लोप हुने तरखरमा चैनपुरे करुवा
संखुवासभा । शहरीया परिवेश र नयाँ पुस्ता माझ नौलो बन्दै गएको करुवा स्वयम् उद्गम स्थलमा पनि बिरानो बन्दै गएको छ ।
सभा समारोहमा स्वागत-सत्कार गर्दा मायाको चिनो प्रदान गर्न रोजाइमा पर्ने चैनपुरे करुवा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको हो ।
करुवा बनाउन चाहिने धातु काँससहित मैन, गोललगायत कच्चा पदार्थको अभाव, जनशक्तिको अभाव, बढ्दो लागतजस्ता कारणले संखुवासभाको चैनपुरे करुवाको अस्तित्व नै संकटमा पर्न थालेको चैनपुरका स्थानीय बासिन्दाहरु बताउँछन् । डेढ शताब्दीको पहिचान वोकेको परम्परागत शैली र सीप प्रयोग गरि काँसको धातुबाट बनाइने करुवा हराउँदै जाँदा चैनपुरको पहिचानै ओझेलमा पर्ने खतरा बढेको उनीहरुको भनाइ छ ।
यो पेशामा नयाँ पुस्ताले चासो नदेखाएको तथा अघिल्लो पुस्तासँग सीप भएपनि बुढेसकाल लागेका कारण उनीहरुले करुवा बनाउने काम छोड्न थालेका चैनपुर नगरपालिका १० का पदमकुमार शाक्यले बताए । उनी तीन दशकदेखि करुवा बनाउने पेशामा संलग्न छन् । चैनपुरे करुवाको उत्पादन वर्षेनी घट्र्दै गइरहेको र पछिल्लो पुस्ताले चासो नदिएका कारण केही बर्षमा उत्पादन नै ठप्प हुने उनले बताए ।
करुवा बनाउन काँस धातुका साथै मैन, गोबर माटो र खस्रो धानको भूस, सखुवाको गोललगायत कच्चा पदार्थ आवश्यक पर्छ । एकातिर, मैनको अभाव छ अर्कातिर, सामुदायिक वनमा कोइला निकाल्न नपाइनाले समस्या भएको छ । काँस पनि जहिँतहिँ पाइन छोडेको छ । यसका कारण करुवा लोप हुने तर्खरमा पुगेको शाक्यले बताए ।
चैनपुरमा वनेको करुवा अरु ठाउँको भन्दा फरक, राम्रो र महँगो पनि छ । चिटिक्क परेको ढाँचा अझ राम्रो बनाउन कुँदिएका बुट्टा र बुट्टादार अन्ती, विर्को, वाइन कप देख्दैमा टपक्क टिपौं जस्तो लाग्छ । चैनपुरे करुवाको मुख्य डिजाइनर स्वर्गीय रुद्रलाल शाक्य हुन् । काठमाडौंको नागवहालवाट करिव डेढ शताव्दी पहिला व्यापारको सिलसिलामा संखुवासभा पुगेका शाक्यहरुले करुवा बनाउन शुरु गरेको मानिन्छ ।
डेढ शताब्दिदेखि चैनपुरको परिचय देश विदेशमा फैलाइरहेको करुवाको अस्तित्व जोगाउन माग भइरहेपनि यसका लागि प्रभावकारी काम भने हुन नसकेको स्थानीयबासिन्दाको गुनासो छ ।
माग राम्रै भएपनि पुराना सिल्पीको अभाव, नयाँ पुस्ताको कम आकर्षण तथा कच्चा पदार्थको अभावका कारण चैनपुरको परिचयका रुपमा देश विदेशमा चिनिएको करुवा लोप हुने अवस्थामा पुग्नु यो क्षेत्रका लागि मात्र नभएर देशकै लागि दुखद भएको स्थानीयबासिन्दा देवेन्द्र शाक्य बताउँछन् ।
अघिल्लो पुस्तासम्म शाक्य परिवारमा करुवा बनाउने सीप हस्तान्तरण हुँदै आइरहेको थियो । तर नयाँ पुस्ताले आफ्नो परम्परागत सिपतर्फ रुचि देखाएनन् । वरु पेशा परिवर्तन गर्न थाले । संखुवासभाको पुरानो सदरमुकाम चैनपुरमा दशक अघिसम्म ४० जनाको हाराहारीमा रहेका करुवा बनाउने कालिगड अहिले पाँच सात जनामा सीमित रहेको उनले बताए ।
चैनपुरे करुवाको विशेषता कहिल्यै नविग्रिनु हो । वाहिरवाट आउने मान्छेले चैनपुरवाट कम्तिमा एउटा करुवा चिनोको रुपमा लिएर जान्छ । तर त्यो ख्याती धान्न अब हम्मे हम्मे पर्न थालेको करुवा उत्पादक तथा ब्यवसायीहरु बताउँछन् । ‘विस्तारै सबैले बनाउन छोड्दै गएका कारण माग वढी भएपनि उत्पादन न्यून छ’ देवेन्द्र शाक्यले भने ।
चैनपुरे करुवाको पहिचान विलाउँदै जाँदा करुवा मात्र नभएर चैनपुरे करुवाको मौलिक पहिचान तथा चैनपुरको परिचय पनि मेटिने भएकाले यसतर्फ ध्यान दिनुपर्ने आवाज उठ्ने गरेको छ तर काम भने खासै हुन सकेको छैन । नयाँ पुस्तालाई परम्परागत शैलीमै तालिम र कच्चा पदार्थ सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउनुपर्ने स्थानीय कालीगढको माग छ ।
पदम शाक्य भन्छन्, ‘सम्वन्धित निकायले हामीलाई सीपमा मात्र जोड दिन खोज्छ तर हामीलाई सीपभन्दा पनि सहज रुपमा कच्चा पदार्थ चाहिएको छ ।’