व्यवसायी भन्छन्- खुवालुङ जोगाएरै पानीजहाज चलाउन सकिन्छ

  • सुमन सुस्केरा

विराटनगर । ‘…सप्तकोशीमा स्टीमर चलेपछि अहिले चतराबाट ११ मिनेटमा भोजपुर पुग्छ र ११ मिनेटमा ल्याउँछ । त्यहाँ बाधा गर्ने एउटा ढुंगो छ, त्यसलाई क्रेन लगाएर फुटाउँदैछौँ । नदीको बाटो क्लियर गर्दैछौँ स्टिमरका लागि…’ प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ८ गते बिराटनगरमा आयोजित सभामा दिएको यो अभिव्यक्तिपछि खुवालुङको विषय चर्चामा छ । आगोमा घिउ थप्ने गरी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले किराँत राई समुदाय आन्दोलित बनेको छ ।

प्रदेश सरकारले त्यसअघि नै खुवालुङलाई फुटाउने गरी बजेट नै विनियोजन गरेर काम थाल्न लागेका बेला अभियन्ताहरुकै कारण त्यो काम रोकिएको थियो ।

किराँत समुदायको इतिहाससँग जोडिएको र आस्थाको केन्द्र खुवालुङलाई प्रधानमन्त्री ओलीले ‘एक ढुंगो’का रुपमा मात्र लिँदै त्यसलाई फोड्ने बताएपछि यो आफूहरुको आस्थामाथि प्रहार भएको भन्दै किराँत समुदायले आपत्ति जनाउँदै आएको छ ।

उनीहरुले सामाजिक सञ्जाल, प्रेस विज्ञप्ति, समाचार र लेखरचनाहरूमार्फत् हुँदै मार्चपाससम्म गरेर प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै सरकारलाई दबाब दिइरहेका छन् ।

खुवालुङ्लाई नफुटाई स्टिमर चलाउनसकिने विकल्प रहेको अभियन्ता र स्टिमर व्यवसायीहरुले बताएका छन् ।
मकालु खबरसँग कुरा गर्दै उनीहरुले धार्मिक आस्थाका रुपमा रहेको खुवालुङ फुटाउनुको साटो जोगाएर स्टिमर चलाउन सकिने र यो क्षेत्रमा पर्यटनको विकास गर्नुपर्ने सुझाव दिएका छन् ।

खुवालुङलाई जोगाएरै स्टिमर चलाउन सकिन्छ : व्यवसायी
सप्तकोशी नदीको चौडाई करिब एक सय मिटर छ । तर खुवालुङले ओगटेको ४ मिटरमात्र हो । यसको विकल्पमा नदीको धारलाई कटान गरेर स्टिमर चलाउन सकिने व्यवसायीहरू बताउँछन् । बराहक्षेत्र म्यारिन एन्ड रिसोर्ट प्रालि. संचालक नविन पौडेल नदीको बिचतिर भएकाले केही समस्या भएपनि सरकारले चाहेमा समाधान गर्न सक्ने बताउँछन् । मकालु खबरसँग उनले भने, ‘बिचमा भएकाले जलमार्ग कताबाट लैजाने भन्ने भएको मात्र हो, उत्तरबाट च्यापेर गएपनि जलमार्ग खुल्छ, दक्षिणबाट च्यापेर लगेपनि जलमार्ग खुल्ने भएकाले खुवालुङलाई संरक्षण गरेर जानुपर्छ।’ व्यवसायी पौडेलले भने । ‘हामीले पनि वैकल्पिक मार्ग खोलेर जानुपर्छ भनेका छौँ’, उनले थपे, ‘जहाज चलाउन बढीमा १० मिटरको ट्र्याक चाहिन्छ, खुवालुङलाई अपहेलना गरेर होइन मानभाउ गरेर जानुपर्छ ।’

सप्तकोशी जल यातायात प्रालिका संचालक राजेन्द्र कार्की पनि उत्तरबाट आएको तमोरको भागमा बगर रहेकाले उत्तरी क्षेत्रबाट पानी डोल्याएर ल्याउने हो भने खुवालुङलाई नछोई स्टिमर चलाउन सकिने बताउँछन् । ‘खुवालुङलाई नफुटाई पानी उत्तरपटी डोल्याएर ठूलो खालको बोट चलाउन सकिने विकल्प छ र हामीले पनि यसै गर्नुपर्छ भनिरहेका छौँ ।’ मकालु खबरसँग उनले भने ।

खुवालुङ अरुण र तमोर नदी मिसिएर सप्तकोसी बन्ने त्रिवेणी नजिक सप्तकोशी नदीको बीचमा छ । दक्षिणमा उदयपुरको भाग पर्ने भएकाले यो क्षेत्रमा ठूलो पहाड छ । उदयपुरको भित्तो भएर पानी बगेको कारण यो क्षेत्रबाट पानी अन्यत्र पठाउन वा जमाउन सकिँदैन । यसको उत्तरी भाग भनेको तमोरको भाग हो । तर पानीलाई डोल्याएर लैजाने वा नदीको किनारको केही भाग कटान गरेर जल यातायातलाई चलाउन मिल्ने विकल्प रहेको व्यवसायीहरू बताउँछन् ।

व्यवसायीले पहिला खुवालुङलाई छलेर छेउबाट बाटो बनाएर लगेका थिए । तर बाढीका कारण त्यो बाटो पुरिएपछि अहिले त्यहाँबाट माथि लैजान समस्या भएको व्यवसायीहरू बताउँछन् ।

खुवालुङ मासिए एउटा आस्था नै सप्तकोशीमा विलय हुन्छ : अभियन्ता
खुवालुङ भएको स्थान अरुण र तमोर नदीको संगम रहेको त्रिवेणी नजिकै छ । यो भाग तमोरतर्फ पर्छ । यो ठाउँमा सप्तकोशीको पानी पूर्व-पश्चिम बगेको छ र उत्तरबाट तमोर नदी आउँछ । खुवालुङ किराँतीहरुको आदिम सभ्यतासँग जोडिएको स्थान हो । किराँत धर्मग्रन्थ मुन्दुममा समेत उल्लेखित र यहिँबाट पुर्खाहरू विभिन्न क्षेत्रतर्फ लागे भन्ने मिथक रहेको यो क्षेत्रलाई जोगाउनुपर्नेमा सरकारले नै विनाश गर्न खोज्नु पहिचान र आस्थामाथिकै प्रहार भएको भन्दै अभियन्ताहरुले खबरदारी गरिरहेका छन् ।

खुवालुङ जोगाउनुपर्ने अभियानका अभियन्ता जनकऋषी राई स्टिमर कुदाउन समस्या भए नदीको दायाँ बाँयाँ कटान गरेर फराकिलो पार्न सकिने विकल्प रहेको बताउँछन् । ‘अहिलेको समस्या भनेको स्टीमरलाई सहज रुपमा आवतजावत गराउने भन्ने हो’, मकालु खबरसँग उनले भने, ‘हाम्रो आस्थामा पनि चोट पुग्न नदिन र साना जहाज चलाउन पनि समस्या नहोस् भन्नका लागि खुवालुङ भएको ठाउँमा नदीको छेउको भाग काट्न सकिन्छ ।’ विकल्प दिँदादिँदै पनि खुवालुङ फुटाउनुपर्छ भन्ने कुरा प्रधानमन्त्रीले नै गर्न थालेपछि किराँत समुदायलाई चित नबुझेको उनको भनाइ छ ।

खुवालुङ बचाउ अभियानको नेतृत्व गर्दै आएका बलराम राईले मकालु खबरसँग भने, ‘खुवालुङ फोड्नु हुँदैन भन्ने नै हाम्रो भनाइ हो,’ बलरामले भने, ‘यो फोडिँदा किरातीहरूको आस्थामा गम्भीर आक्रमण त हुन्छ नै, इतिहासको कालखण्ड नै सप्तकोशीमा विलय हुन्छ ।’

खुवालुङ्लाई पर्यटकीय क्षेत्र बनाऔँ
सप्तकोशीमा स्टिमरलगायत जल यातायात सञ्चालन गरिरहेका व्यवसायीहरू यो क्षेत्रलाई मास्ने होइन जोगाउनुपर्ने बताउँछन् । खुवालुङको कुरा उठेपछि अहिले खुवालुङ रहेको क्षेत्रमा जानेको संख्या बढ्दो रहेको उनीहरुले बताए । बराहक्षेत्र म्यारिन एण्ड रिसोर्ट प्रालिका संचालक नविन पौडेल जलमार्गको नाममा खुवालुङलाई कसैले पनि चलाउन नहुने बताउँछन् । शनिबार खुवालुङ हेर्नकै लागि त्यो ठाउँमा एक सय जनासम्म पुग्ने गरेको व्यवसायीहरू बताउँछन् । ‘खुवालुङको कुरा उठेपछि अझ पर्यटक बढेका छन्, धेरै लगानी गरेर पर्यटकीय क्षेत्र बनाउनुपर्ने अवस्था रहेकोमा, अहिले आफैँ पर्यटकीय क्षेत्र बनेर बसेको खुवालुङलाई बचाउनुपर्छ,’ पौडेलले भने । खुवालुङ कुनै एक समुदाय वा धर्मको मात्र नभई सबैको सम्पदा भएकाले यसलाई बचाएरै जल यातायात चलाउनुपर्ने अर्का व्यवसायी कार्कीले बताए ।

खुवालुङ जोगाउन प्रदेश सरकार उदासीन
आस्था र संस्कृतिसँग जोडिएको सम्पदा मास्न नदिन गत माघ १ गते नै समिति बनाएर मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गराइरहेको खुवालुङ बचाउ अभियानको नेतृत्व गर्दै आएका बलराम राईले बताए । तर मूख्यमन्त्रीले यो विषयलाई गम्भीरतापूर्वक नलिएको उनीहरुको आरोप छ । ‘हामीले मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउँदा पनि खासै गम्भीर रुपमा लिएको पाएनौँ,’ बलराम राईले भने, ‘राई यायोख्खा केन्द्रीय कार्यसमितिले पनि काठमाडौँ जाँदा ध्यानाकर्षण पत्र बुझाएको थियो ।’

प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले जलमार्ग विस्तारका लागि २५ लाख रुपैयाँ दिने भौतिक पुर्वाधार राज्यमन्त्री अम्बीरबाबु गुरुङले प्रतिबद्धता जनाएका थिए । त्यो कार्यान्वयन नहुँदै खुवालुङको विषय उठेको हो ।

विभिन्न चरणको छलफल र वार्तापछि अहिले तत्कालका लागि काम रोक्ने सहमति भएको राइले बताए । छलफल अघि बढिरहेका बेला प्रधानमन्त्री ओलीको अभिव्यक्ति आएपछि आक्रोश चर्किएको र यो स्वभाविक भएको उनी बताउँछन् ।

खुवालुङ किराँतीको मात्र नभई सबै धर्मको आस्था र विश्वासको धरोहर भएको अभियन्ता जनकऋषी राईको दाबी छ ।

के हो खुवालुङ ?
मुन्दुमी लोककथाअनुसार किराँत समुदायका पुर्खा खुवालुङ क्षेत्रबाटै बाँडिएको मानिन्छ । थुप्रै समूहले पटकपटक खुवालुङ पार गरेको र खुवालुङ पार गरेपछि भने किराँतीहरू आआफ्नो बाटो लागेको उल्लेख रहेको मुन्दुम अध्येताहरू बताउँछन् ।

उहिले किराँती पुर्खाहरूले पार गर्ने बेला खुवालुङ बन्द थियो । पहिलो समूहले खुवालुङ खुलाउन जुरेली चराको भोग दियो ।

चराको रगत परेपछि खुवालुङ खुल्यो र पहिलो समूहले नदी पार गर्‍यो । लगत्तै दोस्रो समूह आइपुग्यो र आफ्नै चेलीको औंला थोरै चोट पारेर खुवालुङलाई रगत पारिदिएपछि खुवालुङ सँधैको लागि खुलेको र उनीहरू पनि कोसी तरेर पहाडतर्फ उक्लिएको मानिन्छ ।

प्रतिक्रिया