सन्तुलित आहार खानुहोस्, अस्पताल धाउनु पर्दैन

स्वस्थ र फुर्तिलो हुन सबैलाई मन लाग्छ, तर आफ्नो जिब्रो र स्वादमाथि नियन्त्रण कमै ब्यक्तीले मात्र गर्न सक्छन् । कुनै उत्सबको भोज होस् वा बिदाको दिन प्लान गरिने खाना केही मसलादार र भारी भईहाल्छ । अनि मान्छेहरु गुनासो पोख्न थाल्छन् हिजोको खानाले ग्याष्ट्रिक भयो, पेट दुख्यो आदी इत्यादी ।

विश्व स्वास्थ्य संगठनले २०१९ मा सार्वजनिक गरेको एक रिपोर्टमा बिभिन्न रोगबाट हुने मृत्युमा ६४ प्रतिशत मृत्यु नसर्ने रोगको कारणले हुने देखाएको छ । त्यस अन्तर्गत ३० देखि ७० उमेर समुहका ५० प्रतिशत मानिस धुम्रपान गर्नाले नसर्ने रोगको शिकार भएका छन् । बाँकी मानिसहरु खाद्य अनुशासनमा ध्यान नपु-याउँदा रोगी भएको रिपोर्टमा खुलाईएको छ ।

रिपोर्टमा नेपालका ९७ प्रतिशत जनसंख्याले डब्लूएचओको पोषण मापदण्डलाई बेवास्ता गरेको पत्ता लागेको छ । त्यती मात्र नभएर १० प्रतिशत मानिसले हाम्रो शरिरलाई चाहिने न्यूनतम ५ ग्रामभन्दा बढी सोडियम प्रयोग गर्ने गरेको पाईयो । त्यसको परिणाम स्वरुप नेपालका २५ प्रतिशत मानिस उच्च रक्तचापको चपेटामा परेको पनि रिपोर्टले सार्वजनिक गरेको छ ।

खानपानमा ध्यान नपु-याउँदा मानिसलाई प्राणघातक रोग समेत लाग्ने कुरामा पोषणविद् विनिता पन्त पनि सहमत छिन् । उनले मधुमेह, क्यान्सर, मुटुरोग, हृदयघात जस्ता रोगहरु खाने कुरामा गरेको लापरबाहीका कारण लाग्ने बताईन् । यस्ता रोगबाट बच्न कस्ता खानेकुरा खाने त ?

पोषणविद् विनिता पन्तको सुझाव:- पटक पटक खाने, थोरै खाने
नसर्ने रोग जुन खानेकुराको सन्तुलन नमिलेर लाग्ने गर्छ त्यस्ता रोग लाग्नै नदिन सन्तुलित खाना खानुपर्छ । सन्तुलित खानामा कुन तत्व कती हुनुपर्छ भन्ने कुरा आफैमा विवादित छ । किनभने भौगोलिक स्थिती र शारिरीक व्यायामको आधारमा यो सबैलाई लागु नहुन सक्छ । त्यस्तै मानिसको उचाई, तौल र उसको काम अनुसार खानाको मात्रा फरक पर्न सक्छ । सामान्य परिभाषामा हाम्रो शरिरलाई चाहिने सबै पौष्टिक तत्वहरु आवश्यक मात्रामा प्राप्त गर्न खाने खाना सन्तुलित खाना हो ।

सन्तुलित खानाको तत्वलाई ५ समुहमा बिभाजन गरिएको छ । यसअन्तर्गत अन्न समुह, दाल गेडागुडी समुह, फलफुल तथा तरकारी समुह, माछा मासु तथा दूधदही समुह र चिल्लो–गुलियो समुह पर्दछ । यी ५ समुहका खानेकुरालाई आश्यकता अनुसार मिलाएर गरिने भोजनलाई सन्तुलित भोजन भन्न सकिन्छ । धेरै मानिसहरुलाई यी समुहका खाना कसरी मापन गरेर खाने भन्ने बारे समस्या रहेको हुन्छ । त्यसैले सजिलोको लागि मुठीद्वारा मापन गर्न मिल्ने बनाईएको छ ।

एक ब्यक्ती स्वस्थ रहनका लागी दैनिक ६ देखि ११ मुठी अन्न खानुपर्छ । त्यसैगरी दाल र गेडागुडी समुहबाट दैनिक २ देखि ३ मुठी, फलफुल २ सय देखि ४ सय ग्राम, तरकारी ३ सय देखि ५ सय ग्राम, दूधदही २ सयदेखि ४ सय ग्राम, माछा मासु ८० देखि सय ग्राम र चिल्लो गुलियो दैनिक ३ देखि ५ चिया चम्चासम्म खान सकिन्छ ।

यी खानेकुरा जथाभावी रुपमा खानाले रोग निम्त्याउँछ । पहिलाका मानिसहरु शारिरीक श्रम धेरै गर्थे । त्यसले गर्दा जति चिल्लो, गुलियो खाएपनि शरिरले सजिलै पचाउँथ्यो । तर अहिले शारिरीक श्रम थोरै हुने भएकोले खाना पच्दैन र रोगको रुपमा देखापर्छ । प्राय मानिसको एकदम भोकले अताल्लिएपछि धेरै खाना एकैपटक खाने बानी हुन्छ ।

यो स्वास्थ्यको लागि घातक हो । त्यस्तै रातको समयमा धेरै खाना खाने चलन पनि छ । बेलुका परिवारका सबै सदस्य भेला हुने भएकाले धेरै क्यालोरी भएको खाना पेटभरी सङ्गै बसेर खाने चलन छ । यसो गर्दा सुत्नको लागि क्यालोरी बढी हुन्छ । फलस्वरुप दैनिक महिलाको लागि २००० र पुरुषको लागि २५०० आवश्यकता पर्ने क्यालोरी बेलुकाको मात्र खानाबाट प्राप्त हुन्छ । यसरी मान्छेले मोटोपना आफै निम्त्याउँछ ।

मान्छेमा दिनभरी काम गरेको छु यती खाना त पचाउँछु भन्ने भ्रम पनि रहेको हुन्छ । तर दिउँसो गरेको कामले साँझको खाना पच्दैन । र सुत्नको लागि धेरै क्यालोरी आवश्यकता पर्दैन । यो ख्याल हुनुपर्छ । त्यसैले दिनभरीमा सम्भव भएसम्म २,३ घन्टाको फरकमा थोरै थोरै खाने कुरा खाईराख्नुपर्छ । यसरी खाने खानामा खाद्य पिरामिडलाई फलो गर्दै कार्वोहाइड्रेट, प्रोटिन, भिटामिन, चिल्लो र खनिज सबै मिलाएको हुनुपर्छ । यसो गर्नाले बेलुका धेरै खाना आवश्यक पर्दैन । धेरै भोक पनि लाग्दैन ।

अर्को ख्याल गर्नुपर्ने कुरा के छ भने सकेसम्म कार्बोहाईड्रेट भएको खाना भन्दापनि फलफुल र तरकारीको प्रयोगमा जोड दिनुपर्छ । पानी प्रशस्त मात्रामा पिउँनुपर्छ । मानिसहरुमा अर्को भ्रम के रहेको हुन्छ भने नुन चर्को खाने गरेको छैन कसरी नुनको मात्रा बढी हुन्छ ?

यस्तो सोच्दै गर्दा के थाहा हुदैन भने मैले धेरै ‘जंक फुड’ खान्छु त्यसमा अत्यन्तै धेरै नुन प्रयोग गरिएको हुन्छ, जुन शरिरको औसत आवश्यकता भन्दा ४ गुणासम्म बढी हुनसक्छ । बाहिर खाने प्राय सबै खानामा बढी नुनको प्रयोग गरिएको हुन्छ । त्यसैले अस्पताल धाउँने ईच्छा छैन भने सकेसम्म बाहिरको खानु हुदैन । माछा मासु हाम्रो शरिरलाई थोरै मात्रामा भएपुग्छ । तर चिकेन, बफ र मटन भन्दै हरेक खानेकुरामा ‘ननभेज’ जोडेका हुन्छौ । मासु भनेर तरकारीको रुपमा प्रयोग भएकोलाई मात्रै माछा–मासुमा गन्छौ । यसले कतीबेला हामीमा तौल बढ्ने, रोग लाग्ने समस्या देखापर्छ पत्तै हुदैन ।

मासुमा बढी मात्रामा पाईने भिटामिन बी–१२ अरु खानेकुरामा खासै पाईदैन । त्यसैले शाकाहारी खाना खानेले आफ्नो खानाबाट भिटामिन बी–१२ को मात्रा पुरा गर्न दूधजन्य पदार्थलाई अनिवार्य खानामा सामेल गराउँनुपर्छ । प्रोटिन र उम्रिएको गेडागुडी पनि प्रशस्त मात्रामा खानुपर्छ ।

एउटा परिवारको खाना पकाउँने मान्छे अल्छि छ भने त्यस परिवारको सबै सदस्यले त्यसको परिणाम भोग्नुपर्छ । त्यसैले खाना पकाउँने मान्छे अल्छि हुनु हुदैन । अनि रोग नै लाग्न नदिन स्वस्थ खाना पटक पटक खानुपर्छ ।

प्राकृतिक रुपमा अन्न तथा फलफुलमा हुने रेसा नष्ट नगरिएको खाना खानुपर्छ । प्रशोधित खाना स्वास्थ्यको लागी हानिकारक हुन्छ । यस्ता खाना धेरै खानाले सानै उमेरमा मधुमेह, रक्तचाप र मुटुको समस्या देखापर्न सक्छ । औसतमा दैनिक ३० मिनेट व्यायाम गर्नै पर्छ । बजारमा खुलेका जीम तथा फिटनेस सम्बन्धि क्लवले ३ देखि ५ घन्टासम्म कसरत गर्न लगाएको पनि पाईएको छ । स्वास्थ्यको दृष्टिकोणले यो हानिकारक हुनसक्छ । ५ घन्टा कसरत गर्न लगाई ५० देखि ६० केजीको मान्छेलाई तीन सय ग्राम सम्म प्रोटिन खान लगाउँने जीम र फिटनेसहरु पनि भेटिन्छ । त्यसहा कोही पोषणविद् राखिएको हुँदैन । पोषण सम्बन्धि ज्ञान नभएका यस्तो फिटनेसकोपछि लाग्दा कुपोषणको सिकार त हुन्छ नै झन् अर्को रोग लाग्न सक्ने संभावना धेरै हुन्छ ।

अस्पतालको प्रत्येक ५० बेड बराबर एक पोषणविद् राख्ने निती भएपनि नेपालका अधिकांश ठूला र सरकारी अस्पतालले समेत यसलाई फलो गरेको पाईदैन । लोकसेवाले स्वास्थ्य सम्बन्धि पदपूर्तिको कती परिक्षा लिन्छ तर पोषणविद्को विज्ञापन नै खुलाउँदैन । यसो गर्नाले देशमा पोषणसम्बन्धि अनावश्यक भ्रम फैलिन्छ । पोषण सम्बन्धि गलत ज्ञान बाडिन्छ । फलस्वरुप जनता कुपोषित बन्न पुग्छन् । नसर्ने रोग लाग्नेको संख्यामा बृध्दि हुन्छ । यो चासोको विषय हो ।

एउटा परिवारको खाना पकाउँने मान्छे अल्छि छ भने त्यस परिवारको सबै सदस्यले त्यसको परिणाम भोग्नुपर्छ । सो परिवारका सबै सदस्य कुपोषणको सिकार र रोगको संक्रमणमा पर्ने जोखिम धेरै हुन्छ । त्यसैले खाना पकाउँने मान्छे अल्छि हुनु हुदैन । अनि रोग नै लाग्न नदिन स्वस्थ खाना पटक पटक खानुपर्छ ।

  • पन्त, अल्का अस्पताल जावलाखेलकी पोषणविद् हुन् ।
प्रतिक्रिया