिएनन् । दक्षिण एसियामा ठूला भनिएका नेताहरू अर्काको जीवन चुनौतीपूर्ण देख्न चाहन्छन् तर आफ्ना सन्तानका बारेमा भने सधैं नै रक्षात्मक ढङ्गले प्रस्तुत हुने गर्छन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीका धेरै नेताहरूले जनयुद्धको समयमा आफ्ना सन्तानलाई भारतमा राखेका थिए ।’
‘पिताको रुपमा प्रचण्ड पनि अरुजस्तै नै थिए । उनले स्वतन्त्रताको आडमा आफ्नी छोरीको सुरक्षा रोजे । जातले प्रचण्ड ब्राह्मण हुन् । र उनले आफ्ना तीनै जना छोरीको विवाह ब्राह्मण पुरुषसँगै गराएका छन् । क्रान्तिको नाममा कसैलाई विवाह गर्न बाध्य गराउन मिल्दैन । त्यो चाहे तपाईंकै छोरी किन नहुन्’, मोहना भन्छिन् ।
अहिले पनि नेपालको कम्युनिस्ट राजनीतिमा साहसी महिला नेता नभएको मोहना बताउँछिन् । उनी भन्छिन्, ‘कम्युनिस्ट पार्टीमा ब्राह्मणहरूको दबदबा छ । किन कुनै दलित अथवा जनजाति वर्ग कम्युनिस्ट पार्टीको मुख्यधारमा देखिएका छैनन् ?’
‘नेपालको इतिहासमा अहिलेसम्म जति पनि कम्युनिस्ट प्रधानमन्त्री बने ती सबै ब्राह्मण नै छन् । ती चाहे प्रचण्ड हुन् या बाबुराम भट्टराई अथवा माधवकुमार नेपाल, झलनाथ खनाल अथवा केपी शर्मा ओली । जनयुद्ध चलिरहँदा त्यसमा सहभागी हुने सबै महिलाको विवाह जबरजस्ती गराइयो जसको परिणाम जनयुद्ध सकिएपछि देखियो । त्यो बेला गरिएका प्रायः विवाहहरू अहिले टुटेका छन् ।’
रेणु दाहालसमेत कम्युनिस्ट पार्टीमा उल्लेख्य मात्रामा महिला, दलित, पिछडिएका जाति र अल्पसंख्यकको सहभागिता नभएको कुरामा सहमत छिन् । कम्युनिस्ट पार्टीमा ब्राह्मणको दबदबा रहेको कुरामा पनि रेणु सहमत देखिन्छिन् । रेणु आफ्नो विवाहको विषयलाई लिएर पार्टीको फैसलाको बचाउ गर्दै भन्छिन्, ‘बुबासँग योबाहेक कुनै अर्को विकल्पै थिएन ।’
रेणु भन्छिन्, ‘मलाई जनयुद्धबाट अलग राख्नका लागि मेरो विवाह भएको होइन । विवाहपछि म भारतमै रहेर यहाँ रहेका नेपालीलाई एकजुट गर्नमै लागिरहेँ र नेपालमा भइरहेको जनयुद्धलाई थप मजबुत बनाउनमा लागिरहेको थिएँ । हरयुद्धलाई अन्तिमसम्म पुर्या उनका लागि अनिवार्य रुपमा काँधमा बन्दुक बोक्नैपर्छ भन्ने हुँदैन । संगठनमा रहेर यसको सुदृढीकरणका लागि अन्य बाटोबाट पनि सहभागिता जनाइएर पनि युद्धमा सहभागी हुन सकिन्छ ।’
चितवन जिल्लाकै लेखिका सरिता तिवारीका अनुसार प्रचण्डको नेपाली राजनीतिमा ठूलो योगदान रहेपनि उनका छोरी बुहारीको विषयमा भने उनी त्यति क्रान्तिकारी देखिएनन् । तिवारी भन्छिन्, ‘जनयुद्धमा प्रचण्डकी बुहारी बिना मगरको पनि भूमिका महत्वपूर्ण रह्यो । उनी केही समय राजनीतिक बन्दी समेत रहिन् ।’
यसरी भएको थियो अर्जुनसँग रेणुको विवाह
अर्जुनका बुबा टेकबहादुर पाठक सन् १९६७ मा भारतीय फौजमा भर्ती भएका थिए । त्यसबेला उनले पाकिस्तानसँग युद्धसमेत लडेका थिए । उनी सन् १९७१ को पाकिस्तानसँगको युद्ध सम्झने क्रममा भन्छन्, ‘त्यो युद्ध एकदम डरलाग्दो थियो । त्यसबेला म २२ वर्षको मात्र थिएँ । तर पनि मलाई रत्तिभर डर थिएन ।’ भारतीय फौजमा भर्ती भएको ७ वर्षमा उनी त्यहाँबाट बाहिरिएका थिए ।
सन् १९८५ मा टेकबहादुर पाठकले पहिलो पटक गोरखपुरमा नेपाल कम्युनिस्ट पार्टी मसालको मिटिङमा प्रचण्डको भाषण सुने । प्रचण्डको त्यही भाषणबाट पाठक प्रभावित भएका थिए ।
सन् १९८८ मा पाठकलाई नेपालमा बोलाइएको थियो । पाठक भारतीय फौजमा भर्ती भएर निस्किएकाले हतियार चलाउने तालिम दिन सक्छन् भन्ने भएपछि उनलाई नेपाल बोलाइएको थियो ।
टेकबहादुर भन्छन्, ‘अहिलेका नेपालका गृहमन्त्री रामबहादुर थापा बादलले मलाई गाइड गरेर गोरखा जिल्लामा पुर्याउनुभएको थियो । त्यहाँ पुगेकै रातदेखि नै हतियारसम्बन्धी तालिम दिने काम सुरु भयो । शत्रुबाट कसरी बच्ने र हतियार चलाउने भन्ने विषयमा मैले तालिम दिएको थिएँ । यसमा प्रचण्डदेखि अन्य शीर्ष नेताहरू सबै उपस्थित हुने गर्नुहुन्थ्यो । दिनभर सैद्धान्तिक ट्रेनिङ्ग हुनेगर्थ्यो भने रातमा हतियारसम्बन्धी तालिम ।’
पछि टेकबहादुर पाठक भारतमा काम गर्ने नेपालीहरूसँग चन्दा उठाएर पार्टीलाई पैसा पठाउन थाले । उनी भन्छन्, ‘ट्रेनिङकै बेलादेखि प्रचण्डसँग मेरो मित्रता भयो । त्यसबेला प्रचण्ड ग्रेनेड, टाइम बमसमेत बनाउनुहुन्थ्यो । जनयुद्ध सुरु भएको एक वर्षपछि १९९७ मा रामबहादुर थापा बादल विवाहको प्रस्ताव लिएर दिल्ली आउनुभएको थियो । म पनि जालन्धरबाट उहाँलाई भेट्नका लागि दिल्ली गएँ । मैले विवाहका लागि स्वीकृति दिएँ । त्यसपछि रेणु र अर्जुन जालन्धरमै रहेर पार्टीको काममा सक्रिय रहन थाले ।’
भारतीयको समर्थन
राजतन्त्र ढलिसकेपछि प्रचण्ड विसं २०६४ मा नेपालको प्रधानमन्त्री बने । बनेको एक वर्ष पनि टिक्न नपाई तत्कालीन सेनापति रुक्माङ्गत कटुवालसँग भएको विवादको विषयलाई लिएर उनले राजीनामा दिए । प्रचण्डको यो निर्णय हतारमा लिएको निर्णय भएको रेणु बताउँछिन् ।
रेणु भन्छिन्, ‘एक कर्मचारीसँगको विवादलाई लिएर बुबाले राजीनामा नदिनुपर्थ्यो । तर यो निर्णय अरूका लागि भने प्रेरणाप्रद भएपनि रणनीति र कम्युनिस्ट आन्दोलनका दृष्टिले यो निर्णय हतारमा लिइएको थियो ।’
भारतका बारेमा रेणु भन्छिन्, ‘नेपालमा क्रान्ति ल्याउनका लागि भारतका जनताको पनि महत्वपूर्ण भूमिका छ । राजनीतिक स्तरमा जे भएपनि भारतीय र नेपाली जनताबीच सदियौंदेखि राम्रो सम्बन्ध बन्दै आएको छ ।’
प्रचण्डले आफ्नो जीवनकालमा कयौं संघर्षको सामना गरे । तर २०७३ उनका लागि कष्टप्रद रह्यो । उनका एकमात्र छोरा प्रकाश दाहालको ३६ वर्षको उमेरमा मृत्यु भयो ।
त्यसअघि प्रचण्डकी जेठी छोरी ज्ञानु दाहालको पनि क्यान्सरका कारण मृत्यु भएको थियो । हाल प्रचण्डपत्नी सीता दाहाल पनि रोगले ग्रस्त अवस्थामा छिन् । उनको मुम्बईमा उपचार भइरहेको छ ।
बिबिसी हिन्दीबाट