उत्सवले कर्णालीलाई समृद्धि र वैभवको थलाेका रुपमा चिनाउँदै छ : प्रकाश लामिछाने
काठमाडौं । कर्णाली प्रदेशको केन्द्र सुर्खेतमा आयाेजना गरिएकाे दाेश्राे कर्णाली उत्सव शनिवार सम्पन्न भएकाे छ । कुडा कर्णालीका नारा रहेके उत्सवमा कर्णालीलाई केन्द्र मानेर भाषा साहित्य, कला विकासलगायत जीवनका विविध पक्षहरुबारे कुरा सुन्ने र सुनाउने काम भएको आयोजकले जनाएको छ । उत्सवका बारेमा हामीले कर्णाली उत्सवको अवधारणादेखि नै संलग्न तथा उत्सवकाे विषयवस्तु छनोटकर्ता अर्थात् कन्टेन्ट काेअर्डिनेटर प्रकाश लामिछानेसँग कुराकानी गरेका छौँ ।
दोश्रो कर्णाली उत्सब कस्तो रह्यो ?
यसपटक कर्णाली उत्सव पोहोरभन्दा अझ धेरै समावेशी र हरेक दिनको अलग अलग थिमसहितको थियो । पहिलो दिन हाम्रो मान्नमी भनेर कर्णालीको भुगोल, संस्कृति, सम्प्रदाय र सभ्यताको बारेमा छलफल भयो । दोश्रो दिन सुर्केथैली शिर्षकमा कर्णालीको आर्थिक विकास, सामाजिक विकास, शैक्षिक विकास, लगानी आदिबारे छलफल भयो । तेश्रो दिन कैथा नेता कैथो नेतृत्व शिर्षकमा हामीले राजनिति, जनप्रतिनिधि, लोकतान्त्रिक अभ्यास र गैह्र सरकारी क्षेत्रमा कस्ता नेता र कस्तो नेतृत्व चाहेका थियौं, पायौं कस्तो भन्ने बारेमा छलफल भयो ।
यसपटक पोहोरको भन्दा के खास रह्यो ?
पोहोरभन्दा फरक यसपाली हामीले पैकेलोका कथाहरु पनि सुन्न पायौँ र यता सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सवको तयारी हुँदै गर्दा प्रदेशभित्रका थप अरु केही जिल्लाहरुमा एक एक दिनको स्याटेलाइट सेसन पनि गर्यौँ । स्याटेलाइट सेसन भनेको कर्णाली उत्सव अघि सुर्खेतमा उत्सवको माहौल बनाउन र स्थानीय सवाल संकलन गर्न र सहभागितामुलक संवाद सबैतिर रहोस् भनेर परिकल्पना गरिएको आइडिया हो । यो पनि हाम्रो लागि नौलो अनुभव हो ।
यस्ता उत्सब महोत्सवहरु उस्तै उस्तै खालका भए, विषय र वक्ता उहीँ भए भन्ने गुनासो बढ्न थालेको छ नि !
वक्ता र विषय उस्तै भन्ने कुरा आंशिक सत्य भएपनि पूर्ण सत्य होइन । हाम्रो कार्यक्रममा सत्र संचालक र वक्ता गरेर ४० प्रतिशत बाहिरका र ६० प्रतिशत यहीँका हुनुहुन्थ्यो । विषय पनि सकेसम्म फरक थिए, कति विषय उस्तै लागेपनि सन्दर्भ फरक थियो । यसलाई पनि स्विकार गर्नुपर्छ ।
सक्दो सबै क्षेत्रलाई जोडेका छौँ । पैकेलो अर्थात् कर्णालीका हिरोहरु भनेर कर्णालीका विभिन्न प्रतिभा र उदाहरणीय व्यक्तित्वका कथाहरुले अलग अलग प्रस्तुतिसहितका सत्रहरु भए । झापादेखि महेन्द्रनगर, डोल्पादेखि जनकपुरसमेतलाई कर्णाली उत्सवले समेटेको छ । कुनै एक संस्करणको ३ दिनमा हुने १४ वटा सत्रहरुमा ७७ वटै जिल्ला, ७५३ वटै स्थानीय तहलाई समेट्न त सम्भव पनि कहाँ हुन्छ र ? तर तपाँईको कुरालाई यसरी पनि भन्न सकिन्छ कि हामीहरुको मनमा यो विचार छ, यसलाई कार्यान्वयन गर्ने दृढ संकल्प छ भने कर्णाली उत्सवको १० औँ संस्करणसम्ममा पुग्दा यो तथ्याङ्क पनि अवश्य छुन सकिन्छ । हैन र ?
उत्सवमा कर्णालीका कुरा कम बरु काठमाडौंका कुरा बढि सुनाइएको भन्ने आरोप पनि लाग्याे नि ?
आरोप लगाउन, प्रश्न सोध्न पाइन्छ तर त्यसका लागि कुरा सुन्न पनि सक्नुपर्छ । कर्णाली उत्सव कुनै क्षेत्रीय बहस कार्यक्रम होइन । होला भुगोलका हिसावले या भाषाका हिसाबले कसैलाई यो आञ्चलिक लाग्ला, एउटा प्रदेश मात्र लाग्ला तर हाम्रो लागि कर्णाली हाम्रो मान्नमी हो अर्थात् ब्रम्हाण्ड हो । यसलाई हामी विश्वब्यापी बहस कार्यक्रम बनाउन चाहन्छौँ । कतिपय कुरा एकै बर्षमा सम्भव नहोला तर क्रमिक सुधार गर्दै हामी कुनै अमुक ठाउँको मात्र कुरा गर्ने थलो नभई यो कार्यक्रमलाई विश्वका जुनसुकै ठाउँका दिग्गजहरुले पनि आफ्ना कुरा सुनाउने र कर्णालीकाले ती कुरा सुन्ने साथसाथै कर्णालीकाले पनि आफ्ना कुरा सुनाउने र उनीहरुले तिनका कुरा सुन्ने थलो बनाउन चाहन्छौँ । अब यो चाहना गलत हो या सही हो यहाँहरुले नै विश्लेषण गरिदिनुहोला ।
नेपालमा साहित्यलगायत विभिन्न क्षेत्रका उत्सव, महोत्सब आयोजना गर्ने क्रम बढेको छ । कर्णाली उत्सब विशेष किन छ ?
कर्णाली कुनैबेला भाषा, कला साहित्य आदिको केन्द्र मानिन्थ्यो । कर्णालीमा पनि खासगरी सिंजा उपत्यकालाई आज हामीले बोल्ने गरेको खसनेपाली भाषाको उद्गम स्थान मानिन्छ । जुन भाषा बोल्नेहरुलाई हामी नेपाली भाषी भन्छौँ र ती नेपालीभाषीहरु नेपालमा मात्र छैनन् । भारत, भुटान र बर्मासम्म छरिएका छन् । उनीहरुलाई समेत हामीले बोल्दै आएको भाषा त यहाँको रहेछ भन्ने चिनाउन, कर्णाली भोकमरी र अभावको मात्र विम्ब होइन सम्मृद्धि र वैभवको पनि स्थल हो भन्ने कुरा बुझाउन र यहाँका नागरिकलाई प्रश्न सोध्ने बनाउन पनि यो उत्सव आयोजना गरिएको हो ।
यो कार्यक्रम विशेष यसकारण छ कि कर्णाली आफैमा विगत १००/१५० बर्ष यताको सरकार/राज्यले उपेक्षा गरेको भुगोल हो । संघीयतामा जाँदै गर्दा पनि चारजनाले शहादत प्राप्त गरेको कान्छो प्रदेश हो । समावेशिता र संघीयता संधै खोजिरहेको प्रदेश हो । यो उत्सवमा हामी यहि पाटोलाई मिहीन रुपमा केलाउँदै मन्थन गर्छौँ । यो साहित्य महोत्सव मात्रै होइन विविध विचारहरुको चिन्तन, मन्थन र गन्थनको चौतारी हो ।
महोत्सवको पहिलो संस्करणको प्रभाव कस्तो रह्यो त ?
अवश्यपनि कृयापछि प्रतिकृयाको अपेक्षा हुन्छ । प्रश्न उठाइसकेपछि त्यसको सम्बोधन भयो कि भएन भनेर खोज्ने काम त हुन्छ नै । यो कर्णाली उत्सवको दोश्रो संस्करण हो । पहिलो संस्करण सम्भवत कोभिड–१९ आउनु अघिको नेपालको अन्तिम सार्वजनिक कार्यक्रम थियो होला । दोश्रो संस्करण पनि हामीले कोभिड महामारी नसकिएकै अवस्थामा त्यसको तयारी गर्नुपरेकोले उपलब्धीलाई पुर्ण रुपमा विश्लेषण गरिसकेका त छैनौँ तर तपाँईले भनेझैँ प्रभावको अध्ययन गर्ने काम सुरु गरेका छौँ । केही दीर्घकालिन प्रभाव होलान् केही उत्तिनखेरै देखिने प्रभावहरु पनि होलान् । जे होस्, प्रभावहरु छन् ।
उत्सव आयोजनाका खर्चको चाँजोपाँचो कसरि जुटाउनुभएको छ ? हरहिसाब सार्वजनिक पनि गर्नुहुन्छ कि ?
प्रारम्भिक खर्च विवरण त उत्सव समापन भएको हप्ता १० दिन भित्रै सार्वजनिक हुन्छ । विस्तृत विवरण चाहिँ अडिट रिपोर्टसंगै सार्वजनिक गर्छौँ । आयोजक संस्था ऋति फाउण्डेशनले यसमा अवश्य नेतृत्वदायी भुमिका खेल्नेछ ।