नारीशक्ति र यथार्थता
- सुष्मा दाहाल
सत्य युगमा नारी शक्ति
महान् थियो, सक्षम थियो ।
समयको चक्रसँगै
जब नियमका फेरा र घेराहरु
बेरिँदै आए, कोरिँदै आए
सामाजिक लिङ्गभेदले
ती युगका सोचहरू बदल्दियो
पुरुष समान शास्त्रार्थमा
गार्गी, मैत्रेयीजस्ता विदुषी पनि सामेल थिए
समयले द्रौपदी, सीता जन्मायो
कहाँ कमी थियो र शासनसत्तामा राजेन्द्रलक्ष्मी, वृषभानुदेवीहरुको
पृथ्वीको ध्रुवमा पुग्नेदेखि
चन्द्रतल, सगरमाथाको उचाई नाप्ने,
चेपेमा सहस्र स्तनधारा बगाई
भ्रातृत्व जोगाउनेदेखि
विज्ञान प्रविधिको नयाँ आविस्कार देखाउने
कहाँ पुगेका छैनन् र केमा कमी छन् र उनीहरू
तर पनि समयले विभेद रचिरहेछ
तिनै नारी सुरक्षाको अभावमा
रोजिरोटीको अभावमा
जिउनुपर्ने बाध्यतामा
आत्मा बेचिरहेछन्,
ईच्छा मारिरहेछन्
कतै भाग्यको कसौंडीमा बाफिएर त
कतै नाताको चक्रव्यूहमा रुमल्लिएर
कतै चारदिवारी बनेर त कतै
बेसहारा बनेर
कानुनी र अधिकारहरुको
सही ठाउँमा पुग्न सकेका छैनन्,
त्यहाँ पनि बुझ्नेकै हालिमुहाली छ,
सक्नेकै रजाइँ छ,
कतै चन्दननाथको
वरदानको विश्वासमा त
कतै मेलौली, छाउपडीको आडमा
आफैँलाई बिताउँदैछन् नारीहरू ।
समानताको नारा रचेरमात्र के गर्नु
शोषण छँदैछ, हेराइको
शोषण छँदैछ, ओहदाको
शोषण छँदैछ, जातको
मतलब, स्वरुप फेरियो
तर शोषण चलिरहेकै छ सदियौँदेखिको ।