तस्वीरमा खुवालुङ
काठमाडौं । खुवालुङ पछिल्लो समय चर्चामा छ । धनकुटा, उदयपुर र भोजपुरको सीमा क्षेत्र त्रिवेणीस्थित अरुण र तमोर नदीको संगम स्थलभन्दा केही मिटर माथि अरुण नदीको बिचमा एउटा ठूलो ढुंगा नै खुवालुङ हाे । खुवालुङ सिंगो किराँत समुदायको धार्मिक तथा साँस्कृतिक आस्थाको केन्द्र हाे ।
यो ठाउँमा सप्तकोशीको पानी पूर्व-पश्चिम बगेको छ भने उत्तरबाट तमोर नदी आउँछ । खुवालुङ किराँतीको आदीम सभ्यतासँग जोडिएको स्थान हो । किराँत धर्मग्रन्थ मुन्दुममा समेत उल्लेखित र यहीँबाट पूर्खाहरु विभिन्न क्षेत्रतर्फ लागे भन्ने मिथक रहेको यो क्षेत्रलाई जोगाउनुपर्नेमा सरकारले नै विनाश गर्न खोज्नु पहिचान र आस्थामाथिकै प्रहार भएको भन्दै अभियन्ताहरुले खबरदारी गरिरहेका छन् ।
मुन्दुमी लोककथाअनुसार किराँत समुदायका पुर्खा खुवालुङ क्षेत्रबाटै बाँडिएको मानिन्छ । थुप्रै समूहले पटकपटक खुवालुङ पार गरेको र खुवालुङ पार गरेपछि भने किराँतीहरू आआफ्नो बाटो लागेको उल्लेख रहेको मुन्दुम अध्येताहरू बताउँछन् ।
उहिले किराँती पूर्खाहरुले पार गर्ने बेला खुवालुङ बन्द थियो । पहिलो समूहले खुवालुङ खुलाउन जुरेली चराको भोग दियो ।
चराको रगत परेपछि खुवालुङ खुल्यो र पहिलो समूहले नदी पार गर्यो । लगत्तै दोस्रो समूह आइपुग्यो र आफ्नै चेलीको औंला थोरै चोट पारेर खुवालुङलाई रगत पारिदिएपछि खुवालुङ सँधैको लागि खुलेको र उनीहरू पनि कोसी तरेर पहाडतर्फ उक्लिएको मानिन्छ ।
तस्वीरहरू