कहिले सकिन्छ सुनकोसी मरिन–डाइभर्सन आयोजनाको काम ?

काठमाडौं । गत माघमा ‘गेम चेन्जर’ आयोजनाको रुपमा व्याख्या गर्दै राष्ट्रिय गौरवका आयोजनाको सूचीमा समावेश गरिएको आयोजना सुनकोसी–मरिन डाइभर्सनको निर्माण सुरु भएको छ ।

अहिले आयोजनाको सुरुङ निर्माणका लागि आवश्यक टनेल बोरिङ मेसिन (टीबीएम) फिट गर्ने पोर्टाल निर्माण, राजमार्ग स्थानान्तरण र क्याम्प निर्माणको काम सुरु भएको आयोजना प्रमुख सुशीलचन्द्र आचार्यले जानकारी दिए ।

‘राजमार्ग सार्ने, क्याम्प निर्माण, टीबीएमका लागि पोर्टाल निर्माणजस्ता काम सुरु भइसकेका छन्,’ मकालु खबरसँग उनले भने, ‘निर्माण ठेकेदार कम्पनीको डिजाइन टोलीसमेत निर्माणस्थलमा खटिइसकेको छ ।’

उनका अनुसार टीबीएम मेसिनको डिजाइन गर्ने कार्य पनि साथसाथै भइरहेको छ । टनेलको नापअनुसारको टिबीएम मेसिनका पार्टपूर्जा निर्माण गरी मेसिन जडान गर्न १ वर्षभन्दा बढी समय लाग्ने देखिएको उनले जानकारी दिए । टीबीएम मेसिन निर्माण हुनेबेलासम्म पोर्टल निर्माण र राजमार्ग स्थानान्तरणलगायतका काम सक्ने गरी काम सुरु गरिएको उनले बताए ।

४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनाअन्तर्गत साढे ५ मिटर चौडाइको १३ किलोमिटर लामो सुरुङ निर्माण गर्ने योजना छ । यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), सुरुङको विस्तृत डिजाइन, वातावरणणीय प्रभाव मूल्यांकन (ईआइए) तयार भइसकेको छ ।

आयोजनाको सुरुङ निर्माण गर्न पुरानो प्रविधिअनुसार ६ वर्ष लाग्ने देखिएपछि टीबीएमको प्रयोगले १ वर्ष ७ महिनामै सकिने देखिएको छ ।

यसअघि नेपालमै पहिलोपटक टीबीएमको प्रयोग गरी भेरी–बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण गरिएको थियो । त्यही सफल प्रविधिलाई यो सुरुङमा पनि प्रयोग गर्न लागिएको हो ।

आयोजनाको मुख्य संरचना हेडवर्क्स बनाउने क्षेत्रमा ३६ विगाहा र पावरहाउस बनाउने क्षेत्रमा १३ बिगाहा गरी ४९ विगाहा जग्गा अधिग्रहण गरिसकिएको छ । यो सिँचाई आयोजना भए पनि सुनकोसीको पानी सुरुङबाट मरिन खोलामा खसाल्ने क्रममा बीचमा पावरहाउस बनाई २७ मेगावाटसम्म विजुली उत्पादन गर्न सकिने भएपछि यो आयोजनालाई बहुउद्देश्यीय आयोजनाको रुपमा अघि बढाइएको हो ।

५ जिल्लाको १ लाख २२ हजार हेक्टर सिँचाई, २७ मेगावाट बिजुली
आयोजनाबाट सुनकोसीको ६७ क्युमेक्स पानी मरिनमा खसाल्ने र मरिनमार्फत् बागमतीमा मिसाउने योजना छ । त्यो पानीबाट बागमती सिँचाई आयोजनामार्फत् प्रदेश- २ का ५ जिल्लाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाई पुर्‍याउने योजना छ । आयोजनाको सुरुङलाई हेडरेसको रुपमा प्रयोग गरी २७ मेगावाट बिजुली निकाल्ने योजना छ ।

आयोजनाको बाँध (हेडवर्क्स) सुनकोसी र तामाकोसी नदीको संगमस्थलभन्दा ७ सय मिटर तल्लो तटमा निर्माण गर्ने योजना छ । उक्त बाँध निर्माण भएपछि डुबानलगायत कारणले बाँधस्थल रहेको (खुर्कोट) क्षेत्रमा ३ किलोमिटर सार्नुपर्ने भएको आयोजना प्रमुख आचार्यले जानकारी दिए । आयोजनाबाट ५२ घर र ५४ बिगाहा जमिन मात्र डुबान तथा विस्थापित हुने हुँदा आयोजनालाई आकर्षक मानिएको उनले बताए ।

प्रतिक्रिया