के तपाईंले आजको अखबार पढ्नुभयो ? [कविता]
- प्रकाश गुरागाईँ
घोडाहरू
मान्छेहरुका करङमाथि
बेस्सरी दौडिरहेछन् ।
नदीहरुमा रगत जमेको छ । हिउँ टल्केको छ ।
सगरमाथा चढ्न हिँडेकाहरुलाई
तेस्रो शिविरमा एम्बुस थापिएको छ । खोँच बिछ्याइएको छ ।
आदिवासीहरुको चिहानघारी
वर्षौँदेखि हाँसिरहेछ हिमाली रङ ।
पहाड उक्लेको बाघ रुँदैछ । मान्छे सर्प बनेका छन् ।
वर्षौँदेखि बेपत्ता छ, घर ।
बग्दै–बग्दै अब झर्दैछ ओरालो । यात्रामा छ, पहिरो ।
के तपाईंले आजको अखबार पढ्नुभयो ?
नाङ्गै आएकी नवयौवनालाई
लौ दिनुहोस् यो अखबार । र छोपिदिनुस् देह ।
त्यो हेडलाइन छ नि !
‘बाबुद्वारा आफ्नै छोरी बलात्कार’
त्यसलाई भित्र फर्काइदिनुहोला ।
खबरदार ! ती अक्षरले स्तन र गुप्ताङ्ग नछोउन् ।
के तपाईंले साँच्चै आजको अखबार पढ्नुभयो ?
अखबार आगोको झिल्का बोकेर आउँछ । र छुस्स हावा फाल्छ ।
हिउँको कठ्याङ्ग्रो ल्याउँछ । र निद्राको औषधि खुवाउँछ ।
एउटा उत्तेजना छ । चिसो । बिक्दैन ।
ब्लो–अप बिक्छ । तातो ।
किशोर हस्तमैथुन गर्छ
अनि वीर्य त्यही पत्रिकामा पुस्छ । क्रमशः चिसिन्छ ।
समृद्धिको समाचार डस्टबिनमा पुग्छ ।
त्यो पत्रिका औषधि पसल पुगेको भए
पसलेले डाइपर पोको पारेर बेच्थ्यो ।
र समृद्धि कहाँ पुग्थ्यो आफैँ कल्पना गरी बस्थ्यो ।
यो देशमा कम्युनिष्ट नाम गरेका समृद्ध पार्टीहरु पनि छन् ।
क्रान्ति बेचेर मटनसँग सेल्फी खिच्नेहरु
हाम्रा सपनालाई फ्रिज गर्नेहरु
यतै पत्रिकामा भेटिन्छन् । प्रधानमन्त्रीले अझै राजीनामा दिएका छैनन् ।
के तपाईंले आजको अखबार पढ्नुभयो ?
पत्रिका आकाश हो ।
पत्रिका जुलुस हो ।
पत्रिका आवाज हो ।
पत्रिका राँको हो ।
थेत् !
पत्रिका केही होइन । राजनीति हो ।
अहिले पत्रिका सडकको नालीमा बगिरहेछ ।
र यति बेला पत्रिका भिजेको कागज हो । बेकामे ।
घोडाहरु
करङमाथि दौडिरहेछन् । पत्रिका के लेख्दैछ ?
नदीहरुमा
रगत जमेको छ । पत्रिका के लेख्दैछ ?
आदिवासी आवाजहरु
धरापमा विष्फोट हुँदैछन् । पत्रिका के लेख्दैछ ?
ए पत्रकार !
पत्रिका के लेख्दैछ ? तेरो प्रेम कहानी ?
पत्रिका राजनीति हो ।
ओ, मान्छेहरु ! ओ योद्धाहरु !