नेपालको अर्थतन्त्र लय समाउँदै : गभर्नर अधिकारी
- सुमन सुस्केरा
विराटनगर । राष्ट बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले कोरोनाको कारण अस्तव्यस्त बनेको अर्थतन्त्रले लय समात्न समय लाग्ने बताएका छन् । कोभिडको कारण विश्वको अर्थतन्त्र नै समस्याग्रस्त रहेकाले अर्थतन्त्र पहिलाको अवस्थामा आउन समस्या रहेको बताएका हुन् ।
विराटनगरमा उद्योग संगठन मोरङको ४८ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले व्यवसायीहरूलाई राज्यको मौद्रिक नीतिले समेटेकाले व्यवसाय संचालनमा समस्या नरहेको बताए । बैंकमा रहेको ऋण तिर्न समस्या भएको बेलामा पनि ब्याजदरमा छुट दिइएको स्पष्ट पारे ।
उद्योगीको गुनासो बैंक तथा वित्तीय संस्थासँग हुने गरेको स्मरण गराउँदै उनले कोभिडको बिचका तीन महिनामा १३ अर्ब रुपैँयाँ ब्याजदरमा उद्योगहरुले छुट पाएको बताए । ‘कोभिडको ३ महिना वैशाख, जेठ र असारमा मात्र १३ अर्ब रुपैँयाँको ब्याजदरमा छुट दिइएको छ,’ उनले भने, ‘तर हामीले बैंक तथा वित्तीय संस्थालाई गलत रुपमा हेर्न हुँदैन, अप्ठेरोमा सहयोगी नै भएका छन् ।’
उनले साउनयता १ खर्ब पुनर्कर्जा गएको जानकारी दिए । पुनर्कर्जा पाइएन‚ समस्या भयो भनेर भौँतारिनुपर्ने अवस्था नभएको उनको भनाइ छ । सबै व्यवसायीले पुनर्कर्जा प्राप्त गरेको उनले बताए ।
गभर्नर अधिकारीले साउनयता ५ सय ७७ अर्ब कर्जा प्रवाह भएको समेत सोही अवसरमा जानकारी दिए । उनले ५ खर्ब निक्षेप संकलन भएको समेत बताएका छन् । गभर्नर अधिकारीले ऋणको लिने सन्दर्भमा व्यवसायीलाई सजग हुन समेत भनेका छन् ।
एउटा फर्मबाट कर्जा लिँदा लिँदै अर्को फर्म दर्ता गरेर आफ्नो घर नभएको, व्यवसाय पनि नभएको, मालवस्तु पनि आफ्नो नभएको फर्मबाट ऋण लिने काम भएकाले यस्ता विषयमा सजग हुन उनले सुझाव दिएका हुन् ।
उद्योगी व्यापारीका गुनासै गुनासा
उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको अर्थतन्त्र तंग्रिँदै गएको बताए । नेपालको अर्थतन्त्र देखेर विश्वले नै नमूनाको रुपमा हेरेको बताउँदै गोल्छाले देशको अर्थतन्त्र राम्रो रहेको स्पष्ट पारे ।
‘होटल, सिनेमा र पर्यटनबाहेक सबै क्षेत्र अघि बढेको छ,’ गोल्छाले भने, ‘राष्ट्र बैकको नीतिले यो अवस्था आएको हो ।’ राज्यले दिने भनेको पुनर्कर्जामा समस्या रहेको उनले बताए ।
‘साना र मझौलालाई पुनर्कर्जा पाउन सकेका छैनन्,’ उनले भने, ‘पुनर्कर्जा प्राप्त गर्ने व्यवस्थालाई परिमार्जन गर्नुपर्छ । गोल्छाले १० वर्षमा २२ लाख रोजगारी सिर्जना गर्ने खाललको नीति उद्योग वाणिज्य महासंघले लिएको उल्लेख गरे । ‘उद्योग वाणिज्य महासंघले १० क्षेत्रको पहिचान गरेकाले ती १० क्षेत्रमा लगानी गरी २२ लाखलाई रोेजगारी सिर्जना गर्ने कार्ययोजना तयार भइसकेको छ,’ अध्यक्ष गोल्छाले भने, ‘चैत मसान्तसम्ममा डकुमेन्ट बनाउने काम सकिनेछ।’ उनले निजी क्षेत्रको काम गर्ने शैली परिवर्तन गर्न जरूरी रहेको औँल्याएका छन् ।
कार्यक्रममा बोल्दै मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले राजश्वमुखी नीतिका कारण व्यवसायी समस्यामा परेको बताए । उद्योगीमैत्री नीति अवलम्बन गरी उद्योगीको लगानीको वातावरण बनाउन उनले सरकारलाई सुझाव दिए । उद्योगी सुशील धनावतले संगठन रहे उद्योगी रहने, उद्योगी रहे श्रमिक रहने, श्रमिक रहेमात्र सरकार र देश रहने भएकाले उद्योग संरक्षण हुनुपर्नेमा जोड दिए ।
चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लले विराटनगरमा ड्राइपोर्टको जरूरी रहेको बताए । उनले ‘वाटर वे’ खोल्न समेत राज्यको ध्यान जानुपर्ने बताए । उनले राष्ट्र बैंकलाई अनलाइन कारोबार गर्दा प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न सुझाव दिए ।