सपनाजस्ताे विपनाकाे कथा

  •  सृष्टि नेपाल
  • दिक्षा कट्टेल

‘अब त अत्ति भो’ भन्ने भएपछि घर छोडेर हिँड्ने निर्णय लिइन् विपनाले । माइतीका इज्जत र छोराछोरीको भविष्यका खातिर रविका घरमा रहनु थियो उनले तर जीवन नै नरहने भएपछि सम्बन्ध तोड्न बाध्य भइन् ।

पुसको २१ गते । कोल्टे फेर्दाफेर्दै घडिले बिहानको तीन बजायो ।

श्रीमान् माथिल्लो तल्लामा सुतेका थिए, सासु र दुई सन्तान थिए साथमा ।

एकसरो गहना जे-जति लगाएकी थिइन्, सबै सासुको हातमा राखिदिँदै भनिन्– ‘मैले जुन सासुको खुट्टा नढोगी पानी समेत खान हुन्न भन्ने सोचेकी थिएँ आज त्यही सासुका कारण मेरो घरबार उजाडियो । अब पनि छोरालाई लिन पठायौ र म यो घरमा आउनुपर्यो भने तिमीलाई जिवित राख्दिन !’

विपनाको मन भाँच्चिएर आएका थिए ती शब्द र आँशु । कान्छी छोरीलाई पिठ्युँमा पछ्यौरीले बेरिन्, छोरालाई डोर्याइन् अनि रुँदैरुँदै घरबाट निस्किइन् विपना । सुनसान रात । कुकुर भुकिरहेका थिए ।

अलि टाढा पुगेर पुलुक्क हेरिन् त्यो घर, जहाँ उनले आफ्नी जेठी सन्तान गुमाइन् । १०/१२ वर्ष हिंसा सहिन् । साँच्चै निर्दयी रहेछ त्यो घर । राक्षस रहेछन् त्यहाँका मानिस, जसलाई उनी देवता मानेर दिनहुँ पुजिरहेकी थिइन् !

चकमन्न रातमा एक्ली आइमाइ, तरपनि डर लागेन उनलाई आज । किनकी उनी आफू बाँच्न र सन्तानको जीवन बचाउन हिँडेकी थिइन्, एक साहसी आमा बनेर । उनलाई अब डराउनु थिएन, केवल एक्लै जिउने हिम्मत जुटाउनु थियो ।

रातैभरी अनिदो थिइन्,

छुट्टिएर अघि बढ्दै गरेका ती पाइला–पाइलामा उनले रविसँगका तीतामिठा क्षण सम्झिइन्…,

एकदिन परिवारमा विपनाको बिवाहको कुरा चल्यो । सान्दाइले आमासामु कुरा राखे– ‘आमा रवि अधिकारी भन्ने एकजना मेरो साथी छ, उसले हाम्री कान्छीको हात मागिरहेको छ ।’

दाजुको कुरा सुनेर विपना थोरै लजाइन् । खुशी पनि भइन् थोरै, थोरै डराइन् । मेरो पनि विवाह गर्ने उमेर भइसकेछ ? आफैँमा प्रश्न खेलाउन थालिन् । प्रफुल्ल थियाे उनकाे मन ।

केटो कति वर्षको हो ? आमाले दाजुलाई सोधिन् । ३०/३२ वर्षका रहेछन् । आमाले जिब्रो टोकेर भनिन्– ‘हुँदैन, हुँदैन । ३२ वर्षे बुढो केटोसँग पनि सानी छोरीलाई बिहे गरिदिन्छन् त ?’ त्यसपछि सान्दाइ चुप रहे ।

आमाको प्रतिक्रियापछि परिवार सबै पछि हटे, रविसँगकाे विवाहको कुरा त्यहीँ टुंगियो ।

स्कुले जीवनपछि भर्खरै विपनाको कलेज जीवन सुरु भएको थियो । माइला दाइ र भाउजु बालाजुमा बस्थे । बर्खायाममा धर्मस्थलीदेखि पद्यमकन्या कलेज धाउन गाह्रो हुन्थ्यो, त्यसकारण त्यो समय विपना माइला दाजुकोमा बस्थिन् । बीए फस्ट इयर पढ्दाताका रवि दाजुकहाँ आएका थिए ।

उनले मान्छे नियालिन्– ‘कपाल पुरै फुलेको । यस्तो बुढोसँग कसले विवाह गर्छ !’

हुन पनि विपनालाई मन पराउनेको ताँती लाग्थ्यो कलेजमा । मिजासिलि स्वभावकी उनकाे अघिल्ला ब्याचकाले समेत प्रशंसा गर्थे । उनले जोक्स, कविता सुनाउँदा ‘वान्स मोर’ भन्दै हुटिङ हुन्थ्यो । कति पछि लागे । कतिले मरिहत्ते गरे । कति त कलेज अगाडी उनको बाटो ढुकेर बस्थे । कतिले प्रेम प्रस्ताव समेत राखे । कसैलाई वास्तै गरिनन् उनले ।

आँखा उसैमा गयो, सायद जो भाग्यमा थियो । २० वर्षीया विपना बस्नेतलाई विस्तारै रवि मन पर्न थाल्यो । लभ अफेयर चल्यो उसैसँग, झाँगियो प्रेम । रविले भगाएर आफ्नो घर मत्सेगाउँ लिएर गए । मालीले फुल स्याहारे जस्तैगरी विपनाको हेरचाह गर्थे रवि, चार/पाँच महिना औधि माया पाइन् ।

त्यसपछि सुरु भयो अनावश्यक शंका । कुटपिट, हिंसा र तमासा ।

एक पटक रविका साथी घर आएका थिए । विपनाले स–सम्मान चियाँ, खाजा खुवाइन् । जानेबेला उनीसँग पनि बिदा मागे । उनीहरु गएपछि रवि भान्सामा छिरे र उनको गालामा थप्पड हाने ।

किन हाने थाहा छैन तर खुशी हुँदै अर्को पनि गाला थापिन्, किनकी उनको मनमा कु–संस्कारले डेरा जमाएको थियो । रविले आफूमाथि हात उठाउँदा रोक्नु त परै जाओस् उनको मनले त्यो नराम्रो हो भन्न समेत सकेन । ‘मलाई कसैले पिटेको थिएन त्यसअघि । आफ्नाले नै पिट्छन् भन्ने लाग्थ्यो । त्यतिबेला मेरो पनि आफ्नो कोही रहेछ भन्ने मिठो अनुभुति भयो’, उनले भनिन् ।

पितृसत्तात्मक सोचको उपज थियो रविको पिटाइ, विपनाले त्यतिबेलै विरोध गर्थिन् भने त्यो हातले फेरि उनीमाथि उठ्ने हिम्मत कदापि गर्ने थिएन । तर उनले लोग्नेको अधिकारका रुपमा लिइन्, निरन्तर पूजिन् ।

विस्तारै विस्तारै त्यहाँको चलन थाहा पाउँदै थिइन् उनी । एक पटक भनेका थिए रविले – ‘हाम्रो घरमा बुहारी टिक्दैनन् ।’ उनका चार दाजुभाइ । रवि जेठा थिए । उनका बुहारी धेरै समय टिकेनन् घरमा । रविले यी कुरा सुनाउँदै गर्दा विपनाको मनमा परिसकेको थियो– ‘सासु र आमाजु मिलेर बुहारी निकाल्ने रहेछन् क्यारे !’

किनकी सासु र आमाजुको झुटका कारण धेरै पटक उनकाे र रविको सम्बन्धमा फाटो आएको थियो । मनमनै अठोट लिइन्– ‘तिनीहरु उत्तीसको जरा थिए होलान्, सजिलै उखेलिएर फालिए । म त पिपलको जरा हुँ, कसले उखेलेर फाल्न सक्छ ? टिक्छु म, बिताउँछु सारा जीवन यही घरमा ।’

कसैको तिता कुराको पर्वाह नगरी उनी सबेरै उठेर बडारकुँडार गर्थिन् । परिवारका सबै सदस्यलाई चिया पुर्याउँथिन्, ढोग्थिन् अनि बल्ल आफू खान्थिन् । उनलाई संस्कार लाग्थे ती चलन, त्यसैले सासुले रिसले खुट्टा ढोग्न नदिएका दिन पनि उनी फकाइ फकाइ ढोग्थिन् । रिसाउन जानेकै थिइनन् विपनाले । उनलाई जसरी हुन्छ त्यो घरमा टिक्नु थियो । रविको प्रेम पाउनु थियो । त्यसैले जसले जे भनेपनि हाँसेरै टारिदिन्थिन् ।

तर त्यही देखावटी हाँसोमा पनि सासु र आमाजुको आँखा लाग्यो । उनीहरु विपनाका बारे भए/नभएका कुरा रविलाई सुनाइदिन्थे । श्रीमान्–श्रीमतीको सम्बन्धमा शंकाका बिज रोपिदिन्थे, विपना उखेल्न खोज्थिन् भने रवि मलजल गरेर हुर्काउँथे ।

मुस्कुराउँदै घरभित्र छिरेका रवि आमाको कोठामा पसेर निस्कँदा राक्षस बन्थे ।

माइतीमा डोको समेत नबोकेकी उनी सासुलाई रिझाउनकै खातिर मेलापात जान्थिन् । तर सासुले नभएका कुरा बुनेर छोरालाई लगाउन छोडिनन् । उनैका कुरामा लागेर रवि शंका गर्थे । कसैसँग मिठो बोल्यो कि उसैसँग लागि भन्थे ।

आफ्नै पिता समानका ससुरासँग समेत उनले शंका गरे । सधैँ विपनाका लागि थालमा खाना छोड्ने रविले त्यो दिन जुठेल्नोमा राखिदिए थाल । उनलाई भने चित्त दुख्यो रविकाे व्यवहारले । त्यही थाल बाहिरबाट थाेरै पखालेर ल्याइन् अनि त्यसैमा खाइन् । किनकी उनले त्यो कु-संस्कारबारे बुझेकी थिइनन्, संस्कार लाग्थ्यो उनलाई ।

उनको कोठा तलै थियो । धन्दा गरेर कोठामा गइन् । पेटमा जेठी छोरी थिइन्, तीन चार महिनाको । कहिले सुतौँ जस्तो भएको थियो । सुत्न जाँदा रविले ससुराकहाँ जा भने । रविप्रतिको माया र विश्वासका कारण उसले जे भनेपनि नराम्रो भनेको होइन भन्ने लाग्थ्यो विपनालाई । ‘खैनी मागेर ल्याउ भन्नुभएको हो भनेर सोधेँ ? उसले होइन, बाउसँगै सुत्न जा भन्यो । त्यतिबेला असह्यै पीडा भयो तरपनि हाँसेर टारिदिएँ उसका अगाडी, कोल्टे फेरेर रोएँ सुस्तरी’, विगतका तीता क्षण सम्झिँदै विपनाले भनिन् ।

कुनैदिन रविले राम्रो गरिहाले भने तुरुन्तै सासुले आफ्नो कोठामा बोलाएर हुँदै नभएका कुरा सुनाइहाल्थिन् अनि फेरि रवि तर्किन थाल्थे । उनलाई बेलाबेला लाग्थ्यो, साँच्चै महिलाले नै महिलाको घर बिगार्ने रहेछन् !

यसरी नै चल्यो समय । जेठी छोरी त्यही घरमा बितिन् । छोरो जन्मियो । कान्छी छोरी पेटमा थिइन् । एकदिन राति आए रवि, साढे १० बजेतिर । सासु थिइनन् घरमा । खाना नखाइ कुरेर बसेकि थिइन् विपना ।

रवि घर पस्नेबित्तिकै ‘आज तेरो नाठो भेटेको थिएँ’ भन्दै खुकुरी खोज्न थाले । विपनाको डरको सिमा रहेन । मन त रोयो कतिकति, तर त्यहाँ ज्यान बचाउनु थियो, सहनु थियो । आवेगको विषय पनि खुलेर सोध्न सकिनन् उनले, दोहोरो कुरा गर्यो कि मुखाले भन्थे भने नबोले जवाफ किन दिइनस् भनेर पिट्थे ।

तैपनि हिम्मत जुटाएर सोधिन् । माइतीका भाइले विपनाका हालखबर सोधेका रहेछन् । साथै उनले कलेजमा हुने विपनाको प्रशंसाबारे पनि सुनाएका रहेछन् अनि उसैलाई नाठो ठानेछन् रविले । बच्चाको बिचल्ली हुन्छ भनेर उनले दुई हात जोडेर बिन्ति बिसाइन्– ‘मलाई नमार्नुस् । छोराछोरीको बिचल्ली हुन्छ, बाँच्न दिनुस् ।’

जसोतसो खुकुरी खोसिन्, बिहान उज्यालो हुनेबित्तिकै निस्केर जा भन्ने आदेश आयो । जवाफमा ‘हुन्छ’ भनिन् । उनलाई लागेको थियो रविले रक्सीको तालमा भनेका हुन्– ‘निस्किएर जा !’ भोलिपल्ट सबै ठिक हुने उनको अपेक्षा थियो ।

तैपनि डरैडरमा उनलाई निन्द्रा परेन । ‘उज्यालै नभइदिए पनि हुन्थ्यो’ भनिरहेको थियो उनको निर्दोष मनले, तर पृथ्वी किन रोकिन्थ्यो, भइहाल्यो उज्यालो । उठ्नेबित्तिकै आक्रोशित मुद्रामा रविले कुरा दोहोर्याए– जा भनेको होइन ?

ससुराको शरण परिन् बचाउन गुहार माग्दै । रवि मट्टितेल लिएर आए । त्यतिबेला उनको ज्यान पनि जान सक्थ्यो तर त्यही क्षण भगवान बनेर एक दिदी आइपुगिन् र रविको हातबाट मट्टितले खोसिन् । प्रहरी बोलाउने धम्की दिएपछि रवि चुप बसे ।

त्यतिबेला विपना ८ महिनाकी गर्भवती थिइन्, कान्छी छोरी थिइन् गर्भमा । सबैले घर छोडेर जाऊ, नबस्, यहाँ मार्छ भने । उनी रविले लिएको बाल्कुमारिस्थित फ्लाटमा गएर बसिन् । त्यही वर्षको साउनमा छोरी जन्मिइन् । न्वारान गर्न समेत प्रहरीले बोलाउनु पर्यो रविलाई । तर अत्याचारै गरेपनि विपनाको मनले रविलाई छोडेर बस्नै मान्दैनथ्यो । हुरी बतास चल्दा होस् या पानी पर्दा उनलाई रविको सम्झना आउँथ्यो ।

ल्याउने, निकाल्ने क्रम चलिरहेकै थियो । ससुरा बितिसकेका थिए । सासु कान्छो छोराकोमा बसेकी थिइन् । रवि आउँछन् भन्ने थाहा थियो उनलाई । एकरात सम्झनाले पिरोलेपछि उनी छोराछोरी लिएर राति घर फर्किइन् ।

जाडो महिनामा सुकुल ओछ्याइन्, सुकुलै ओढेर पिँढिमा सुतिन् । रातको साढे १२ बजेतिर रक्सी खाएर फिट्टान भएका रवि घर आइपुगे । ढोका खोल्ने क्रममा उनले विपना आएको थाहा पाए, फेरि उही प्रश्न– किन आइस् ?

विपनालाई लागेको थियो अब त मन फर्कियो होला रविको । तर सधैँको टर्चर उस्तै । ‘मायामा बुद्धि गुमाएकी आइमाइ हुँ म’, विगतमा हिंसा सहेकोमा पश्चाताप् पोख्छिन् उनी ।

घरी बसिरहेको ठाउँमा गाग्रीको पानी खन्याइदिने, घरी पाँच जनालाई पकाएको खाना उनैलाई कोचाउने । घरी आमाको कुरा सुनेर पिट्ने, घरी मार्छु भन्दै खुकुरी उद्याउने । दशकौंसम्म एउटै घरमा, एउटै भान्सामा, एउटै ओछ्यानमा रहँदा पनि रविले विपनाको पतिव्रता भावलाई विश्वासै गर्न सकेनन् । सधैँ शंका, शंका, शंका !

विपनाले पनि सहनुबाहेक विकल्प देखेकी थिइनन् । कहिल्यै अँध्यारो मुख नलगाउने विपनाको रविका कारण उज्यालो मुहार हेर्न गाह्रो पर्न थालेको थियो । दुई बच्चाको भविष्यकै लागि भएपनि उनलाई रविसँग जीवन बिताउनु थियो, त्यसमाथि उनको पहिलो र चोखो प्रेम थिए रवि । त्यसैले घर छोडेर जाने कल्पनासम्मले पनि उनी भक्कानिन्थिन् ।

पटक पटक यस्तै घटना आफूमाथि घटिरहेपछि हो विपनाले घर छोड्ने हिम्मत जुटाएकी । ती तितामिठा पलहरु सम्झिँदा सम्झिँदै उनी किर्तिपुर बसपार्क आइपुगिन् । अँध्यारै थियो, एक ठाउँमा छेकटो हालेर बसिन् ।

त्यतिबेला बुवाको खुब याद आयो उनलाई । बाल्यकाल सम्झिइन् ।

स्वर्गीय दिलिपकुमार सिंह बस्नेतकी छोरी विपना २० औँ सन्तान थिइन् । त्यसकारण बुवाले उनको नाम विपना राखिदिएका थिए । जन्मिएकामध्ये चार सन्तान जिवित थिए । सबैले विपनालाई औधि माया गर्थे । परिवारको लाड प्यारमा हुर्किएकी थिइन् उनी । बुवा स्वर्गीय भइसकेपछि पनि उनलाई केवल बुवाको अभाव भयो, मायाको भावअ खड्किएन कहिल्यै ।

उनी हक्की स्वभावकी थिइन् । पीता राजनीतिमा सक्रिय थिए, राजा महेन्द्रदेखि वीरेन्द्रसम्मको मन परेका मान्छे । त्यतिबेला भनसुनका भरमा जागिर मिल्थ्यो, त्यसकारण उनको घरमा मान्छेको आउजाउ टुट्दैनथ्यो ।

गाउँलेहरु विपनाका कुरा सुनेर ‘सानी छोरी त बाठी छे’ भन्थे । बुवाले पनि हो मा हो मिलाउँदै भन्थे– ‘भारतमा पहिलो महिला प्रधानमन्त्री इन्दिरा गान्धी बन्नुभयो, नेपालमा मेरी छोरी पहिलो महिला प्रधानमन्त्री बन्छे ।’

यति भनेपछि विपना फुरुंगै हुन्थिन् । झनै हौसला मिल्थ्यो अनि रेडियो अगाडी गएर बडो चनाखो भएर समाचार सुन्थिन्, बुझेजस्तैगरी । उनको रुची देखेर बुवा खुशी हुन्थे । दंग पर्थे ।

तर बुवाले देखेको सपना पुरा हुनै पाएनन् । डिप्लोमा (बीए) कम्पिलट नै नगरी उनको विवाह भयो । घरधन्दामै फसिन् विपना ।

०००

उज्यालो भएपछि उनले आफ्नो गन्तव्य तय गरिन् । माइतीकाे सहयाेगमा ब्युटिसियनको तालिम लिइन् । पार्लर खोलिन् । डान्सपार्टी, फेसन सोहरु अर्गनाइज गर्न थालिन् ।

तर उनको पौरख, हिम्मत कसैले नियालेनन्, नियाले त केवल उनको एक्लोपन । उनको एकल संघर्षको प्रशंसा कहिल्यै भएन, बरु पटक पटक शंकाको दृष्टिले हेरियो । उनले ती कुराको वास्तै गरिनन्, निरन्तर कर्म गरिरहिन् ।

सन्तान हुर्किँदै थिए । विपनाले चलचित्र क्षेत्रमा मेकअप आर्टिस्टको रुपमा पनि काम गर्न थालिन् । त्यसैक्रममा उनको भेट भयो वरिष्ठ कलाकार दिपक क्षेत्रीसँग । कामको शिलशिलामा भएको भेट विस्तारै प्रेममा परिणत भयो ।

‘घर छोडेर हिँडेपछि मैले अर्को बिवाह नगर्ने अठोट लिएकी थिएँ । किनकी मैले दोस्रो विवाह गरेँ भने छोराछोरीको माया खोसिन्छ भन्ने लाग्थ्यो । तर दिपक क्षेत्रीको अभिभावकत्वले हामी नजिकियौँ’, उनले भनिन् ।

दिपक क्षेत्रीको आगमनपछि भने उनको जीवनको गमलामा खुशीको फुल फुल्यो । श्रीमानको साथ र माया कस्तो हुन्छ, त्योपनि अनुभुति गर्न पाइन् उनले । छोराछोरीले बाबु पाए, विपनाले अभिभावक पाइन् अनि एक्ला दिपकले परिवार पाए ।

कलाकार क्षेत्रीले आफ्नै सन्तानजस्तै गरी उनको छोराछोरीको संरक्षण गरिदिए । एक्लो हुँदा विपनाले गरेका काममाथि प्रश्न उठाउनेहरुले अब भने उनको प्रसंसा गर्न थाले, हिम्मतवाली र आँटिलीको दर्जा दिए ।

विपना भन्छिन्– ‘कुमार केटोले बच्चासहितकी आमालाई अपनायो । योभन्दा उदाहरणीय कार्य के हुन सक्छ ? रविले सधैँ रक्सी खाएर पिट्थ्यो तर दिपकले एक थप्पड हानेन मलाई । मायैमाया दियो । यस्ताे पनि लाेग्ने मान्छे हुनेरहेछन् !’

यद्यपी दिपकलाई आफ्नो जीवनबाट भगवानले चाँडै खोसेकोमा भने गुनासो छ उनलाई । भन्छिन्– ‘भगवान मलाई खुशी राख्न चाहन्थे भने दिपक अझै दुई चार वर्ष बाँच्थे । उनी स्वर्गीय हुने बेलामा मुख समेत देख्न पाइनँ मैले ।’

कलाकार क्षेत्रीको निधन हुने समय विपना एक कार्यक्रमको शिलशिलामा छोरीसँग मलेसियामा थिइन् । यहाँ घरमा दिपक र छोरा मात्रै थिए । विपना मलेसिया जानुअघि दिपकले बारम्बार भन्दै आएका थिए– ‘तिमी जान त जान्छ्यौ तर आउँदा मेरो मुख देख्न पाउँदिनौ तिमीले !’ दिपकले जे भनेका थिए त्यही भयो । उनले मुख देख्न पाइनन् !

प्रतिक्रिया