बोधले छामेर [कविता]
- दीपा मेवाहाङ
जीवन हुनुको सार्थकताभित्रमा
नहुन सक्छु सोचेजस्तो कसैले
स्वीकारोक्ति बन्न नदेला चेतशालामा
जस्तो तिमी छौं
जस्तो म छु‚
यही हुनु नै सार्थकता बोध हो
यदि तिमी हुनुमा
तिमी नहुनुमा
अस्तित्व हराऊनु पनि त हो अपनत्वको,
कहाँ थिए र घाम जुन एक साथ ?
तर मुस्कुराएकै छन् फरक प्रकृतिमा
तिमी र म त्यही घाम जून भएर बाचौँला
आधा आधा जिन्दगीको अन्तरामा
जसरी ल्यामपोस्टमा जून ऊभिँदा
बाटोले उत्सव मनाउछ
वर्षात्मा घाम बिसन्चो बन्दा
झरी बर्सिदिन्छ मल्हम बनेर
त्यसरी पनि त बाच्न सकिने रहेछ
एक–अर्काको परिपुरक भएर
यदि चाहन्छौ भने मलाई वृक्ष झैं फुल्न देऊ
परिबन्दको सोकेसमा राखेर सजाउन नखोज
सुगन्ध बोकेर बगैँचामा फुल्न चाहन्छु
स्वतन्त्र हावाको श्वास प्रश्वासझैँ नशा नशामा
झङ्कृत भरेर फैलन चाहन्छु
यदि त्यसो हुन पाइनँ भने
शायदै फूल हुनुको अस्तित्व हराउन सक्छ
यात्राको उडान भर्ने बाटोलाई आफैँ बनाउन देऊ
सपनाको भारी उठाउँदै जाँदा
हराउन सक्छु जङ्गलको झाडीभित्र
गन्तव्य खोज्दै जाँदा बिझाउन सक्छन्
विषालु काँडाहरुले पदचापका पैतालामा
बिझेका काँडा आफैँ सेक्न देऊ
स्वयंले पिडाहरू महसुस गर्न पाउनुपर्छ
आफू हुनुको बोध गर्न पाउनुपर्छ
जीवन हुनुको बोधमा
तिमी हुनुमा
तिमी नहुनुमा छ ।