पत्रकारबाटै असुरक्षित पत्रकारिता
- संकेत कोइराला
अग्रज पत्रकार मदनमणी दीक्षितले २०१६ सालमा पत्रिका निकाल्ने निधो गरे । नाम जुराइयो, समीक्षा । पत्रिका त निकाल्ने तर हातमा कौडी थिएन । नेपाली कांग्रेसको सरकार थियो । बीपी कोइराला प्रधानमन्त्री थिए । दीक्षित नेपाल कम्युनिष्ट पार्टीका सक्रिय सदस्य थिए ।
नाम जुरिसकेको पत्रिका निकाल्नुपर्ने एउटा बाध्यता थियो भने हातमा पैसा भएन भने भावनाले काम नगर्ने पक्का थियो । फेरि सैद्धान्तिक विमतिका कारण कांग्रेस नेतृत्वको सरकारसँग सहयोगको याचना गर्न पनि नैतिक बन्धन थियो । अन्ततः उनले सैद्धान्तिक असहमति भएपनि प्रधानमन्त्री बीपी कोइरालालाई समर्थन गर्ने सम्झौतावादी मानसिकता बनाएर सहयोगको याचना गरे । पत्रकार दीक्षितकै कलमले उल्लेख गरेअनुसार पत्रिका निकाल्न सहयोग गरेबापत पत्रिकाले स्वीकारेका सर्त यस्ता थिए ।
१. पार्टी नेताको रुपमा होइन कि मुलुकको प्रधानमन्त्रीको रुपमा उहाँको नेतृत्वलाई समर्थन गर्नुपर्छ ।
२. संसदीय प्रधानमन्त्रीको स्तम्भजस्तै नेताको रुपमा उहाँलाई हामी समर्थन गर्छौं ।
३. स्वतन्त्र नाम लिएर जहानियाँ शासनको अवशिष्ट रुढिवादी शक्तिका विरुद्ध कोइरालाका विचार र व्यवहारलाई हामी समर्थन गर्छौं ।
मदनमणि दीक्षितले यिनै आधारभूमी तयार गरेर वीपी कोइरालालाई भेटे । महिनाको ६ सय रुपैयाँ दिने सहमति भयो । बीपीले गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई भनेर काठमाडौंमा समीक्षा पत्रिका दर्ता गराइदिए । पत्रिका छाप्न सहयोगको याचना गर्न बीपीको ढोका चहारेका दीक्षित एक ठाउँमा लेख्छन्, ‘पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीप्रति ममा कहिल्यै आन्तरिक श्रद्धा उत्पन्न भएन । झुट्टा कुरा गरेर प्रशंसा गर्दै म आफ्नो कलमप्रति बेइमान गर्न सक्दिनँ ।’
नेपालको समकालीन पत्रकारिताको कुरा गर्दा त्यो समयमा कस्तो बीउ रोपिएको थियो भन्ने तथ्यले वर्तमानलाई निर्देशित गर्छ । मदनमणि दीक्षित संस्कार, ज्ञान र पत्रकारिता जगतका भीष्म पितामह हुनुहुन्थ्यो । तर उहाँको सम्झौतावादी स्वभावका कारण जसरी भीष्मको आड हुँदाहुँदै पनि कौरवको नाश भयो, त्यसरी नै यस्ता महारथीहरू जीवित हुँदाहुँदै वस्तुनिष्ठ, कर्तव्यनिष्ठ र ज्ञान चक्षुको पत्रकारिताले हावा खाँदै गयो ।
उहाँले न कम्युनिष्ट पार्टीको सदस्य हुँ भन्ने गौरव बचाउनुभयो, न साहसी पत्रकारिताको खम्बा गाडिन सक्यो न प्राज्ञिक मर्यादा नै कायम भयो । अघिल्लो पुस्ताका पत्रकारहरूको विगत त्यसै पनि ‘ताक परे तिवारी नत्र गोतामे’ प्रवृत्तिमा अल्झियो । त्यसै पनि त्यो बेला व्यवसायिकता थिएन । पत्रकार महासंघको पहिलो सभापति बनेका कृष्णप्रसाद भट्टराई पार्टी राजनीतिमा लागेर पनि दोस्रो हुनुभएन । लोभानी पापानीबाट निरपेक्ष उहाँ गौरवपूर्ण इतिहास बनाएर पार्थिव हुनुभयो ।
मणिराज उपाध्याय सभापति त हुनुभयो तर पत्रकारिताको कर्मले पत्रकारिता पन्छिएन, बरु उहाँको पञ्चायती राजनीतिको ढोका खुल्यो । पछिल्लो चरणमा किशोर नेपालसम्म आउँदा पत्रकार सारथीहरुको चरित्र रेखा थापाजस्तो दल बदलूँभन्दा माथि जान सकेको छैन । रमेशनाथ पाण्डे एक समयका चर्चित पत्रकार थिए । सानै उमेरमा इन्दिरा गान्धीको अन्तर्वार्ता समेत लिन भ्याए । आफूलाई अति चलाख सम्झिने बानीलाई विश्वास नगर्ने हो भने वस्तुतः उनी दरबारीया थिए । पत्रकारिताको खोलमा उनले अधिकांश जीवन राजा महेन्द्रको आफ्नो भएर बीपीको गुप्तचरीमा बिताए ।
महेन्द्र नामको राजनीतिक सिक्का चलुन्जेल त्यही चलाए, जब त्यो सिक्का खोटो भएर बीपी सिक्का चल्न थाल्यो अनि ‘रमेश बाबु’ भनेर बीपीले लेखेका चिट्ठी निकालेर यताको व्यापार उल्कासँग बढाए । रुखमा नयाँ पालुवा आएपछि स्वभावतः पुराना पात झर्नुपर्छ । यो प्रकृतिको नियम हो । तर गम लगाएर भएपनि टाँसिन खोज्ने प्रवृत्तिका कारण अघिल्लो पुस्ताकै बाछिटाले अहिले पनि साम्राज्य जमाएको छ । जब हामी पत्रकारितामा निष्पक्ष कलमबाजको कुरा गर्छौं, त्यसको चुरो कुरो दलीय पत्रकारिता रहर हो या कहर त्यसको मर्ममा पुग्ने साहस कसैले गर्दैनन् ।
संसारको इतिहासले भन्छ, ‘एउटा पुस्ताले खुकुरीको चुनौतीपूर्ण धारको यात्रा सकुशल सम्पन्न नगरेसम्म अर्को पुस्ताले सुखद बिहानी देख्न पाउँदैन । च्वास्स दारी पालेर एउटा झोला र कलम बोकेपछि पत्रकारको योग्यता पूरा भएको सम्झनेहरूदेखि आई टेनको पुस्तासम्म आइपुग्दा नेपाली पत्रकारिताले अपेक्षित काँचुली फेर्न सकेको छैन । आधुनिक प्रेस, कम्प्युटर भित्रिएर पत्रकारिताको विकास हुने होइन । यसका लागि उच्चतम सोच र त्यसलाई व्यवहारमा परिवर्तन गर्ने क्षमताको विकासले मात्र न्याय गर्न सक्छ ।
पत्रकारहरू दलमा किन लाग्छन् ? के सामाजिक सुरक्षाको अन्तरवस्तुले नै तिनीहरुलाई त्यतातर्फ डोर्यारउने हो त ? वास्तवमा केही समययता जसरी नेपाली राजनीति दलबाट गुटमा विभाजित भएको छ, त्यसरी नै पत्रकारिताको धार पनि मोडिएको छ । अब दललाई होइन, व्यक्तिलाई धारेहात लगाएर निस्कने डिजिटल पत्रिकाको संख्या बजारमा अनगिन्ती हुने गरेको छ ।
आफू राम्रो बन्ने होइन, अरुलाई खाल्डोमा हालेर धरहरा चढेको सपना देख्नेहरुको समाजमा बिगबिगी छ ।
एकातिर अपराध गरेको सम्पतिलाई चोख्याएर समाजमा दुई चारदिन पत्रकारिताको रंग दलेरै भएपनि ठूला मिडिया हाउस खोल्ने टाइसुटे दलाल र अर्कातिर संघर्षसँगै व्यावसायिकताका भाषण छाँटेर चियामा चिनी घुलेजस्तै स्वार्थको चास्नीमा पौडिने वरिष्ठहरुको चपेटाबाट पत्रकारिता जोगाउनु अहिलेको चुनौती हो । यही मौसमी सोचका कारण पत्रकार हुनुको स्वधर्म, आचार संहिताका विषय एकादेशका कथा बनेका छन् ।
दिउँसै रात पार्ने समाचार मानव सभ्यताकै लागि आतंक बनेका छन् । कोरोना भाइरसबाट जोगिएको मानिस समाचारको भेषमा आउने भाइरसबाट पटकपटक मर्ने अवस्था छ ।
एकपटक कुनै टेलिभिजनले प्रसारण गर्ने राजनीतिक कार्यक्रमको प्रत्यक्ष प्रसारण स्मरण गर्नुस् त । फिल्डमा हुने रिर्पोर्टरले त्यही भेलालाई सयको संख्यामा देख्छ भने स्टुडियोमा हुनेले हजारको गन्ती लगाउँछ । यहाँ समस्या गन्तीको होइन, समस्या दृष्टिकोणको हो । स्टुडियोमा हुने रिपोर्टर एउटा पार्टीको हुन्छ भने फिल्डमा हुने रिर्पोर्टर अर्को पार्टीको । यसरी समाचार दिँदा पनि तिनीहरू समाचारीय धर्मभन्दा पनि दलीय कर्तव्यबाट प्रेरित रहेको बुझ्न कठिन हुन्न ।
संविधानसभाको दोस्रो चुनावमा एक टेलिभिजनलाई यतिसम्म फसाद पर्यो कि माओवादी पहिलो दल बन्छ भन्ने ढुक्क भएर उसले महिनौंअघि रिजल्टको तारतम्य मिलाएको रहेछ । जब गन्तीका क्रममा धेरै समयसम्म माओवादी शून्यमा थियो । शून्यमा रहेको उसैलाई एबीसीले पहिलो बनाइरह्यो । उद्धव पौडेल राप्रपा नेपालका प्रत्याशी थिए । सिनेमा देखाउने र गीत बजाउने अनुमति पाएको उनको टेलिभिजनले त्यसबेला आफ्नो कर्तव्य नै बिर्सिएर लाग्यो मालिकको प्रचारमा ।
उनको शर्मनाक हारपछि आखिर त्यो प्रचार सिनेमाको तीनघण्टे दृश्यजस्तै बिलायो । नेपाली पत्रकारिताको यो विरुप दृश्य कहिलेसम्म ? अब त झन् व्यक्तिपिच्छे जन्मिएका डटकमले त पत्रकारिताकै चीरहरण गरेका छन् । दिउँसै रात पार्ने समाचार मानव सभ्यताकै लागि आतंक बनेका छन् । कोरोना भाइरसबाट जोगिएको मानिस समाचारको भेषमा आउने भाइरसबाट पटकपटक मर्ने अवस्था छ ।