गाँजा, भाङ र धतुरोकाे असर : बेचैनीदेखि डिप्रेशनसम्म
- सृष्टि नेपाल
काठमाडौं । प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्रि पर्दछ । यो भगवान शिवको प्रमुख पर्व हो, यसदिन हिन्दू धर्मावलम्बीहरुले विभिन्न शिवालय गएर शिवको पूजाआजा गर्ने, व्रत बस्ने, नाचगान गर्ने गर्दछन् ।
आज बिहानैदेखि देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । शिवभक्तहरु रातभर जागा बसेर आगो ताप्ने, गाँजा, भाङ, धतुरो सेवन गरेर रमाउँछन् । गाँजा, भाङ, धतुरोलाई शिवको प्रसादको रुपमा पनि लिइन्छ ।
यद्यपी शिवरात्रीका दिन गाँजा, भाङ, धतुरो खानुपर्छ भनेर शास्त्रमा कहीँ पनि उल्लेख नगरिएको, यी कुराहरु किंवदन्तीका रुपमा मात्रै आएको ज्योतिष तथा पण्डितहरु बताउँछन् ।
गाँजाको खुलेआम प्रयोग नेपालमा प्रतिबन्धित छ, यसलाई दुर्व्यसनीका रुपमा लिइन्छ । गाँजामा औषधिय गुण भएतापनि यसकाे मनाेमानी प्रयाेगले मानव स्वास्थ्यमा असर गर्ने कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका पूर्व अनुसन्धान अधिकृत डा. प्रेरक रेग्मी बताउँछन् । ‘नेपाली समाजमा गाँजा स्वास्थ्यका लागि राम्रो भनिन्छ तर नेपालमा उत्पादित गाँजाबारे अहिलेसम्म वैज्ञानिक एवम् तथ्यगत रुपमा प्रमाणित भइसकेको छैन,’ उनले मकालु खबरसँग भने, ‘नेपालमा यसलाई लागूऔषधिको सूचीमा राखिएकाे छ, त्यसकारण यसकाे प्रयाेग उचित छैन ।’
गाँजा, भाङ र धतुराेका बेफाइदा
डा. रेग्मीका अनुसार पीएसडी र पीबीडीको मात्रा सन्तुलित छ/छैन भन्नेबारे अनुसन्धान भइसकेका गाँजा मात्रा उपभोगका लागि याेग्य मानिन्छ । तीमध्ये एक रसायनकाे मात्रा बढी भएकाे गाँजा स्वास्थ्यका लागि राम्राे मानिँदैन । गाँजामा रसायन तत्व कति मात्रामा छ भन्नेमा भर पर्छ त्यसको असर ।
नेपाली समाजमा गाँजा संस्कृतिका आडमा प्रयोग हुँदै आएको छ, यसका प्रयाेगकर्ताहरू धेरै भेटिन्छन् । गाँजालाई सुकाएर चुरोटको खिल्लीमा राखेर प्रयोग गर्ने गरिन्छ । पहिला पनि हुक्का, तुम्बाका रुपमा प्रयोग गर्ने गरिन्थ्यो । तर याे लागुऔषध नै हो, खान मिल्दैन । किनकि नेपालमा गाँजालाई लागुऔषधको दर्जामा राखिएको छ, यसबारे वैज्ञानिक अनुसन्धान भएका छैनन् । अनुसन्धान भएर खानयोग्य तथा फाइदाजनक भन्ने प्रमाणित भएपछि मात्रै सेवन गर्न सकिन्छ, औषधिका रुपमा मात्रै ।
अन्तर्राष्ट्रिय मुलुक जहाँ गाँजामाथिको प्रतिबन्ध हटाइएको छ, त्यहाँ पनि औषधिका रूपमा मात्रै गाँजा खुला गरिएकाे हाे । स्थानीय उपभोगका लागि धेरै ठाउँमा प्रतिबन्ध नै छ । ‘बाटोमा भेटियो, खाने, त्यो होइन । नेपालमा खुला गरियो भने पनि औषधिका रुपमा नै खुला गरिने हो, खुला रुपमा खान होइन । अस्तव्यस्त रुपमा लिनु भनेको हानिकारक नै हो’, उनले भने ।
ग्रामिण भेगतिर भाङको गेडा अचारका रुपमा प्रयोग गरेकाे पनि पाइन्छ । यो पनि औषधिमा प्रयोग हुन्छ । पहिले वैद्यखानाले यसलाई अन्य औषधिमा मिसाएर विभिन्न राेग निकाे पार्न प्रयाेग गर्ने गरेकाे थियाे तर अहिले प्रतिबन्धित नै छ । धतुरोका बारेमा विभिन्न वैज्ञानिक तथ्यहरु आउँदैछन्, यसबारे पूर्ण रुपमा अनुसन्धान भइसकेकाे छैन । यसलाई पनि लागुऔषधको रुपमा नामाकरण गरिएको छ, खानु उपयुक्त नहुने डा. रेग्मीले बताए ।
गाँजाकाे सेवनले मानसिक बिमारी बढ्ने गरेकाे विदेशमा भएका अनुसन्धानमा पाइएकाे उनले बताए । ‘विदेशमा भएका अनुसन्धानका आधारमा भन्ने हो भने गाँजाकाे दिर्घकालिन प्रयोगले मानिसमा डिप्रेशन लगायत मानसिक राेगकाे शिकार हुने गरेकाे पाइएकाे छ,’ उनी भन्छन्, ‘यसकाे प्रयाेगकर्ता विभिन्न अपराधिक गतिविधिमा संलग्न भएको घटनाहरू पनि छन् । त्यसैको आधारमा यसलाई प्रतिबन्ध लगाइएको हो । गाँजा डिप्रेसिभ प्रकृतिकाे हुन्छ । यसकाे अत्यधिक सेवनले दिमाग मन्द हुने, डिप्रेशन हुने हुन्छ । यस्तै छट्पटी हुने, रिस उठ्ने, चिड्चिडाहट हुने, एकाग्र हुन नसक्ने समस्या पनि देखिन्छन् ।’
‘बिरामीले चिकित्सककाे निगरानी एवम् सल्लाहमा प्रयाेग गरे दुर्लभ राेगसमेत निकाे हुन्छ’
नेपालमा न गाँजाकाे असरबारे अनुसन्धान भएका छन् न त औषधिय गुणबारे नै वैज्ञानिक अनुसन्धान एवम् परीक्षण नै भएका छन् । विदेशमा भएका अनुसन्धानका तथ्यहरू हेर्ने हाे भने गाँजा क्यान्सरकाे औषधिमा पनि प्रयोग भएकाे पाइन्छ । डा. रेग्मीका अनुसार दुखाइ व्यवस्थापनका लागि पनि गाँजाको प्रयोग भएको देखिन्छ ।
‘चिकित्सककाे निगरानीमा सही मात्रामा गाँजा प्रयोग गरियो भने मानसिक रोग पनि निकाे भएकाे पछिल्लो अनुसन्धानमा पाइएकाे छ । औषधिय रुपमा ठिक मात्रा प्रयोग गर्दा विभिन्न दुर्लभ रोगहरु समेत निर्मूल भएकाे पाइन्छ,’ उनले बताए ।
उनका अनुसार अहिले नेपालमा उत्पादित कुनैपनि औषधिमा गाँजाकाे प्रयाेग भएकाे छैन । विदेशमा आँखासम्बन्धी रोग, धेरै दुखाइ हुने रोगहरुको औषधिमा यसको प्रयोग भएको पाइन्छ ।